मुख्य समाचार
डेढ महिनाको रस्साकसीपछि तोकियो कांग्रेस महाधिवेशन तालिका
डेढ महिनाको रस्साकसीपछि तोकियो कांग्रेस महाधिवेशन तालिका

— डेढ महिनाको रस्साकसीपछि कांग्रेस महाधिवेशनको तालिका सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।



महाधिवेशन तालिका सार्वजनिक भएसँगै पार्टीभित्रका सम्भावित समीकरणको अड्कलबाजी र आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाका पोस्टरहरू सामाजिक सञ्जालमा छाउन थालेका हुन् । यी तीन नेताबाहेक संस्थापन पक्षभित्रैबाट पूर्वसात पदाधिकारीहरूको विचार समूह पनि प्रतिस्पर्धामा उत्रिने भएको छ । यो समूहका नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशरण महतमध्येबाट एक जनालाई अघि सार्ने सम्भावना रहेको उक्त समूहका नेताहरूले बताएका छन् ।

सिटौलाले प्रदेश कार्यसमितिको अधिवेशन सकिएपछि मात्रै आफ्नो समूहबाट एक उम्मेदवारलाई अघि बढाउने बताए । ‘हामी प्रतिस्पर्धामा उत्रने पक्का छ । विगतको भन्दा अझ कडा प्रतिस्पर्धा गर्छौं’ उनले भने । आसन्न १५ औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा दुई कार्यकाल पूरा गरी बिदाइ हुँदैछन् । विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नदिने व्यवस्था गरेको छ ।

देउवाले आफ्नो उत्तराधिकारीका रूपमा अहिलेसम्म कसैलाई अघि सारेका छैनन् । उनले कार्यवाहक सभापति खड्कालाई समर्थन गर्छन् वा अरू कुनै नेतालाई अघि सार्छन् भन्नेबारेमा चासोपूर्वक हेरिएको छ । देउवाले आफ्नो राजनीतिक सुरक्षा र हितलाई केन्द्रमा राखेर निर्णय लिन सक्ने उनीनिकट नेताहरूको आकलन छ । ‘तर यसअघिका परम्परागत गुटहरू अब रहन्नन् । सबै भत्किएर नयाँ समीकरण र ध्रुवीकरण हुने देखिन्छ’ संस्थापन पक्षका एक पदाधिकारीले भने, ‘महाधिवेशनको सुनिश्चितता नभएसम्म अझै समीकरणको अड्कलबाजी गर्न हतारो हुन्छ ।’

निर्वाचनअगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादमा डेढ महिनादेखि अल्झेको कांग्रेसले सोमबार केन्द्रलगायत सातै तहका अधिवेशनको तालिका सर्वसम्मतिले पारित गरेपछि डेढ महिनादेखिको गतिरोध फुकेको छ । छोटो समयभित्र अधिवेशन हुने संशय एकातिर छ भने अर्कोतर्फ विशेष महाधिवेशनको माग फिर्ता भएको छैन । महामन्त्रीहरूले नियमित बाधा पर्नसाथ विशेष महाधिवेशनको प्रक्रिया सक्रिय हुने बताएका छन् ।

२६–२८ पुसभित्र केन्द्रीय महाधिवेशन नभएमा विशेष महाधिवेशन स्वतः सक्रिय हुन्छ : गगन थापा, महामन्त्रीमहामन्त्री गगन थापाले तोकिएकै मितिअनुसार महाधिवेशन सुनिश्चित नभए विशेष महाधिवेशन स्वतः सक्रिय हुने बताए । त्यसका लागि २६ पुस कुरिरहन नपर्ने उनको भनाइ छ । १४ पुसभित्र क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर १६ गते अधिवेशन सुरु हुने तालिका छ । ‘आज निर्णय भएको तालिकाभित्र महाधिवेशन गर्न हाम्रो पूर्ण साथ हुन्छ । तर, कार्यतालिकाले विशेष महाधिवेशनको मागलाई निस्तेज बनाउन सक्दैन, अधिवेशन सम्पन्न गरेर मात्रै हुने हो’ थापाले भने, ‘कुनै नियत र कारण देखाएर अधिवेशन तलमाथि पार्न खोजियो भने विशेष महाधिवेशन भइछाड्छ भनेर पार्टी सभापतिलाई पनि प्रस्ट भनेका छौं ।’

थापाले बैठकपछि यही विचारलाई पार्टी केन्द्रीय कार्यसमितिको अभिलेखमा समेत ‘दर्ज’ गराएका छन् । उनले बैठकमै यससम्बन्धी विचार राख्न कार्यवाहक सभापति खड्कासँग अनुमति मागेका थिए । तर, खड्काले बैठकमा नराखेर लिखित नै दिन आग्रह गरेपछि थापाले विशेष महाधिवेशन सक्रिय हुने अवस्थाका बारे आफ्नो विचार ‘दर्ज’ गराएका हुन् ।


निर्वाचनअगाडि महाधिवेशनको पक्षमा नभएका पूर्वपदाधिकारीलाई देउवा आफैंले सक्रिय भएर मनाएपछि कांग्रेसभित्रको लामो समयदेखिको गतिरोध अन्त्य भएको हो । महामन्त्रीहरू र हस्ताक्षरकर्ता प्रतिनिधिहरूबाट विशेष महाधिवेशनको दबाब परेपछि देउवा निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्ने बिन्दुमा आइपुगेका हुन् । विशेष महाधिवेशनलाई टार्न निर्वाचनअगाडि नै नियमित गराउन तालिका ल्याउने प्रस्ताव आफैंले गरेपछि पूर्वपदाधिकारीहरू देउवासँग असन्तुष्ट बनेका थिए । तर, देउवाले सोमबार बिहान निधि र सिटौलासँग वार्ता गरेपछि उनीहरू पनि निर्वाचनअगाडिको कार्यतालिकामा आइपुगेका हुन् ।

निधिले पार्टी सभापति देउवामाथि भरोसा राखेर निर्वाचन अगाडिको कार्यतालिकामा सहमति जनाएको बताए । ‘म छोड्दै छु, मैले छाडेर जाँदा पार्टीभित्र कुनै विमति नहोस् भनेर आग्रह गर्नुभयो । हामीले उहाँको अग्रसरता, चासो र भरोसामाथि विश्वास गरेर समर्थन गरेका हौं,’ निधिले भने,‘पार्टीभित्रको प्रतिस्पर्धामा भने हामीहरू एक ठाउँमा छौं । यो समूहबाट प्रतिस्पर्धा हुनेमा शंका छैन ।’

सिटौलाले देउवाको भूमिकामाथि कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘केन्द्रीय पदाधिकारीहरूले सर्वसम्मतिका साथ प्रस्ताव ल्याएको भनेर कार्यवाहक सभापतिले प्रस्तुत गर्नुभयो । सहमतिको प्रस्ताव भनेपछि हामीले पनि समर्थन गर्‍यौं’ सिटौलाले भने । तर, केन्द्रीय कार्यसमितिले निर्णय गरेको कार्यतालिकामा अधिवेशन हुनेमा भने चुनौती रहेको सिटौलाको भनाइ छ । ‘सदस्यताको वितरण, नवीकरण, वडा तहदेखि केन्द्रीय अधिवेशनसम्मको जुन तालिका आज पारित भएको छ, यो हेर्दा त्यसको कार्यान्वयन सचिवालयले कसरी गर्छ भन्ने हेर्नुपर्ने भएको छ,’ उनले भने, ‘अहिल्यै शंका नगरौं । तर, कार्यान्वयन कसरी हुन्छ, त्यसलाई हेरेर मात्रै हामीहरूको धारणा आउँछ ।’

महामन्त्री थापाले १७ असोजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै २७–२९ मंसिरको कार्यतालिका प्रस्तुत गरेका थिए । संस्थापन पक्ष त्यसमा तयार नभएपछि उनले औपचारिक रूपमा केन्द्रीय कार्यसमितिको बैठकमा लैजान पाएनन् । दोस्रो पटक उनले ३१ असोजमा त्यही कार्यतालिका कार्यसम्पादन समितिमा नै ल्याएका थिए । तर, संस्थापन पक्षकै बहुमतबाट अस्वीकार भएपछि औपचारिक रूपमा बैठकमा कार्यतालिका नै प्रस्तुत हुन सकेको थिएन ।

यसबीचमा राष्ट्रिय सबै मुद्दाहरू छाडेर कांग्रेस निर्वाचन अगाडि कि पछाडि महाधिवेशन भन्ने विवादको भुमरीमा फँसेको थियो । विशेष महाधिवेशनबाट आफू हट्दा नकारात्मक सन्देश जाने ठानेर देउवा आफैं यो विवादको ‘गाँठो’ फुकाउन सक्रिय भएपछि कार्यतालिका आउन सम्भव भएको हो । ‘महामन्त्रीहरू विशेष महाधिवेशनको एजेन्डाबाट टसमस भएनन् । अर्कोतर्फ संस्थापन पक्षभित्रै २९ जना प्रभावशाली केन्द्रीय सदस्यहरू निर्वाचनअगाडि नै महाधिवेशन गर्ने पक्षमा उभिए । त्यसले आफ्नै समूहमा देउवा थप दबाबमा परे,’ संस्थापन पक्षका अर्का एक नेताले भने, ‘आफ्नो बहिर्गमन सम्मानजनक होस् भनेरै देउवा विशेष महाधिवेशन टार्न निर्वाचनअगाडिकै महाधिवेशन गर्न पक्षमा आइपुग्नुभएको हो ।’

तर, विशेष महाधिवेशन पक्षधर नेताहरूले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याउने, अर्कोतर्फ माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद बढाउने निर्णयले संशय पैदा गरेको प्रतिक्रिया दिएका छन् । केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल मंसिर मसान्तदेखि समाप्त हुँदै छ । बैठकले महाधिवेशनको कार्यतालिकासँगै माघ मसान्तसम्म कार्यकाल बढाउने निर्णय गरेको छ ।

‘२६–२८ पुसमा महाधिवेशन गर्ने हो भने माघ मसान्तसम्म कार्यकाल किन थप गरियो ? वर्तमान नेतृत्व र केन्द्रीय कार्यसमितिले नै प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची तयार पार्ने, राष्ट्रिय सभाको उम्मेदवार चयन गर्ने गरी यो कार्यकाल बढाइएको छ’ विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले भने, ‘यसले तोकिएको मितिमा महाधिवेशन हुने सुनिश्चितता दिएको छैन । विशेष महाधिवेशनको सान्दर्भिकता झनै बढेको छ ।’

विशेष महाधिवेशन पक्षधर समूहले विज्ञप्तिमार्फत महाधिवेशनको कार्यतालिका प्रथमदृष्टिमा नै अव्यावहारिक र अवैज्ञानिक रहेको बताएका छन् । ‘हामीसँग समयको फराकिलो सुविधा छैन । न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामी स्पष्ट पार्न चाहन्छौं कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका शृंखलाहरू अवरुद्ध गरिएमा वा भएमा २९ असोजमा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधानबमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ ।’

०००

कांग्रेसमा कुन तहको अधिवेशन कहिले ?

१६ पुस गाउँ, नगर वडा अधिवेशन

१७ पुस गाउँ, नगरपालिका अधिवेशन

१९ पुस प्रदेशसभा क्षेत्रीय अधिवेशन

२१ पुस एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन

२२ पुस एकभन्दा बढी क्षेत्र भएका जिल्ला अधिवेशन

२३–२४ पुस प्रदेश अधिवेशन

२६–२८ पुस केन्द्रीय महाधिवेशन

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...