मुख्य समाचार
एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन लगभग सकिएको छ
एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन लगभग सकिएको छ

। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन लगभग सकिएको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार कोशी प्रदेशका केही जिल्ला बाहेक प्रतिनिधि चयन टुंगिएको छ ।

‘प्रतिनिधि चयन लगभग सकियो । २३ सयको हाराहारीमा प्रतिनिधि आउने अनुमान गरिएको छ,’ उनले भने । प्रतिनिधिबारे अपानिमा पठाइएको मापदण्ड संशोधन गरिएकाले जम्मा प्रतिनिधि संख्या एकिन हुन सकेको छैन । तर नेतृत्व अद्यावधिक गर्ने महाधिवेशन भएकाले प्रतिनिधि चयनको महत्वपूर्ण काम सकिएको छ ।




अब पार्टी सदस्यहरूबाट निर्वाचित भएर आएका प्रतिनिधिहरूबाट केन्द्रीय नेतृत्व चयनतर्फ एमाले पंक्ति केन्द्रित हुनेछन् । यद्यपि प्रतिनिधि चयन हुनु पहिले नै एमालेमा नेतृत्वको बहस शुरू भइसकेको हो ।

तेस्रोपटक अध्यक्ष बन्न केपी शर्मा ओलीले पार्टी विधानलाई आफू अनुकुल संशोधन गरिसकेका थिए भने अर्को पंक्तिले सार्वजनिक रूपमै त्यसप्रति असहमति जनाएका थिए । पार्टी विधान संशोधन गर्ने दोस्रो विधान महाधिवेशनका बेला नेताहरुले दुई कार्यकाल बढी नेतृत्वमा रहन नपाउने व्यवस्था हटाउन नहुने अडान लिएका थिए ।




दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हद कायम राख्नुको प्रष्ट अर्थ हुन्छ– ओलीलाई नेतृत्वबाट विदा गर्ने । किनकि ७४ वर्षका ओलीले दुई कार्यकाल एमालेको नेतृत्व गरिसकेका छन् ।

तर अझै २०/२५ वर्ष अध्यक्ष पद नछोड्ने सार्वजनिक घोषणा गर्दै आएका ओलीले आफूलाई रोक्ने पार्टी विधानको व्यवस्था नै संशोधन गरिदिएका छन् । र, एघारौ महाधिवेशबाट अनुमोदन हुने योजनामा छन्् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गत साउनमै केन्द्रीय समितिबाट पारित गराएरै ओलीले नेतृत्व नछोड्ने सन्देश दिएका थिए । २०३७ सालमा लिएको पार्टी सदस्यता नवीकरण नगर्ने ओलीको निर्णयलाई भण्डारीले ओलीको डरका रुपमा अर्थ्याउने गरेका छन् ।

तर पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयले सक्रिय राजनीतिमा आउने चाहना अवरुद्ध भए पनि भण्डारीले मैदान बाहिरबाटै ओलीलाई बलियो चुनौती दिँदैछन् । भण्डारी सहितका नेताहरुको समर्थनमै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदको प्रत्यासीका रुपमा अगाडि बढेका छन् । महाधिवेशन प्रतिनिधि चयनका क्रममा एमालेमा विकसित यो संघर्ष लुकेन । ओली भर्सेस पोखरेल भएरै प्रतिनिधि चयन भएका छन् ।

चितवन शैलीकै तयारी

नेताहरुका अनुसार ओलीलाई तेस्रोपटक अध्यक्ष हुन नदिने गरी ईश्वर पोखरेल पक्षधरको तयारी तीव्र बनेको छ । ‘प्रतिनिधि चयनका क्रममा देखिएको अभ्यासलाई हेर्दा यसपटक केपी ओलीलाई सजिलो छैन,’ पोखरेल पक्षमा उभिएका एक पदाधिकारी भन्छन्, ‘हरेक पार्टी संरचनाबाट नेतृत्व पुनगर्ठनको पक्षमा आवाज उठेको छ, प्रतिनिधि चयन भएर आएका छन् ।’


ईश्वर पोखरेल
पूर्वराष्ट्रपति भण्डारी सहित उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईहरुको पहलकदमीमा पोखरेललाई अध्यक्ष जिताउने टीम निर्माण भइरहेको छ । तर अन्तिम समयमा मात्र पदाधिकारीहरुको सूची तयार पार्ने पक्षमा नेताहरु छन् ।

‘टीम निर्माण गर्न हतार गर्ने पक्षमा छैनौ । अर्को पक्षले कसरी टीम बनाउँछ, त्यो हेरेर हामीले उम्मेदवारहरु तय गर्छौं,’ उनी भन्छन् । सकेसम्म ओलीलाई साथ दिँदै आएका नेताहरु तानेर प्यानलमा राख्ने यो पक्षको तयारी छ ।

विशेषगरी तेस्रो धारको अभ्यास थालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङलाई आफ्नो पक्षमा पारेर महासचिव सहितका रोजाइका पद दिने यो पक्षको नीति छ । पौडेल र गुरुङ मात्र नभएर उपाध्यक्ष रामबहादुर थापा, सचिवहरु रघुबीर महासेठ, लेखराज भट्ट र छबिलाल विश्वकर्मालाई तान्ने प्रयत्न भइरहेको नेताहरु बताउँछन् ।

पोखरेल पक्षधरकै जस्तै नीतिमा ओली पनि देखिन्छन् । स्रोतका अनुसार विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङसँग ओली बाक्लो सम्वादमा छन् । उनीहरूलाई लगातार गुन्डु बोलाइरहेका छन् ।

यद्यपि संशोधित विधान बमोजिम ओलीलाई टीम तयार पार्न सजिलो छैन । संशोधित विधानमा हालका १९ पदाधिकारीबाट घटाएर १५ जनामा झार्नेे र पदाधिकारी नै स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । जसले अहिलेका ४२ सदस्यीय स्थायी समितिका नेताहरुलाई पदाधिकारीमा प्रतिस्पर्धा गर्ने अथव पोलिटव्यूरोमा घटुवा बाध्यता आइलागेको छ ।

अझ स्थायी समितिमा ओलीलाई साथ दिने नेताहरु धेरै जना भएकाले उनीहरुको आकांक्षा व्यवस्थापन सजिलो छैन । प्रष्ट दुई खेमामा विभाजित भएर प्रतिनिधि आएकाले पनि ओलीलाई माथिका नेताहरुलाई मिलाउनुपर्ने दबाव छ ।

तर आफूमाथि बढेको दबाबको समाधानमा भने ओलीले लोकतान्त्रिक प्रक्रियामै हस्तक्षेप गर्ने विकल्प अपनाउन लागेको नेताहरु बताउँछन् । गुन्डु निकट स्रोतका अनुसार ओलीले जसरी पनि अध्यक्ष रहिरहन ‘चितवन शैली’ अपाउने तयारी गरेका छन् ।

२०७८ मा चितवनको सौराहामा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा ओलीले आफू अध्यक्ष रहने गरी केन्द्रीय कमिटीको सूची हलमा पढेर सुनाएका थिए । त्यो सूचीमा नपरेका भीम रावलले अध्यक्ष पदमा उम्म्दवारी दिएका थिए भने घनश्याम भूसालले उपाध्यक्ष, भीम आचार्य र टंक कार्कीले सचिव पदमा उम्मेद्वारी दिएका थिए ।

उषाकिरण तिम्सेना, अरविन्द सिंह सहितका केही केन्द्रीय सदस्य बाहेक निर्वाचित/निर्विरोध हुने नेताहरु ओलीको सूचीमा परेकाहरु नै थिए । यो महाधिवेशन एमालेमा भएको कमजोर लोकतन्त्रको एउटा उदाहरण थियो ।

यद्यपि त्यसबेला भर्खरै पार्टी विभाजन भएको स्थिति हँुदा एमाले पंक्तिले ओलीको त्यस्तो शैलीलाई पनि अनुमोदन गरेका थिए । तर ओलीले एघारौं महाधिवेशनमा पनि आफू अध्यक्ष रहनेगरी पदाधिकारी र केन्द्रीय सदस्यहरूको सुची तयार पार्दैछन् ।

सम्भवत: चितवनकै अनुभवका आधारमा पनि ओलीले यस्तो तयारी गरेको हुनुपर्छ । चितवन महाधिवेशनमा अहिले जस्तो स्थिति थिएन । ओलीको लगभग एक्लौटी चल्थ्यो ।
‘गुन्डुमा जाने नेताहरुलाई केपी ओलीले सूची तयार हुने, र त्यो सूचीमा नपरे अर्को टीमबाट उम्मेद्वारी नदिन निर्देशन दिने गरिरहनुभएको छ,’ ओली निकटकै एक नेता भन्छन् । उनका अनुसार गुन्डु पुग्नेहरुलाई ओलीको प्रश्न हुन्छ– मेरो नेतृत्व मान्ने कि नमान्ने ?

यदि मान्छु भन्ने जवाफ आयो भने ओलीले महाधिवेशनमा तयार हुने सूचीमा नपरे असन्तुष्टि जनाउने र अर्को टीममा जाने नगर्न निर्देशन दिने गरेका छन् । ‘पदाधिकारी तहमै पनि कसैलाई कुनै पदको बचन दिनुभए जस्तो लाग्दैन, सबैलाई मैले दिएको ठाउँमा बस्ने भन्ने गर्नुभएको छ,’ उनी भन्छन् ।

पदाधिकारीदेखि केन्द्रीय सदस्य हुने आकांक्षा राख्नेहरुलाई समेत ओलीले आफूले सूची तयार पार्ने बताइरहेका छन् । ‘प्रतिनिधिहरु जसरी आउनुभयो, त्यसले पार्टीको एकतामै समस्या पार्ने देखियो,’ ओली निकट एक स्थायी समिति सदस्य भन्छन्, ‘पार्टीलाई एकताबद्ध राख्न पनि एउटा सूची तयार हुन्छ । किनकि सबै प्रतिनिधिले नेताहरु चिनेका हुँदैनन् ।’

ओलीले पनि प्रतिनिधिहरुले नेताहरुलाई चिन्न नसक्ने भएकाले सूची तयार पार्नुपर्ने आवश्यकता रहेको तर्क गर्ने गरेका छन् । ‘क्रान्तिकारी भएर बोल्नेहरु पनि पार्टीमा छन्, प्रतिनिधिले के बुझेका हुन्छन् ?,’ ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘जसले चर्को कुरा गर्छन्, उसैले भोट पाउन सक्छ । त्यसैले लिस्ट बनाउनुपर्छ ।’

सम्भवत: चितवनकै अनुभवका आधारमा पनि ओलीले यस्तो तयारी गरेको हुनुपर्छ । चितवन महाधिवेशनमा अहिले जस्तो स्थिति थिएन । ओलीको लगभग एक्लौटी चल्थ्यो । तर पनि भीम रावलले २२३ मत पाए भने घनश्याम भूसालले ७२५ मत पाएका थिए । २०९६ मत खसेको मतदानमा भूसालले उपाध्यक्ष पदमा पाएको मत र ओलीकै विरुद्ध रावललाई दिएको मत चानचुने थिएन ।

यसर्थ पनि ओली यसपटक सूची बनाउने गृहकार्यलाई विशेष ध्यान दिने अवस्था देखिन्छन् । ‘चितवन महाधिवेशनमा प्रतिनिधि बन्ने रुचि समेत कार्यकर्ताले देखाएका थिएनन्, लगभग सबैतिर सर्वसम्मतिबाट प्रतिनिधि चुनिएका थिए,’ पोखरेल निकट एक पदाधिकारी भन्छन्, ‘यसपटक प्रतिनिधि चयनलाई प्राथमिकता दिइएको छ । निर्विरोध हुँदा भागबण्डा भएको छ, चुनावमा प्यानलगत प्रतिस्पर्धा भएको छ ।’

यस्तो तथ्य बुझेरै ओलीले धेरै भन्दा धेरै नेताहरुलाई गुन्डु बोलाउने र सूचीमा नपरे अर्को टीममा नजान आग्रह गरिरहेको देखिन्छ । सार्वजनिक अभिव्यक्ति सुन्दा ओलीको पूर्वतयारीबारे अनुमान लगाउन सकिन्छ ।

प्रतिनिधि चयनको पूर्वसन्ध्या र त्यसपछिका अभिव्यक्तिहरुमा ओलीले लगातार सहमति र एकताको महाधिवेशन भनिरहेका छन् । ‘अध्यक्षको हैसियतले के आग्रह हुन्छ भने जसले छोड्नुपर्छ सहमति साथै छोडौं, जो बस्नुपर्छ सहमतिका साथ बसौं । सहमतिका साथ बसौं, सहमतिका साथ जाऔं,’ ओलीको भनाइ छ, ‘भन्ने गर्छन् एमालेमा डेमोक्रेसी छैन, चुनावै लडेन । कसैलाई चुनाव लड्न दिइएन भन्दै गर्लान् । नदिएको होइन, मेरो आग्रह छ, एकताबद्ध भएर जाऔं ।’

ओलीलाई साथ दिँदै आएका महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्यालहरुले पनि एकताको महाधिवेशन भनिरहेका छन् । अर्थात् एकताको महाधिवेशन भन्दै ओलीले बन्दसत्र हलमा आफ्नो पक्षधरको सूची सार्वजनिक गर्नेछन्, जसले अर्को पक्षलाई दबाब बढ्न सक्छ ।

तर यसको जवाफी तयारी ईश्वर पोखरेल पक्षधरले पनि गरिरहेका छन् । उनीहरु पनि पदाधिकारीसहित केन्द्रीय कमिटीको सूची तयार पार्ने गृहकार्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि दलको नेताबाट राजीनामा दिएका हुन् । उनले सांसद् पदबाट राजीनामा भने ...
। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेशमा एक्लो नभएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको दाबी गरे । ‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । त्यसकारण एमालेलाई ...
। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी, निर्देशक पदमा कार्यरत मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा गुरुदत्त अधिकारी, र एक इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर भएको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ...
१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ
ट्राफिक प्रहरी कार्यालय पथलैया अगाडि ट्रक चालकहरूको धर्ना