: पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका छन्।
पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण बुधबार बिहान मृत भेटिएका हुन्। पार्कका कर्मचारीले हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएका थिए।
पार्क सञ्चालक थानीमाई वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुवेदीले चितुवा वा बाघले तारघेरा नाघेर हरिणलाई मारेको हुनसक्ने बताए। ‘केहीले चितुवा भनिरहेका छन्, केहीले बाघ भनिरहेका छन्। कुन जनावरले आक्रमण गर्यो त्यो खुलेको छैन’, सुवेदीले भने,‘तर पार्कमा पालिएका तीन वटा हरिण तिघ्राको मासु लुछेको अवस्थामा मृत भेटिएका छन्। अन्य तीन वटा भने तारघेरा नाघेर भाग्न सफल भएका रहेछन्।’
तारघेरा नाघेर भागेका अन्य तीन वटा हरिण पार्क वरपरकै क्षेत्रमा छन्। घटनापछि डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सिमराको टोली पुगेर घटना मुचुल्का गरी मारिएका हरिणलाई खाल्डो खनेर पुरेको सुवेदीले बताए। घटनापछि अन्य तीन वटा हरिणलाई कसरी जोगाउने भन्ने चिन्ता समेत बढेको सुवेदीको भनाई छ।