: ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको संरक्षकत्वमा घोषणा भएको ‘उज्यालो नेपाल पार्टी’ले समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने राजनीतिक एजेन्डा अघि सारेको छ। ‘हालको व्यवस्थाबाट बलियो (प्रत्यक्ष र समानुपातिक मिश्रित निर्वाचन प्रणाली) एवं स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्दछ,’ पार्टी घोषणा पत्रमा उल्लेख छ।
बुधबार प्रज्ञा भवन कमलादीमा आयोजित पार्टीको घोषणा सभामा पार्टीको हरियो झन्डा र चुनाव चिह्न ‘चिम’ अंकित टोपी लगाएर नेता–कार्यकर्ता र समर्थकबीच पार्टी घोषणा गरिएको थियो। घोषणा सभामा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२ सार्वजनिक गरिएको छ। ‘सुशासन, समृद्धि र समाजिक न्याय’, ‘उज्यालो नेपाल ः उज्यालो भविष्य’ जस्ता पार्टीको मूल नाराहरू राखिएको छ। पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई पनि सार्वजनिक गरिएको छ। उज्यालो नेपाल पार्टी ः नयाँ युगको प्रारम्भ भन्ने दृष्टिकोण राखिएको छ।
प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरावलोकन गर्नुपर्ने, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्य मन्त्रिमण्डल, संघमा सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था गर्नुपर्ने तर परराष्ट्रमन्त्री, गृहमन्त्री र रक्षा मन्त्री संघीय संसद्को सदस्यबाटै चयन गर्नुपर्ने जस्ता राजनीतिक एजेन्डाहरू सार्वजनिक गरिएको छ।
बौद्धिक वर्ग पार्टीको अग्रपंक्तिमा
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको ५१ सदस्य केन्द्रीय कार्यसमिति रहेको छ। तर, मन्त्री घिसिङले घोषणा सभामा भने आफ्नो आबद्धता खुलाएनन्। पार्टीमा बौद्धिक वर्गका डाक्टर, इन्जिनियर, कलाकारलगायत अन्य पेसाका प्रशस्तै अनुभवीहरू छन्। पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा गठन गरिएको पार्टीको अध्यक्ष नै इन्जिनियर पृष्ठभूमिका छन्।
५१ जना केन्द्रीय सदस्यमा १३ जना डाक्टर, प्राध्यापक र इन्जिनियरको संख्या रहेको छ। इन्जिनियर शंकर ढकाल, तेजनारायण यादव, निलिमा बस्नेत, दीपेन्द्र जमरकट्टेल, अरविन्द साह र राजेन्द्र शाही पार्टीको केन्द्रीय सदयमा छन्। त्यस्तै, डा. ताराप्रसाद जोशी, डा. महेन्द्रसुन्दर लावती, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा.राजु थापा, डा. विशाल भण्डारी, डा.आशुतोष विजय पन्तको नाम पनि सदस्यका रूपमा उल्लेख गरिएको छ। पार्टीका अन्य सदस्यहरू पनि आफ्नो क्षेत्रमा अनुभवी व्यक्ति रहेको जनाइएको छ। कलाकार तथा कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्यको ९ नम्बर सूचीमा छिन्।
ऊर्जामन्त्री घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ पनि उपस्थित भइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसहमहामन्त्रीसमेत रहिसकेकी छिन्। रास्वपा छोडेकी उनी श्रेष्ठ घिसिङ नेतृत्वको पार्टीमा लाग्ने चर्चा थियो। तर, सार्वजनिक भएको ५१ सदस्य केन्द्रीय सदस्यको सूचीमा उनको नाम भने कतै छैन।
उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ताका लागि साउन २७ गते निवेदन दिएका थिए। मंसिर ५ गते आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो। यो दलको चुनाव चिह्न ‘बलेको चिम’ रहेको छ। पार्टी घोषणासँगै पार्टीको पदाधिकारी हेरफेरका लागि उज्यालो नेपाल पार्टीले आयोगमा
निवेदन दिएको छ।
देशको नेतृत्व गर्ने कुलमानको इच्छा
उज्यालो नेपाल पार्टी घोषणा सभामा बोल्दै मन्त्री कुलमान घिसिङले अब चुनाव लडेर देशको नेतृत्व गर्ने चाहना रहेको बताए। उनले उज्यालो नेपाल अभियानलाई पार्टीको रूप दिएकामा खुसी व्यक्त गरे। पार्टी घोषणा सभाका प्रमुख अथिति भने मन्त्री घिसिङलाई बनाइएको थियो।
‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायको सहयोगमा उज्यालो अभियान नेपाल चलायौं। उहाँसँग मेरो ३० वर्षदेखि सहकार्य छ। उहाँको अध्यक्षतामा उज्यालो नेपाल पार्टीको गठन भएकामा खुसी लाग्यो। त्यही भएर बधाई दिन कार्यक्रमको प्रमुख अथिति बनेर उपस्थित भएँ,’ ऊर्जामन्त्री कुलमान घिसिङले भने, ‘जुन जुन बेला देशमा क्राइसिस आउँछ त्यहाँ मेरो उपस्थित हुने गरेको छ। देशलाई लोडसेटिङमुक्त गर्ने मलाई अवसर मिल्यो। सरकारले मलाई विद्युत् प्राधिकरण कार्यकारी निर्देशकबाट ८ महिना अघि हटायो। अनि अहिले मन्त्री बन्ने अवसर पाएँ। अब देशको नेतृत्व गर्ने मन छ।’
देश बनाउने नेताको अभावमा सुशासन, समृद्धि र विकास हुन नसकेको मन्त्री घिसिङले बताए। ‘राजनीतिक परिवर्तन गर्न नेताहरू नेता सफल भए तर, आर्थिक परिवर्तन गर्न सकेन। त्यसैले १०—१५ मा सिस्टम परिवर्तनका लागि आन्दोलन हुँदै आएको छ। देश हाँक्ने लिडरसिपको अभावले देश विकास हुन सकनेन्,’ उनले भने, ‘देशको नेतृत्वमा सही व्यक्ति छनोट भएन। प्रधानमन्त्रीदेखि तलसम्म राम्रो व्यक्ति छान्नुपर्छ। हाम्रालाई होइन्, राम्रा व्यक्ति छान्नुपर्छ।’
सुशासन दिन नसक्दा देशमा लिडरसिप फेल भएको मन्त्री घिसिङले बताए। ‘अब भाषणले होइन्, कामले जित्छ। राजनीतिले परिणाम दिनुपर्छ। विश्वास गुमेपछि लिडरसिप फेल हुन्छ। नेताको अचरण बिग्रियो भने देशमा कुशासन हाबी हुन्छ। त्यसपछि कुनै पनि लिडरसिप फेल हुन्छ,’ उनले भने, ‘जनताको मन छुने गरी काम गर्नुपर्छ। मैले जहाँ जहाँ नेतृत्व गरेँ त्यहाँ जनतालाई सेवा दिएर मन जितेँ।’
फागुन २१ को चुनावले जेन–जी आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताए। उनले भने, ‘अबको परिवर्तनको नेतृत्व नयाँ र वैकल्पिक समूहहरू एक ठाउँमा आउनुपर्छ। यो परिवर्तनलाई परिणाममा रूपान्तरण गर्नुपर्छ।’
जेन–जी आन्दोलनको मुख्य माग भ्रष्टाचारमुक्त देश रहेको मन्त्री घिसिङले बताए। उनले भने, ‘नेपालको समृद्धिको आधार सुशासन हो। देश परिवर्तनको इच्छा राख्ने सही व्यक्तिहरू राजनीतिमा आउनुपर्छ।’
उज्यालो नेपाल पार्टीका मुख्य ११ राजनीतिक एजेन्डा
१. समानुपातिक समावेशी निर्वाचन प्रणाली हुनुपर्ने।
२. प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरावलोकन गर्नुपर्ने।
३. प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्य मन्त्रिमण्डल।
४.प्रदेशमा सांसद रहने व्यवस्था हटाई प्रदेश सभाको काम गर्ने गरी स्थानीय तहको प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने प्रदेश परिषद् बनाउनुपर्ने।
५. संघमा सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था तर, परराष्ट्रमन्त्री, गृहमन्त्री र रक्षामन्त्री संघीय संसद्को सदस्यबाटै चयन गर्नुपर्ने।
६.प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसद्को आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्ने।
७.एकै संसदीय निर्वाचन क्षेत्रबाट लगातार तेस्रोपटक उम्मेदवार हुन नपाउने। ८.समानुपातिक सांसद र मनोनीत सांसद् १ पटकका लागि मात्र हुने व्यवस्था गरिनुपर्ने।
९.स्थानीय तहको चुनाव गैरदलीय
१०.न्यायपालिकामा दलीय हस्तक्षेप नहुने गरी न्यायपरिषद्को पुनर्संरचना गरिनुपर्ने।
११.बहुसंख्यक जनताले संविधानको अन्तरवस्तुमा संशोधन गर्न माग गरेका उज्यालो नेपाल पार्टी जनअभिमतको पक्षमा उभिने।