: जुनारको राजधानी भनेर चिनिएको सिन्धुलीमा पहिलो पटक जुनार प्रवर्द्धनका लागि जुनार मेलाको आयोजना गरिने भएको छ। गोलन्जोर गाउँपालिकाको आयोजनामा आगामी मंगलबारबाट जिल्लाको गोलन्जोर गाउँपालिका-४ तिनकन्यामा जुनार प्रवर्द्धन मेला सञ्चालन हुने भएको हो। सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले यही मंसिर २३, २४ र २५ गते जुनार प्रवर्द्धन मेलाको आयोजना गरिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए।
मेलाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा छ। जुनारको उत्पादन मूल्य, बजारीकरण र कृषक मैत्री नीतिका लागि किसान, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय गर्न मद्दत पुर्याउने छ। मेलामा जुनारको व्यवसायीकरण, जुनारमा देखा परेका रोग तथा किराको नियन्त्रणका लागि विज्ञहरूको सुझाव संकलन गरिने छ।
यसका साथै मेलामा जुनार बगैँचा उत्सव, स्थानीय कृषि उपजहरूको प्रदर्शनी, कृषक र कृषि विज्ञ बीच प्राविधिक वार्तालाप, झाँकी सहितको जुनार बगैँचाको अवलोकन, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहने गरी मेलाको तयारी गरिएको छ।
सिन्धुलीको महाभारत क्षेत्रमा पर्ने गोलन्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका तीनकन्या, रतनचुरा, बितिजोर, भुवनेश्वरी, बाशेश्वर, डुडभञ्ज्याङ्ग जुनार उत्पादनका दृष्टिले पकेट क्षेत्र हुन्। यहाँका किसानले वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्।