: काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा पटक-पटक दुर्घटना हुन थालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन्।
धोबीखोला करिडोरमा रेलिङ नहुँदा रातको समयमा रुद्रमति पुलनजिक दुर्घटना हुँद आएको र अहिलेसम्म दुई जनाको मृत्युसमेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन्। पुलनजिकको बाटोमा रेलिङ नभएकाले रातको समयमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयहरूले जनाएका छन्।
बारम्बार दुर्घटना हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरू मिलेर रेलिङ राख्न सुरु गरिएको व्यवसायी मोहन भण्डारीले बताए। बिहीबार बिहान रुद्रमति पुलनजिक धोबीखोला करिडोर एक व्यक्ति साइकलसहित मृत फेला परेका थिए। उनी रातको समयमा साइकलबाट यात्रा गर्दा झुक्किएर खोलामा खसेको पाइएको प्रहरीले जनाएको छ। यसअघि कार, ट्याक्सी, मोटसाइकल, पैदल यात्रुसमेत खोलामा खसिसकेका छन्।