: नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले पार्टीको महाधिवेशनले केपी शर्मा ओलीलाई नै अध्यक्ष चयन गर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अध्यक्ष पदमा करिब सहमति भइसकेको भन्दै यसमा कुनै विवाद नरहेका दाबी गरेका हुन्।
जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य लिएर एमाले अघि बढेकाले स्थिर नीति र राष्ट्रवादी अडानका साथ मुलुकलाई नै नेतृत्व गर्न सक्ने क्षमता वर्तमान अध्यक्ष केपी ओलीमा मात्रै रहेको जिकिर गरे।
रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने समेत बताए। लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने उनले बताए।
एमालेको महाधिवेशनमा आयोजक र निर्वाचित गरी करिब दुई हजार ४०० प्रतिनिधि रहने उनले बताए।