: विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्।
विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औँ महाधिवेशनको तयारी विषयक अन्तर्क्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका हुन्।
कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यकालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए। उनले निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न सुझाव समेत दिए। विशेष महाधिवेशनको दबाब दिएपछि मात्रै पार्टी नेतृत्व निर्वाचन अघि नियमित महाधिवेशन गर्न तयार भएको उनको भनाइ छ।
उनले बहुमतको शक्तिका साथ आफूहरू महाधिवेशनको तयारीमा जुट्ने धारणा राखे। महाधिवेशनमा आफूहरूको पक्ष निर्णायक रहेकाले कमजोर नठान्न उनले सुझाव दिए।
उनले पार्टीले निर्धारण गरेको कार्यतालिकालाई सफल बनाउन भूमिका खेल्ने समेत बताए। घिमिरेले अव निर्वाचन क्षेत्रमा क्रियाशील हुन आग्रह गर्दै कसैले अप्ठेरो पारे एकताबद्ध भएर सामना गर्ने जिकिर गरे।