: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्।
काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्।
पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी छन्।
सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितीय स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल खेल हुने एन्फाले जनाएको छ।
प्रतियोगिताको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।