: जेन–जी आन्दोलनको आवरणमा इटहरीस्थित इलाका प्रहरी कार्यालय आगजनी गर्नेहरू पक्राउ परे । तर, त्यसै दिन स्थानीयबासीका घर तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्नेलाई प्रहरीले अझैसम्म पक्राउ गरेको छैन ।
जेन–जी आन्दोलनको आवरणमा गत भदौ २४ गते धरान, इटहरी, इनरुवा, महेन्द्रनगरलगायतका क्षेत्रमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, व्यापारी र सर्वसाधारणका निजी घरमा तोडफोड तथा आगजनी गरिएको थियो । भाटभटेनी, होटल तथा निजी घरमा समेत आगो लगाएर ठूलो क्षति पुर्याइएको थियो । तर, यस्ता घटनामा संलग्न समूहबारे पीडितले थुप्रै प्रमाण प्रहरीलाई दिए पनि न त अनुसन्धान द्रुतगतिमा अघि बढेको छ, न त अभियुक्तहरू नै पक्राउ परेका छन् । अभियुक्त पक्राउ नपरेपछि प्रहरीबाटै दण्डहीनतालाई प्रशय दिने काम भएको भन्दै पीडित आक्रोशित छन् ।
धरानका पूर्वमेयर मनोज मेन्याङ्बो, पूर्वसांसद जयकुमार राई, कांग्रेस नेता उमेश थापा, सुजेन्द्र तामाङ, पूर्वउपमेयर मन्जु भण्डारी, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाललगायतका घरमा आगजनी र तोडफोड गरिएको थियो । यस्तै, कांग्रेस, एमाले, माओवादी पार्टीका कार्यालयमा समेत आगजनी, तोडफोड र लुटपाट भएको पीडितहरूले बताएका छन् ।
घटनापछि किटानी जाहेरी दर्ता गराए पनि प्रहरीले उजुरीमाथि आवश्यक प्रक्रिया अगाडि नबढाएको कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले आरोप लगाए । उनले निजी घरमा आगजनी गर्ने समूहलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउन माग गरे ।
इटहरीका मेयर हेमकर्ण पौडेल, इनरुवाका मेयर केदार भण्डारी, बराहक्षेत्रका मेयर रमेश कार्की तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको घरमा पनि त्यही दिन आगजनी गरी ठूलो क्षति पुर्याइएको थियो ।
आक्रमणमा संलग्न धरानमा मात्र १ सय ५० भन्दा बढी व्यक्तिमाथि किटानी जाहेरी परेको भए पनि प्रहरी अनुसन्धान सुस्त छ । एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले पार्टी कार्यालयमा आगो लगाउने र तोडफोड गर्नेलाई प्रमाणसहित उजुरी दिँदा पनि प्रहरीले कारबाही नगरेको बताए ।
धरानमा निजी सम्पत्तिमा आगजनी र लुटपाटमा संलग्न रहेको प्रहरी अनुसन्धानमै पहिचान भएका पत्रकार विमल शाक्य, संगीतकार हेम सुब्बा, मिलन बान्तवा राई, दीपचन्द्र राईलगायत व्यक्तिमाथि समेत अहिलेसम्म कारबाही अघि नबढाउनुले प्रहरी प्रशासनको कार्यशैलीबारे पीडितले प्रश्न उठाएका छन् । प्रहरीले अभियुक्तको पहिचान, प्रमाणसमेत हातमा राखेर पनि ढिला गर्नुले न्यायिक प्रक्रियालाई कमजोर बनाएको धरानका पूर्वमेयर मनोज मेन्याङबोले बताए । उनले आफ्नो होटलमा आगजनी गर्ने र कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।
आन्दोलनकै क्रममा सुनसरीका २९ वटा सरकारी कार्यालयमा गरिएको आगजनीबाट मात्रै १ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । यति ठूलो जनधन क्षतिमा समेत प्रहरीले ५ जना मात्र पक्राउ गरेको तथ्यले पीडितको आक्रोश चुलिएको छ । इटहरी प्रहरी कार्यालयमा आगजनी तथा प्रहरीमाथि दुर्व्यवहार प्रकरणमा विजय लिम्बू, मदन खत्री, दीपेन्द्र कार्की, आभाष कार्की र सोनम कार्कीलाई मात्र पक्राउ गरेको छ ।
पीडितले प्रहरीमा उजुरी दिएपछि जिल्ला अदालतका मुख्य न्यायाधीश सहितका सबै न्यायाधीश, सरकारी वकिल, प्रमुख जिल्ला अधिकारी र सुनसरीका प्रहरी प्रमुखबीच सार्वजनिक सम्पत्तिमा आगजनी गर्नेहरूलाई पहिलो चरणमा कारबाही गर्दै त्यसपछि निजी सम्पत्ति क्षति गराउनेहरूलाई मुद्दा अघि बढाउने सहमति भएको थियो । तर, उक्त सहमतिअनुसार पनि प्रहरीले कारबाही अगाडि बढाउन सकेको छैन । अदालतको ढिलासुस्ती र प्रहरीको निस्क्रियताले पीडितहरूलाई अझ बढी मारमा पारेको पीडितहरूको आरोप छ ।
‘कसैको घर खरानी बनाइयो, कसैको होटल जलेर खतम भयो, कसैको आजीवन पसिना बर्बाद भयो— तर न्याय पाउने बाटो अझै बन्द भएको छ,’ पीडित सुजेन्द्र तामाङले भने । आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे । सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले दोषीहरू जतिसुकै प्रभावशाली भए पनि कानुनी दायरामा ल्याइने आश्वासन दिए ।
उनले अभियुक्तलाई गिरफ्तारी गरी कानुनी कारबाही अघि बढाउने र पीडितले न्याय पाउनेमा शंका नगर्न अनुरोध गरे । कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेले जेन–जी आन्दोलनका क्रममा अराजक गतिविधि गरी सरकारी तथा निजी सम्पत्ति तोडफोड गर्ने सबैलाई कानुनी दायरामा ल्याइने बताए ।