: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक पार्टीहरू शिथिल हुँदा रिक्त ठाउँ अराजक शक्तिहरूले लिन खोज्ने बताएका छन्। पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्ने ज्ञवालीको टिप्पणी छ। उनले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टीका लागि उत्सव र लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि भएको धारणा राखे।
‘नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह पार्टी परिवारका लागि त सबैभन्दा ठूलो उत्सव हो नै, लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि पनि हो ।’ उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राजनीतिक पार्टीहरू कमजोर या शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्छन् । पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्छन् ।’
२०६२ मा बुटबलको जनप्रदर्शनले प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको बताउँदै उनले आगामी शनिबार एमालेको महाधिवेशनको उद्घाटनले निर्णायक मोड लिने बताएका हुन्। ‘जसरी २०६२ मङ्सिर ४ गते नेकपा (एमाले) ले बुटवलमा गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही ‘कु’ पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो, मङ्सिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्नेछ’ उनले भने, ‘हाम्रो १ दिनको उपस्थितिले ख़ास अर्थ राख्छ भने किन उपस्थित नहुने ? आउनुहोस्, मङ्सिर २७ गते दिउँसो भक्तपुर सल्लाघारी जाऔँ र देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई नो भनौँ !’