: सुनसरीमा बराहक्षेत्रबाट प्रहरीले १९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरले बताए।
आइतबार राति प्रहरी चौकी मधुवनबाट खटिएको टोलीले प्रकाशपुरबाट मधुवनतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गरेको थियो। सो क्रममा मोटरसाइकल चालक कोशी गाउँपालिका-६ रामनाथ यादव र मोटरसाइकलको पछाडि सवार भारतको बिहार राज्य स्थित सुपौल जिल्लाका भूषण कुमार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका दुवै युवक र लागूपदार्थसहित प्रयोग गरिएको मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ। उनीहरू विरुद्ध लागूऔषध ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।