— गैरआवासीय नेपाली सोसल क्लब (एनआरएन), ओमानले ३१ मे २०२४ पछि ओमान आएका घरेलु श्रमिकलाई श्रम स्वीकृति नदिइने कार्य उचित नभएको भन्दै नेपाली दूतावासको ध्यानाकर्षण गराएको जनाएको छ ।
एनआरएनका अध्यक्ष सुरेश खड्का, पूर्व अध्यक्ष विकल झा र सल्लाहकार टीका धितालको नेतृत्वमा गएको टोलीले ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालसमक्ष ज्ञापनपत्र बुझाउँदै नेपाली महिला श्रमिकमाथि भएको विभेदलाई हटाउन माग गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अवैध ढंगबाट गएका श्रमिकलाई अभिलेखीकरण गर्न भन्दै ३० मेसम्म गएकालाई श्रम स्वीकृति दिन थालेको थियो । यसलाई एनआरएन ओमानले व्यवहारिक नभएको भन्दै गत ३० नोभेम्बरसम्म ओमान आइसकेको घरेलु महिला श्रमिकलाई श्रमस्वीकृति दिन अनुरोध गरेको हो ।
‘वैदेशिक रोजगारका अवसरमा अझै पनि पुरुष र महिलाबीच भेदभाव देखिन्छ । सरकारले केही पदहरुमा महिलालाई रके लगाइनु लैंगिक असमानताको उदाहरण हो । कुनै पनि कामका लागि लिंगको आधारमा प्रतिबन्ध नलगाई समान अवसर सुनिश्चित गर्न आवश्यक छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
एनआरएनले घरेलु श्रमिक उही स्पोन्सर (अहिले काम गरिरहेको रोजगारदाता) को घरमा काम गर्न चाहन्छ भने श्रम नवीकरण गर्न दिइनुपर्ने जनाएको छ । घरेलु श्रमिकलाई वैधानिक रुपमा आउने बाटो बन्द हुँदा भिजिट भिसाको दुरुपयोग गरी तस्करहरुले ओमान लगिरहेका छन् ।
अध्यक्ष खड्काले वैदेशिक रोजगारमा जोखिममा परेका श्रमिकका लागि नि:शुल्क कानुनी सेवा उपलब्ध गराउनुपर्ने बताए । ‘दूतावासमा सरकारले नै वकिल राख्नुपर्छ । दुई पक्षीय सम्झौतामार्फत कानुनी सेवा उपलब्ध गराउने प्रणाली लागु गर्न पहल गर्नुपर्छ,’ उनले भने,‘श्रमिकले सजिलै पुग्ने, बुझ्ने र उपयोग गर्न सक्ने प्रभावकारी पहुँच सुनिश्चत हुन आवाश्यक छ ।’
ओमानमा २० हजार नेपाली श्रमिक कार्यरत छन् । जसमध्ये ठूलो संख्यामा घरेलु श्रमिक रहेका छन् ।