मुख्य समाचार
लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने प्रपञ्चमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घूस लेनदेनमा मुछिएका पूर्वमन्त्री बलराम अधिकारी र पूर्वसचिव अर्जुनप्रसाद पोखरेलविरुद्ध भने अर्को अभियोग पेस गर्ने भन्दै तत्काललाई उन्मुक्ति दिइएको छ ।



लिची बगानको १ सय ३४ रोपनी जग्गा हडप्ने योजनासहित घूस डिल गरिएको अडियो गत असारमा सार्वजनिक भएपछि अनुसन्धान थालेर अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । एमाले नेतासमेत रहेका पूर्वसामान्य प्रशासनमन्त्री गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठलाई ७८ लाख रुपैयाँका दरले बिगो मागदाबी गर्दै मुद्दा चलाइएको छ ।

तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख, बिचौलिया सुजनकुमार तामाङविरुद्ध ७८ लाख, प्रकरणमा संलग्न देखिएका खेमबहादुर पुनविरुद्ध २५ लाख, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरविरुद्ध ७८–७८ लाखका दरले बिगो माग गरिएको छ । मुद्दा चलाइएका सातै जनाविरुद्ध भ्रष्टाचार निवारण आयोग ऐनअनुसार कैद सजाय गर्न पनि अख्तियारले मागदाबी गरेको छ ।

पुस २०८१ मा घूस लेनदेन हुँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहेका एमाले नेता अधिकारी र पूर्वसचिव पोखरेलमाथि भने छुट्टै अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । अधिकारीले ३२ लाख र पोखरेलले पाँच लाखका साथै रक्सी र दुई वटा वन कुखुरा घूस लिएको आरोप छ ।

बिचौलिया तामाङले अधिकारीका छोरा मनोजमार्फत घूस बुझाएको अडियोमा उल्लेख गरेका थिए । मालपोत कार्यालय कास्कीका नायब सुब्बा दीपक सुवेदीले ७० लाख खर्च गरी चिरञ्जीवी पौडेललाई मालपोत कार्यालय कास्कीमा प्रमुख बनाएर ल्याएको र पौडेलले सेवाग्राहीसँग चार पटक हवाई टिकट किन्न लगाएको विषयमा पनि छुट्टै मिसिल खडा गरी अनुसन्धान गर्ने निर्णय भएको पनि अख्तियारको आरोपपत्रमा उल्लेख छ ।


नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले अलग्गै ११ लाख घूस लिएको विषयमा पनि छुट्टै अनुसन्धान हुने भएको छ । श्रेष्ठले लिएको घूस उनका तर्फबाट रोशन लोहनीले जम्मा गरेको अडियोमा सुनिएको पाइएको अख्तियारले जनाएको छ ।

तत्कालीन मन्त्री गुप्ता र पूर्वमन्त्री श्रेष्ठसँग भएको घूससम्बन्धी संवादको अडियो रेकर्ड गरेका बिचौलिया तामाङले तत्कालीन मन्त्री अधिकारीलाई समेत रकम दिएको दाबी गरेका थिए । लिची बगानको जग्गाबारे निर्णय गर्ने सम्भावित कर्मचारीको खोजी र व्यवस्थापनको जिम्मा अधिकारीले लिएको भनिएको थियो । बिचौलिया तामाङले मालपोत कार्यालय कास्कीमा अनुकूल व्यक्तिको व्यवस्थापन र जग्गा रजिस्ट्रेसनका सन्दर्भमा अधिकारीका दुई नातेदारको नाम पनि लिएका थिए । तर उनीहरूको हकमा पुष्टि हुने प्रमाण नपुगेको अख्तियारले जनाएको छ ।


घूस प्रकरणमा अनुसन्धान अघि बढाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ३१ असारमा गुप्तालाई मन्त्री पदबाट राजीनामा दिन लगाएका थिए । घूस प्रकरणमा जोडिए पनि तत्कालीन भूमि व्यवस्थामन्त्री अधिकारी गत २४ भदौसम्मै मन्त्री थिए । नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ १७ चैत २०७९ देखि २१ फागुन २०८० सम्म भूमि व्यवस्थामन्त्री थिइन् । सरकारलाई समर्थन गर्ने सर्तमा तत्कालीन प्रधानमन्त्री ओलीले श्रेष्ठलाई पनि मुद्दाबाट जोगाउने वचन दिएको उनी निकटस्थ नेताको भनाइ थियो ।

१८ पुस २०८१ मा कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई सरुवा गरिएपछि बिचौलियाले उनको सरुवा थमौतीसम्बन्धी सहजीकरण गराउन ५३ लाख र खेमबहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्ष पदमा नियुक्ति गर्न/गराउन सहजीकरणका लागि २५ लाख रुपैयाँ घूस लिने–दिने कार्य भएको अख्तियारको अनुसन्धानमा पाइएको छ । २८ पुस २०८१ को साँझ बिचौलिया तामाङ, तत्कालीन मन्त्री गुप्ता, पूर्वमन्त्री श्रेष्ठका साथ पुन पनि मन्त्री निवास भैंसेपाटी, ललितपुरमा सँगै रहेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

प्रमुख मालपोत अधिकृत अधिकारीको सरुवा थमौती गराउन समस्या हुन थालेपछि बिचौलियाले अडियो प्रधानमन्त्री कार्यालय र अख्तियारमा पुर्‍याएको स्रोतको भनाइ छ । तर यसबारे थाहा पाएर पनि प्रधानमन्त्रीले मौनता साधेका थिए । घूस लेनदेनको अडियो असार दोस्रो साता सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो ।

अधिकारी कास्कीको मालपोत कार्यालय प्रमुख भएका बेला लिची बगानको जग्गा हडप्ने खेल अघि बढेको थियो । जग्गा हेर्न तत्कालीन मन्त्री गुप्ता, पूर्वमन्त्री श्रेष्ठ बिचौलिया तामाङसहित पोखरा पुगेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारका अनुसार बिचौलिया तामाङले चलाउने गरी गरिमा विकास बैंकमा यामकुमारी गुरुङका नाममा २८ जेठ २०८१ मा खोलिएको खातामा तुल्सीराम बुढामगरले २९ जेठमा १ करोड जम्मा गरेका थिए । ३२ जेठमा पुनः ७५ लाख जम्मा गरिएको थियो ।

जग्गा हडप्ने प्रपञ्च पूरा नहुँदै १८ पुस २०८१ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट अधिकारीलाई मालपोत कार्यालय लमजुङ सरुवा गरिएको थियो । कास्कीको प्रमुखमा भने चिरञ्जीवी पौडेल पदस्थापन भए । पौडेलबाट काम नहुने देखेपछि बिचौलियालगायतले घूस खुवाएर सरुवा थमौती गर्ने प्रयासमा लागेका थिए ।

अख्तियारका अनुसार पौडेललाई भूमि व्यवस्था मन्त्रालयबाट अन्य मन्त्रालयमा सरुवा गरी अधिकारीलाई पुनः कास्कीमा सरुवा गर्न/गराउन तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई पटक–पटक निर्देशन दिएका थिए । गुप्ताले सचिवलाई आफ्नो गोप्य कक्षमा बोलाएर रञ्जिता श्रेष्ठकै अगाडि समेत निर्देशन दिएका थिए ।

के हो लिची बगान प्रकरण ?

वि.सं. १९७९ मा रुद्रशमशेरले बाटुलेचौरमा रहेको आफ्नो बिर्ता दुई छोरी लोकदिव्यश्वरी र दुर्गादेवीका नाममा गरिदिएका थिए । २०१६ मा बिर्ता उन्मूलन भयो । बिर्ताबापत प्राप्त जग्गा रैकरमा परिणत गर्नॅपर्ने व्यवस्था भए पनि राणा परिवारले गरेको देखिँदैन । लोकदिव्यश्वरीले पाल्पा तानसेनका खेमविक्रम शाहसँग विवाह गरेकी थिइन् भने दुर्गादेवीको टेकबहादुर शाहसँग विवाह भएको थियो ।

२०१७ देखि मुस्ताङबाट झरेका थकालीले राणा परिवारसँग लिखतका आधारमा जग्गा किनेर बस्ती बसाले । उता लोकदिव्यश्वरी शाह र दुर्गादेवी शाहले हरिप्रतापजंग राणासहित ६ जनालाई विपक्षी बनाएर जालसाजी र लिखत बदरको मुद्दा हाले । २९ चैत २०३१ मा कास्की अदालतको फैसला र ३ माघ २०४० मा तत्कालीन पश्चिमाञ्चल डिभिजन बेन्चले लोकदिव्यश्वरी र दुर्गादेवीकै पक्षमा फैसला गर्‍यो । २०३२ सम्म हकभोग गरेका मुस्ताङीले २०३३ मा नापी आएपछि आफ्नो नाममा लालपुर्जा निकाले । जग्गा बिक्री पनि भयो । त्यसपछि २०५९ मा नयाँ नापी भयो ।

फैसला भएको ४० वर्षपछि दुर्गादेवी शाहका नाति दाबी गर्दै सुरज शाह ठकुरी, सुनील शाह ठकुरी र नातिनी बुहारी दाबी गरी गीतादेवी शाहले २४ माघ २०८० मा मालपोत कार्यालयमा फैसला कार्यान्वयनका लागि निवेदन दिए । बिचौलिया सुजन तामाङकै सक्रियतामा हकदार खडा गरी मालपोत कार्यालयमा निवेदन बुझाइएको थियो ।

दुर्गादेवी शाहको ५ वैशाख २०५९ मा र उनका पति टेकबहादुरको पहिल्यै मृत्यु भइसकेको थियो । अदालतको फैसलामा उल्लिखित ४ कित्ताभित्रको २५, २६ र २८ नम्बरको जग्गा नामसारी दाखिल खारेज गरी जग्गाधनी प्रमाणपुर्जा पाउनुपर्ने माग मालपोतमा पेस गरिएको निवेदनमा उल्लेख छ ।

यसअघि ९ भदौ २०८० मा लोकदिव्यश्वरीका छोरा भरतविक्रम शाह र उनकी श्रीमती चुम्मन शाहको वारेस बनेर मृगेन्द्र मल्लले मालपोत कार्यालयमा निवेदन दिएको देखिन्छ । तर प्रक्रिया नपुगेको भन्दै निवेदन दर्ता अस्वीकार गरियो । अदालतको फैसलाबमोजिम जग्गा यकिन गरी हकदारका नाममा ल्याउन भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयले फैसला कार्यान्वयन गर्न भूमि व्यवस्था विभाग हुँदै मालपोत कार्यालय कास्कीलाई १२ जेठ २०८० मा पत्र गयो ।

दुर्गादेवीका नाति–नातिनाले २४ माघ २०८० मा मालपोतमा निवेदन दिएकै दिन उक्त जग्गा दर्ता भएबापत बिचौलिया र खडा गरिएका हकदारले विभाजन गर्ने गरी गरिएको करारनामा पनि फेला परेको थियो । पोखरा–१६ को वडा कार्यालयमा दर्ता गरिएको उक्त करारनामामा जग्गा दर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च स्याङ्जाका देवबहादुर मल्ल र यामकुमारी गुरुङले बेहोर्ने उल्लेख छ ।

सहमतिमा दर्ता गर्न सफल भएको जग्गामध्ये ३३ प्रतिशत गीतादेवी, सुरज र सुनील ठकुरीले पाउने भनिएको छ । बाँकी ४० प्रतिशत यामकुमारी गुरुङ र २७ प्रतिशत देवबहादुर मल्लले पाउने करारनामामा उल्लेख छ । उक्त करारनामाको साक्षीमा उनै बिचौलिया सुरज तामाङको नाम उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गौर घटना : सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक, के उपेन्द्र यादवमाथि अनुसन्धान होला ?
— परराष्ट्र मन्त्रालयले बुधबार ६७ जना नयाँ अधिकृतलाई स्वागत गरेको छ। नवनियुक्त अधिकृतहरूलाई शपथग्रहण तथा नियुक्ति पत्र दिँदै परराष्ट्र सचिव अमृतबहादुर राईले बधाई दिएका थिए। उनले पहिला नागरिक भन्ने मार्गदर्शक सिद्धान्तअनुसार जिम्मेवारी वहन गर्दै उच्चतम स्तरको पेसागत इमान्दारी र निष्ठा कायम राख्न अधिकृतहरूलाई निर्देशन दिए। सचिव राईले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनका ...
— एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले झोंक चलेर नभई पार्टीभित्र विधि–पद्धति निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताएका छन्। आसन्न एमाले महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी रहेका पोखरेलले आज पत्रकार सम्मेलन गर्दै यस्तो विचार व्यक्त गरेका हुन्। उनले महाधिवेशन विचारको फैसला हुने थलो भएकाले फरक मतहरू अघि सारेको उल्लेख गर्दै भने, ‘पार्टीभित्र जबजको विवाद छैन, तर कार्यसम्पादनमा ...
— नेपाल अडिटर्स एसोसिएसन(अडान) को सातौं राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठक अर्थतन्त्रसम्बन्धी १३ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले पारित गरेका १३ बुँदाहरूमा जेन-जी आन्दोलनपछि अस्थिर बनेको आर्थिक सुशासन र सुरक्षामा सरकारले प्रत्याभूति दिलाउनुपर्ने, लेखापरीक्षण प्रणालीलाई उत्कृष्ट गुणस्तरको बनाउनुपर्नेलगायत छन् । विशेष प्रस्तावहरू १. २०८२ भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आर्थिक सुशासन ...
— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् । १०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको ...