— १८ वटा दल र समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी अहिले प्रदेश प्रदेशमा सभा गर्दै हिँडिरहेको छ । तर एकता घोषणाको एक महिनासम्म पार्टीको नेतृत्व र संगठनको प्रारूपबारे पार्टीले निश्चित बाटो तय गर्न सकेको छैन ।
किनभने पार्टीमा यति धेरै शीर्ष नेताको लर्को छ कि कसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नै पार्टीका लागि टाउको दुखाइ हुने देखिइसकेको छ ।
गत कात्तिक १९ गते पुष्पकमल दाहाललाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक बनाएर एकताको घोषणा भएको थियो – नेपाली कम्युनिष्ट पार्टीको । पार्टीमा अहिलेसम्म १८ वटा दल र समूह समाहित भइसकेका छन् । पार्टी घोषणासँगै कार्यक्रम र सभामा व्यस्त यो दल निर्वाचन प्रयोजनका लागि दर्ता पनि भइसक्यो । तर पार्टीको नेतृत्वको प्रारूप र संगठनका विषयमा भने कुनै टुंगो लागेको छैन ।
नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरुको व्यवस्थापन गर्न चुनौती भएको बताए । ‘मुख्य नेतृत्वमा समस्या छैन । तर अरु नेताको मर्यादाक्रमको सन्तुलन मिलाउन मिहिनेत गर्नुपर्ने छ,’ उनले भने ।
नेकपाका नेता गंगालाल तुलाधरले वरिष्ठ नेताको वरीयता टुंगिइसकेको बताए । अर्का नेता चिरन पुनले एकतामा आएका पार्टीको छिट्टै समायोजन हुने बताए । पार्टीमा समाहित सबै दल र समूहमा जे समस्या थिए, एकतापछिको दलमा पनि त्यही समस्या देखिएको छ – पार्टीको नेतृत्व । नयाँ पार्टीमा कुन नेतालाई कहाँ व्यवस्थापन गर्ने भन्ने अन्योल छ । १८ वटै पार्टीका शीर्ष नेतासहित वडास्तरसम्म पनि नेता कार्यकर्ता व्यवस्थापन गर्न चुनौती भएपछि संगठन निर्माण र विस्तार विलम्ब भएको छ ।
नेकपाले संगठन कस्तो बनाउने भन्ने प्रारम्भिक सहमति भने गरिसकेको छ । महाधिवेशनसम्मका लागि संयोजक–सहसंयोजकसहित केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय सचिवालय, राजनीतिक समिति र महाधिवेशन आयोजक समिति बनाउने गरी छलफल गरिरहेको भए पनि कति संख्यामा नेताहरू समितिमा अटाउने भन्नेमा दलमा कुरा मिलेको छैन ।
मुख्य त पूर्वनेकपा एकीकृत समाजवादीका नेताहरू व्यवस्थापनमा चुनौती छ । दुई पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाललगायत वामदेव गौतम र भीम रावलसमेतलाई व्यवस्थापन गर्न सक्छ । उच्चस्तरको समितिमा पूर्वनेकपा एकीकृत समाजवादीका नेताहरूको वर्चस्व हुने डरले पनि छलफलले निचोड नलिएको बुझिएको छ ।
तर पार्टीले भने आक्रामक रूपमा एकता सन्देश बढाइरहेको छ । कर्णाली र बागमती प्रदेशबाहेक सबै प्रदेशमा एकता सभा गर्नुका साथसाथै नेता कार्यकर्तासाग भेटघाट बाक्लो बनाएको छ ।