: नेपाली सेनाले रसियामा बनेको एमआई १७ हेलिकोप्टर मर्मतका लागि प्रक्रिया अघि बढाएको छ। जंगी अड्डाले उक्त हेलिकोप्टर मर्मतका लागि रसिया पठाउने तयारी गरेको हो।
रसियाली कम्पनीले नोभेम्बर पहिलो साता औपचारिक पत्र पठाएरै प्रस्ताव गरेपछि सेनाले हेलिकोप्टर मस्को पठाउने प्रारम्भिक तयारी गरेको छ। त्यसका लागि जंगी अड्डाका केही उच्च अधिकारीहरू लागिपरेका छन्। केही जर्नेलहरू रसियन कम्पनी र बिचौलियाको आर्थिक प्रलोभनमा परेको हुनसक्ने स्रोतले बताएको छ।
औपचारिक पत्र पाएपछि जंगी अड्डा एनए०५७ नम्बर कल साइन भएको हेलिकोप्टर मस्को पठाउने तयारीमा जुटेको सैनिक स्रोतले बताएको छ।
रसियालाई अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीका कारण हेलिकोप्टर मर्मतका लागि मस्को पठाउन जंगी अड्डालाई सहज नभएको रक्षा मन्त्रालयका एक अधिकारीले अन्नपूर्णलाई बताए।
अमेरिकाको आर्थिक नाकाबन्दीका बाबजुद सेनाले हेलिकोप्टर मर्मतका लागि रसिया पठाउन गरेको तयारीप्रति आन्तरिकरूपमा जंगी अड्डाभित्रै विरोध हुन थालेको छ। सतहमा केही नदेखिए पनि सैन्य उच्च अधिकारीहरूबीच मस्को पठाउन हुने/नहुनेबारे आन्तरिक मतभेद् देखिएको सैन्य स्रोतले बताएको छ।
मर्मतका लागि हेलिकोप्टर मस्को पठाउन जंगी अड्डाभित्र र बाहिर बिचौलीयाहरू सक्रिय हुन थालेका छन्। स्मरण रहोस्, नेपाली सेनाका अन्य दुई हेलिकोप्टर विगत लामो समयदेखि भारतमा छन्। एउटाको मर्मत भइसकेको छ भने अर्को मर्मतकार्य भइरहेको छ। मर्मत भइसकेको हेलिकोप्टर समेत बिचौलिया र जंगी अड्डाभित्र कुरा नमिलेपछि सेनाले ल्याउन सकेको छैन।
जंगी अड्डालाई सोध्दा केही महिनाअघि नै हेलिकोप्टर बनिसकेको र अहिले ल्याउने प्रक्रियामा रहेको भन्दै थप जवाफ दिन चाहिँदैन। आर्थिक नाकाबन्दीपछि अमेरिकाले नेपालबाट कुनै पनि बहानामा पैसा रसिया नपुगोस् भन्ने चाहेको तर सेनाले हेलिकोप्टर मर्मतका लागि मस्को नै पठाउने तयारी गरेको सैनिक मुख्यालयका एक अधिकारीले अन्नपूर्णलाई बताए।
‘त्यसो गर्दा अमेरिका र नेपाली सेनाको सम्बन्धसमेत बिग्रिन सक्छ। सेनालाई दिँदै आएको आर्थिक सहायतामा समेत नकारात्मक प्रभाव पार्न सक्छ,’ उनले भने।
तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माको पालामा एआई १७ हेलिकोप्टरको दुईवटा मुख्य रोटर ब्लेड बिचौलियामार्फत ल्याउने तयारी गर्दा पश्चिमा मुलुकहरूले रसियासँगको आर्थिक कारोबारप्रति आपत्ति जनाएका थिए। पश्चिमा मुलुकहरूको दबाबले तत्कालीन् प्रधानसेनापति शर्मा रसियासँग आर्थिक कारोबार गर्नबाट पछि हटेका थिए।
अमेरिका र रसियाको सम्बन्ध अहिले चिसिएको छ। रसियासँग सम्बन्ध चिसिएका बेला नेपालले ऊसँगै व्यापार विस्तार गर्दा अमेरिकाले नेपाली सेनालाई गर्दै आएको सहयोगमा समेत गम्भीर असर पर्नसक्ने स्रोतले बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि मुलुक वा संस्थाले जानीजानी रसियासँग व्यापार विस्तार गरेमा अमेरिकाले उक्त मुलुक वा संस्थामाथि आर्थिक नाकाबन्दी लगाउने समेत तयारी गरिरहेका छन्।
केही सैनिक अधिकारीहरूले तेस्रो मुलुकको कुनै अमुक कम्पनीलाई बीचमा राखेर रसियाली एक कम्पनीसँग सम्झौता गर्ने तयारी गरेको छ।
रसियाको कम्पनीसँग सिधै सम्झौता गर्दा अप्ठ्यारो पर्नसक्ने भएपछि केही सैनिक अधिकारीहरूले बिचौलियाको प्रभावमा परी तेस्रो मुलुकको कम्पनीलाई अघि सार्नेबारे समेत छलफल चलाएका छन्। तेस्रो मुलुकको कम्पनीमा पैसा गएको जस्तो देखाउन लागि केही सैनिक अधिकारीहरूले उक्त रणनीति अपनाएका हुन्। तर, त्यसो गरे पनि सेनाले हेलिकोप्टर मर्मतका लागि पठाउने पैसा अन्ततः रसिया नै पुग्ने जानकारहरू बताउँछन्।
कुनै पनि मुलुकको सरकारी कम्पनीसँग सम्बन्धित मुलुकको दूतावासको समन्वयमा जीटुजी गर्न सकिने भए पनि तेस्रो मुलुकको कम्पनीलाई बीचमा राखेर कारोबार गर्न नमिल्ने उनीहरूको तर्क छ।
देश आर्थिक संकटमा परेका बेला नेपाली रुपैयाँ झण्डै एक अर्ब बढी रकम खर्चेर हेलिकोप्टक मर्मत गर्न खोज्नु अर्थपूर्ण नदेखिएको जंगी अड्डाकै सैनिक अधिकारीहरू बताउँछन्। मर्मतका लागि छुट्याइएको रकममा ३०/४० करोड थप्दा नयाँ हेलिकोप्टर नै खरिद गर्न सकिने जानकारहरूको दाबी छ।
आर्थिक संकटका बेला मर्मतका नाममा अर्बौं खर्च गर्नुको सट्टा केही रकम खर्चिएर हेलिकोप्टरको ‘क्यालेण्डर लाइफ’ बढाउन सकिने विज्ञहरूले सुझाव दिएका छन्। क्यालेण्डर लाइफ बढाउँदा पैसा जोगिने र केही वर्ष हेलिकोप्टर उडान गर्न पनि सकिने विज्ञहरूको तर्क छ। क्यालेण्डर लाइफ बढाउँदा बढीमा दुई करोडसम्म लाग्नसक्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले दाबी गरेका छन्।