: कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा लागुऔषधको अवैध कारोबार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले सोमबार राति नेपाल भित्राएको प्रतिबन्धित लागुऔषधसहित सुनसरी, झापा र मोरङबाट उनीहरूलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले बताएका छन्।
सुनसरीको धरानबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ। धरानको अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको टोलीले चेकजाँचका क्रममा को १ ह ७७२८ नम्बरको अटोका चालक धरान–१५ बस्ने लाक्पा दोर्जे तामाङ र सो अटोमा सवार धरान–४ की प्रमिला राईलाई लागुऔषधसहित पक्राउ गरिएको एसएसपी पोखरेलले बताए। दु जनाको साथबाट प्रहरीले प्रतिबन्धित औषधि ट्रामोल ११० क्याप्सुल र स्पास्पेन ११० ट्याब्लेट बरामद गरेको छ।
कारोबारमा अन्य व्यक्तिको संलग्नता रहेको आशंकामा प्रहरीले अनुसन्धान विस्तार गर्दा धरान–८ बस्ने ६६ वर्षीय टेकबहादुर तामाङलाई समेत पक्राउ गरेको छ। उनको घर कोठामा खोजतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ। उनको घरबाट ट्रामोल १ हजार २० क्याप्सुल, स्पास्पेन १ हजार १० ट्याब्लेट तथा नगद १ लाख ४७ हजार ६ सय रुपैयाँ बरामद गरिएको एसएसपी पोखरेलले बताए।
झापाको कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपाल फर्किरहेका दमक–१ का रोशन भुजेललाई चेकजाँचका क्रममा १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। मोरङको पथरी प्रहरीले उर्लाबारी–३ का पंकज पोखरेललाई चेकजाँचका क्रममा ६१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको एसएसपी पोखरेलले बताए।
पक्राउ परेका सबै जना विरुद्ध आवश्यक कानुनी प्रक्रिया थालेको प्रहरीले जानकारी दिएको छ। सीमा क्षेत्रमा प्रहरीले दैनिक निगरानी बढाएको भएपनि लागुऔषध तस्करी रोक्न पर्याप्त नबनेका कारण अवैध लागुऔषध नियन्त्रण गम्भीर चुनौती बनेको छ।