— धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुरमा क्रिकेट रंगशाला निर्माण गर्दा लागेको ऋण रकम भुक्तानीका विषयमा मंगलबार भरतपुर महानगरपालिकाको टोलीले काठमाडौंमा खेलकुद मन्त्री बब्लु गुप्तासँग छलफल गरेको छ ।
फाउन्डेसन र महानगरबीच २०७५ माघ १६ मा भएको सहमतिअनुसार रामपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको निर्माण सुरू भएको थियो । फाउन्डेसनले आर्थिक स्रोत जुटाएर महानगरले उपलब्ध गराएको जग्गामा रंगशाला बनाउने सहमति थियो ।
तर आर्थिक स्रोत जुट्न सम्भव नभएको र धेरै ऋण लागेको भन्दै फाउन्डेसन रंगशाला निर्माणबाट अलग भएपछि महानगरले रंगशाला निर्माणको जिम्मा लिएको छ । त्यो बेला फाउन्डेसनलाई लागेको ऋण १८ करोड रूपैयाँ रहे पनि संघीय सरकारले फाउन्डेसनको ऋण चुक्ता गर्नका लागि महानगरपालिकालाई १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ । सिर्जित सम्पत्त्ति खरिद शीर्षकमा आएको सो रकम भुक्तान गर्न कानुनी आधार नभएको महानगरले जिकिर गर्दै आएको छ ।
'भुक्तानीको कानुनी आधार र विधिका बारेमा छलफल गर्न महानगरको टोली काठमाडौं आएको हो,' महानगर मेयर रेनु दाहालले भनिन् । भेटमा भएको छलफलमा खेलकुदमन्त्री गुप्ताले मन्त्रालयमा आन्तरिक छलफल गरेर भुक्तानी विधि निकाल्ने मनसाय व्यक्त गरेको मेयर दाहालले बताइन् ।
महानगरको टोलीले मुख्य सचिव सुमनराज अर्यालसँग पनि छलफल गरेको छ । महानगरले सिधै फाउन्डेसनले अनुदानस्वरूप बजेट उपलब्ध गराए सहज हुने धारणा राख्दै आएको छ ।
'हामीले प्रधानमन्त्रीसहित सरोकारवालाहरूको संयुक्त बैठक राखौं र उपाए खोजौं पनि भन्यौं । उहाँहरूले त्यसो नगरौं उपाय निकालौंला भन्नु भएको छ । त्यसैले हामी आशावादी भएका छौं,' मेयर दाहालले भनिन् ।
अहिलेको अवस्थामा फाउन्डेसनलाई ऋण रकम भुक्तानीका लागि कानुनी आधार टेक्ने विधि र नजिर नभएको हुँदा अफ्ठ्यारो परेको सबैले स्वीकार गरेको हुँदा केही उपाय पक्कै निस्कने उनले बताइन् । 'संघीय सरकारले हामीलाई बजेट उपलब्ध गराएपछि कार्यन्वयन किन भएन भनेर हामीमाथि प्रश्न उठेको छ । तर यो विषय विद्यमान ऐन नियममा प्रष्ट नभएको हुँदा अफ्ठ्यारो परेको बुझ्नेहरूले बुझेका छन् । हामी यही अफ्ठ्यारो फुकाउने उद्देश्यले आएका हौं,' मेयर दाहालले भनिन् ।
मेयर दाहालसँगै उपमेयर चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल पनि भेटघाटमा सहभागी थिए । खेलकुदमन्त्री गुप्ता र मुख्य सचिव अर्यालसँग विस्तृत र अर्थ मन्त्रालयका सचिवसँग पनि संक्षिप्त कुराकानी भएको दाहालले जानकारी दिइन् ।