— एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताएका छन् । एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रममा सचिव विष्टले न्यूनतम विचार, कार्यक्रम, सिद्धान्तसमेत नमिल्ने शक्तिहरूसँग मिलेर पनि एमालेले सरकार बनाएको बताएका हुन् ।
१०औँ महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौँ, जबजको मार्ग निर्देशनमा समाजबादको आधार तयार गरौँ’ भन्ने नाराविपरीत एमालेले काम गरेको उनको भनाइ छ ।
२०७९ को निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राप्रपासँग निर्वाचनका लागि गठबन्धन गरेर अवसरवादलाई अँगालो हालेको विष्टले बताए । सरकार निर्माणमा पनि न्यूनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, कांग्रेस, माओवादी, मधेशवादी, रास्वपा सबैसँग मिलेर बनाएको उनको भनाइ छ । सरकारमा जानका लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा देखापरेको उनले बताए ।
विष्टको भनाइ
१०औँ महाधिवेशनले मूल नारा दिएको थियो—दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतावादलाई परास्त गरौँ, जबजको मार्गनिर्देशनमा समाजवादको आधार तयार गरौँ । तर यसबीच २०७९ को निर्वाचनलाई हेर्दा हामीले राप्रपा—जसले संवैधानिक राजसंस्थालाई मूल्य र मान्यता ठान्दछ—उसको औपचारिक घोषणापत्रमै उल्लेख गरेको दलसँग समेत निर्वाचन प्रयोजनका लागि गठबन्धन गर्ने अवसरवाद देखायौँ ।
सरकार निर्माण गर्दा न्यूनतम सहमतिको आधारमा, न्यूनतम कार्यक्रमका आधारमा सरकार बनाउने कि ? वैचारिक निकटताको आधारमा सरकार बनाउने कि ? वा राष्ट्रिय राजनीतिमा देखापरेका मुख्य मुद्दाहरूलाई सम्बोधन गर्ने आधारभूत सहमतिको आधारमा सरकार निर्माण गर्ने कि ?—ती कुनै पनि पक्षमा हामीले स्पष्ट ध्यान दिन सकेनौँ ।
कहिले राप्रपासँग, कहिले कांग्रेससँग, कहिले माओवादीसँग, कहिले मधेसवादी दलहरूसँग, त कहिले रास्वपासँग—अर्थात् सरकारमा जाने उद्देश्यका लागि जो–कसैसँग मिल्ने प्रवृत्तिहरू हाम्रो आन्दोलनमा देखापरे । यो दक्षिणपन्थी अवसरवादको भद्दा उदाहरण हो । यसको हामीले गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ ।