मुख्य समाचार
जर्मनीमा सिपमूलक प्रशिक्षणसँगै कामका लागि जाने नेपालीलाई श्रम स्वीकृतिमार्फत पठाउने तयारी
जर्मनीमा सिपमूलक प्रशिक्षणसँगै कामका लागि जाने नेपालीलाई श्रम स्वीकृतिमार्फत पठाउने तयारी

। जर्मनीमा सिपमूलक प्रशिक्षणसँगै कामका लागि जाने नेपालीलाई श्रम स्वीकृतिमार्फत पठाउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति दिएर मात्रै पठाउने तयारी गरेको हो ।

हाल सिपमूलक प्रशिक्षणसँगै प्रशिक्षार्थी/व्यवसायिक काममा जाने नेपाली विद्यार्थीहरूको भिसामा समस्या हुने गरेको छ ।




शिक्षा मन्त्रालयले श्रमिकलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन आनाकानी गर्दै आएको छ । श्रम मन्त्रालयले समेत विद्यार्थी भएकालाई श्रम स्वीकृति दिएर पठाउन सकिरहेको छैन, जसले गर्दा दुई वर्ष नेपालमा जर्मन भाषा पढेर अध्ययन तथा कामको लागि जाने नेपालीहरू समस्यामा पर्दै आएका छन् ।

नेपालबाट भाषा पढेर हरेक वर्ष ५ सयको हाराहारीमा नेपाली विद्यार्थी जर्मनी जाने गरेका छन् । उनीहरूलाई शिक्षा मन्त्रालयले श्रमिक भनेर एनओसी दिन अस्वीकार गर्दै आएको छ, भने श्रम मन्त्रालय विद्यार्थी भनेर श्रम स्वीकृति दिन अस्वीकार गर्दै आएको छ ।




जर्मनीको भिसा प्राप्त गरी कामका लागि जाने क्रममा नेपालको अध्यागमनले एनओसी माग्ने गरेको छ । यस प्रकारको काममा जर्मन कानुन अनुसार वर्किङ भिसा नै पाउने नेपालस्थित जर्मन राजदूतावासले जनाएको थियो ।

अब भने नेपाली कामदारको सुरक्षा, सुविधा र कल्याणलाई ध्यान दिई नीतिगत निर्णयगरी श्रम स्वीकृति प्रदान गरेर मात्रै पठाउने मन्त्रालयको तयारी छ ।

श्रम मन्त्रालयले २०८२ साउन ४ गते सचिवस्तरीय निर्णयबाट श्रम स्वीकृतिको लागि आवश्यक अन्य प्रक्रिया अगाडि बढाउनेगरी परराष्ट्र, कानुन र शिक्षा मन्त्रालयसँग राय/सुझाव माग गरेको थियो । तर, शिक्षा मन्त्रालयले हालसम्म त्यस विषयमा राय सुझाव नदिएको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले श्रम स्वीकृति दिएर पठाउने विषयमा शिक्षा मन्त्रालयसँग राय सुझाव माग गरिएको र हालसम्म प्राप्त नभएको बताए ।

भाषाको नाममा ठगिँदै विद्यार्थी

जर्मनीले हरेक वर्ष भाषा परीक्षामार्फत ५ सय जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने गरेको छ । विभिन्न ५ तहमा जर्मन भाषा पढेर परीक्षा दिनुपर्ने हुन्छ । त्यसका लागि ए–१ बिगिनर, ए–२ इलेमेन्टरी, बी–१ इन्टरमिडिएट, बी–२ अप्पर इन्टरमिडिएट, सी–१ एडभान्स गरेर ५ तहको भाषा पढ्नुपर्ने हुन्छ ।

एउटा तह पढिसकेपछि परीक्षा दिनुपर्ने हुन्छ । उक्त तहको भाषा परीक्षामा पास भएपछि अर्को तहको भाषा पढ्नुपर्ने र त्यसको समेत परीक्षा दिएर पास भएपछि मात्रै जर्मनीमा प्रशिक्षार्थी कामदारको रूपमा जान पाउँछन् । तर, जर्मन भाषा पढाउने भनेर खुलेका इन्स्ट्यिुटले विद्यार्थीहरूबाट मोटो रकम असुल्ने गरेका छन् ।

काठमाडौंमा जर्मनी भाषा परीक्षाको अफिसियल पार्टनर गोथे जेन्टरुम हो । जसको बोर्ड अफ डाइरेक्टरमा ९ जना छन् । नेपालका लागि जर्मन राजदूतसहित ५ जना विदेशी छन् भने अध्यक्ष प्रा.डा रमेश कुमार मास्केसहित ४ जना नेपाली छन्।

थापाथलीमा रहेको गोथेले ए–१ कोर्षको १६ हजार ५ सय रूपैयाँ शुल्क लिने गरेको छ । त्यस्तै थप कोर्षहरूको समेत सोही अनुसारको शुल्क लिने गरेको छ । दुई वर्षमा एक जना विद्यार्थीले सबै कोर्ष सक्नका लागि मात्रै एकदेखि डेढ लाख रूपैयाँ खर्च गर्छन् ।

अन्य संस्थाले पनि जर्मनी भाषाको कोर्षका लागि सोही अनुपातमा शुल्क लिने गरेका छन् । दुई वर्ष लगातार पढेर जर्मनी जाने सपना बुनिरहेकाहरूको सपना त्यतिबेला चकनाचुर हुन्छ, जतिबेला परीक्षाको लागि अनलाइन आवेदन नै दिन पाउँदैनन् ।

जर्मन भाषा परीक्षा समेत गोथेमार्फत हुने गरेको छ । वर्षमा तोकिएको ५ सयको कोटामा अधिकांश विद्यार्थी यही पढेकाले पाउँछन् ।

त्यहाँ पढ्ने बाहेकका विद्यार्थीले अनलाइन फारम भर्नका लागि कोटा समेत नपाउने गरेका छन् ।

गोथेमै पढ्ने विद्यार्थीले समेत परीक्षा दिन पाउँदैनन् । बी–२ कोर्ष पढेर परीक्षा दिन नपाएको एक विद्यार्थीले बताए । परीक्षाको मिति नपाएपछि धेरै विद्यार्थी भारत जाने गरेको उनको भनाइ छ ।

चाबहिलको एक इन्स्ट्यिुटमा पढ्ने एक विद्यार्थीले गोथेमा पढ्ने बाहेकका विद्यार्थीले परीक्षाको लागि मिति पाउन निकै गाह्रो रहेको बताए ।

‘गोथेमा पढ्न शुल्क एकदमै महँगो छ । अझ कोटाका कारण पढ्नै पाउन मुस्किल हुन्छ’ ती विद्यार्थीले भने ‘त्यो बाहेक अन्य संस्थामा पढ्ने हामीले त परीक्षाको मिति पाउँदैनौं ।’

दुई वर्षसम्म पढेर परीक्षाका लागि नै समस्या हुने भएपछि धेरैलाई समस्या परिरहेको ती विद्यार्थीको भनाइ छ ।

‘हजारौं विद्यार्थीले एकातिर दुई वर्षको समय खेर फालिरहेका छन्, अर्कोतिर डेढ लाखसम्म खर्च गरिरहेका छन् । परीक्षा नै दिन नपाउनेभएपछि किन पढाउनु ? किन परीक्षा लिनु ?,’ ती विद्यार्थीले आक्रोश पोखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन सुरु हुनु केही दिनअघि जनकपुर बोल्ट्सका एक जना खेलाडीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘रुबी ठाकुर’ नामको आईडीबाट फोन नम्बर माग्दै म्यासेज आयो । ‘नम्बर अथवा तिमी खाली भएका बेला हामी भेट्न सक्छौं ? हामी दुवै जनालाई फाइदा हुने कुरा छलफल गरौं,’ म्यासेजमा भनिएको थियो । खेलाडीले कस्तोखाले स्पोन्सर हो भन्ने सोच्दै ...
— नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ ...
— पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा पूरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । दुर्घटनामा घटनास्थलमै मृत्यु हुनेहरु निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर ...
— रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकाले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताए । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय राजनीति प्रशिक्षण कार्यक्रममा अर्यालले अहिलेको सरकार यस विषयमा मौन रहेको बताएका हुन् । 'हामीले मानेको जनताको सरकार, नागरिकको सरकार किन मौन छ,' उनले भने, 'तत्कालीन सरकारले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साधेर कारागार ...
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सहमतिबाटै संवैधानिक राजसंस्था पुनर्स्थापित हुनुपर्ने स्पष्ट पारेको छ। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमितिले संवैधानिक राजसंस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट नभई राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। राजसंस्थाको विषयलाई अल्पमत बहुमतबाट निर्णय गर्न थाले झन् जटिलताहरू पैदा गर्ने खतरा हुने उनले ...