। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीमप्रसाद आचार्यले भ्रष्टाचार विरुद्धको मुद्दाबाट सफाइ पाउने बताएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता आचार्यसहित ५५ जनाविरुद्ध विशेष अअदालतमा मुद्दा दायर गरेको छ । त्यसप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘चरित्र हत्या गर्ने, बदनाम गर्ने मनसायका साथ उहाँ ( भीमप्रसाद आचार्य) का विरुद्ध, उहाँको नाम समेत हालेर मुद्दा चलाइएको छ । यो घनघोर अन्याय हो,’ ओलीले भनेका छन्, ‘उहाँले पछि सफाइ त पाइहाल्नुहुन्छ, त्यसमा कुनै समस्या छैन । उहाँ निर्दोष हो । उहाँले निर्दोशिताको प्रमाणपत्र पाउनुहुन्छ ।’
बिहीबार पार्टी मुख्यालय च्यासलमा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना भाग–२ कृति लोकार्पण समारोह’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले भनेका छन्, ‘उहाँले सफाइ पाउनुहुन्छ । तर, अहिले त डाम्यो नि । अहिले गर्न खोजेको डाम्न हो । मान्छेले दोषी भनेर बुझिहाल्यो नि । उहाँको प्रतिष्ठामाथि हमला गरिदिइहाल्यो नि । चरित्र हत्या गरिहाल्यो नि ।’
आचार्यलाई त्यत्तिकै फसाउन खोजिएको ओलीको टिप्पणी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएको बेला भ्रष्टाचार गरेको अभियोग लागेको छ । मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्षका हैसियतले उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
आचार्य सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री थिए ।