। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो ।
लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो ।
विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावरप्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।
६-३ र ३०-४ को अवस्थामा पुगेको विराटनगरका लागि हिजलेट र डे लाङले २८ रनको साझेदारी गरेका थिए । तर, यो साझेदारी ब्रेक भएपछि विराटनगरको ब्याटिङ कोल्याप्स भयो ।
लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए । र, अभिशेष गौतमले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । जेजे स्मिथले पनि २ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
टिमको स्कोर ८ हुँदा दिनेश अधिकारी व्यक्तिगत १ रनमा आउट सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहितले ३० बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३४ रन योगदान गरे ।
लगातार दोस्रो खेलमा ओपनिङ गरेका दिनशे अधिकारीले राम्रो ब्याटिङ गर्न सकेनन् । यस्तै विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गरी २९ रन जोडे ।
सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट हुँदा दिलीपन नाथ पनि १ रन बनाएर आउट भए । शेर मल्लले ७ रन जोडे ।
पहिलो १० ओभरमा ६९/१ को अवस्थामा रहेको लुम्बिनीले त्यसपछिको १० ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन । पछिल्लो १० ओभरमा लुम्बिनीले ६५ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।
विराटनगरका बलरहरू विशेष गरी सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै नियमित विकेट लिंदा लुम्बिनीको इनिङ्स दबाबमा परेको थियो ।
सुभाषले ४ ओभरमा १६ रन खर्चेर ३ केट लिए । प्रतिशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।