। रणवीर सिंह स्टारर बलिउड फिल्म ‘धुरन्धर’ ले अहिले भारतसहित अन्तर्राष्ट्रिय बजारमा पनि उछाल कमाइ गरिरहेको छ । नेपाली बक्सअफिसमा पनि यसको कमाइ उत्साहजनक देखिन्छ ।
भारतीय बक्सअफिसमा यसले छैटौं दिनसम्म १८८.६० करोड भारु कमाएको छ । यस सप्ताहन्तमा फिल्मले २०० करोड भारुको आँकडा पार गर्दै आफूलाई ब्लकबस्टरको रुपमा उभ्याउने निश्चित छ ।
शुक्रबार २८.६० करोड भारुको ओपनिङ गरेको फिल्मले शनिबार ३३.१० करोड भारु, आइतबार ४४.८० करोड भारु, सोमबार २४.३० करोड भारु, मंगलबार २८.६० करोड भारु र बुधबार २९.२० करोड भारु कमाएको छ ।
बलिउड मात्र होइन, अहिले भारतीय राजनीतिज्ञबीच पनि यसको चर्चा गर्माएको छ । एक भारतीय जासूसको कथा पेश गर्ने यो फिल्मले पाकिस्तानभित्र घुसेर बदला लिने भारतीय गुप्तचरको कथा पेश गर्छ ।
भारतीय आँखाबाट भनिएको फिल्ममा पाकिस्तानभित्रको राजनीति, भूमिगत संसार र डनगिरीको कथा भनिएको छ । पाकिस्तानभित्र अलग राज्य माग गरिरहेको बलोचिस्तानको कथा पनि यसभित्र छ । राजनीतिक कथावस्तुमा भनिएको सुन्दर र मर्मस्पर्शी कथाको चौतर्फी प्रशंसा भैरहेको छ ।
मध्यपूर्वमा प्रतिबन्ध
यो फिल्मलाई मध्यपूर्वका मुलुकहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र युएईमा भने प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी विरोधी कथावस्तुको फिल्म भएको कारण देखाउँदै ती देशले प्रदर्शन रोकेका हुन् ।
मध्यपूर्वका ती मुलुकको कूटनीतिक सम्बन्ध इस्लामिक मुलुक पाकिस्तानसँग हार्दिक छ । निर्माताले प्रदर्शनका लागि प्रयास गरेपनि ती मुलुकले फिल्मको थिमलाई नरुचाएको जनाइएको छ ।
सन् २०२४ मा ऋतिक रोशन स्टारर फिल्म ‘फाइटर’ लाई युएईबाहेकका खाडी देशले रोकेका थिए । अक्षय कुमारको ‘स्काइ फोर्स’ र जोन अब्राहमको ‘द डिप्लोम्याट’लाई पनि रोक लगाइएको थियो ।
साथै, आर्टिकल ३७०, टाइगर ३ र कश्मिर फाइल्सजस्ता चर्चित भारतीय फिल्मलाई पनि मध्यपूर्वका मुलुकले प्रदर्शनमा प्रतिबन्ध लगाएका थिए ।