: कोशी प्रदेशमा अव्यवस्थित रूपमा दौडिरहेका सीटी सफारी (ई–रिक्सा)लाई नियन्त्रण, अनुशासन र सुरक्षा दायरामा ल्याउन ‘सुरक्षित चालक’ अभियान सञ्चालनको तयारी गरिएको छ।
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशभर करिब ६० हजार हाराहारीमा सीटी सफारी छन्। यस्ता साना विद्युतीय सवारीसाधनका अधिकांश चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छैन। कानुनी दायराबाहिरै रहेर सहरी क्षेत्रमा जथाभाबी सफारी सञ्चालन गरिँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनिरहेको छ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सीटी सफारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर सुधारका लागि नयाँ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए। २ साताअघि मात्रै प्रदेश प्रहरी प्रमुखका रूपमा हाजिर भएका डीआईजी घिमिरेले बिहीबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकारसँगको परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रममा सीटी सफारी लक्षित ‘सुरक्षित चालक’ अभियान सञ्चालनको तयारी तीव्र पारिएको बताए।
उनका अनुसार सफारी चालकलाई छुट्टै पोसाकको व्यवस्था गर्ने तयारी गरिएको छ। ‘चालकलाई ट्राफिक अनुशासनमा राख्न र यात्रु सुरक्षातर्फ उन्मुख गराउन चालकलाई पहिचानसहितको पोसाक (टी–सर्ट) अनिवार्य गरिँदै छ,’ घिमिरेले भने, ‘पोसाक लगाएका चालकहरूलाई मात्र सडकमा चल्न दिइने र यात्रुलाई पनि त्यही सफारी रोज्न आग्रह गरिने छ।’
घिमिरेले सफारी चालकलाई आवश्यक मापदण्ड अनुसार छनोट गरेर प्रशिक्षण, अभिमुखीकरण तथा चेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए। नियम नमान्ने, जथाभावी गुडाइने र असावधानीपूर्वक चलाइने सफारीका कारण बढ्दो दुर्घटना जोखिम र सडक अव्यवस्थासँगै भिड व्यवस्थापनमा चुनौती थपिँदै गएकाले ‘सुरक्षित चालक’ अभियान तत्काल सुरु गरिने उनको भनाइ छ।
विराटनगरलगायतका सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापन दिनप्रतिदिन कठिन बन्दै गएको स्वीकार गर्दै डीआईजी घिमिरेले बढ्दो सवारी चाप, कमजोर अनुगमन र नियम पालना नगर्ने बानीले समस्या झनै जटिल बनेको बताए। नागरिकले तत्काल महसुस गर्न सक्ने गरी ट्राफिक सुधार अभियानलाई पहिलो चरणमै प्रभावकारी बनाइने दाबी उनले गरे।