: बर्दियाको राजापुर नगरपालिका-४ स्थित हमार थारु घर रेष्टुरेण्टमा भएको गोली काण्डका मुख्य आरोपितसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत आइतबार राति ८ बजे घाँटीमा गोली लागी घाइते भएका दाङको तुल्सीपुर उपमहानगरपालिका-५ घर भै राजापुर गाउँमा रहेको डिल्ली चौधरीको पोल्ट्री फममा काम गर्दै आएका अन्दाजी १९ वर्षीय निरज चौधरीको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचारका क्रममा मृत्यु भएपछि घटना बाहिरिएको थियो।
प्रहरीले घटनामा संलग्न भएको मुख्य आरोपमा हमार थारु घर रेष्टुरेण्टका ७० प्रतिशत शेयर होल्डर दाङको तुल्सीपुर उपमहानगरपालिका-६ बस्ने वर्ष ५० का महाविर चौधरीलाई घटना भएको ५ दिनमा कैलालीको कैलारी गाउँपालिका-२ स्थित मझरा गाउँबाट नियन्त्रणमा लिएको छ।
रेष्टुरेण्टका सञ्चालक बर्दियाको राजापुर नगरपालिका-४ निवासी ५० वर्षीय बुद्धि बहादुर थारु र उनका २२ वर्षीय छोरा राहुल थारुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए।
प्रहरीले कैलालीको कैलारी गाउँपालिका-५ स्थित रुइनीको झाँडीमा लुकाई राखेको अवस्थामा १ थान पेस्तोल, १ थान म्यागजिन र २ थान गोली बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट पिन्दीमा केएफ ७ दशमलव ६५ लेखेको गोलीको खोका १ थान फेला पारेको जनाएको छ।
फरार चौधरीले आफ्नो मोटरसाइकल छाडी होटल सञ्चालकका छोरा राहुल थारुको सु.प.प्र.–०१०० प ४९१३ नम्बरको रातो रंगको एफजेड १९ मोटरसाइकल चढी फरार भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। आरोपित चौधरीले घटना स्विकारेका छन्।