: विराटनगरबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना सुनसरीका हुन्।
उनीहरु बिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकबाट पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो।
मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको जानकारी दिइन्। उनका अनुसार प्रहरी पुग्दा दुवै जना सडक छेउमा मोटरसाइकल रोकेर शंकास्पद अवस्थामा गफ गरिरहेका थिए। पक्राउ परेकामध्ये हबिबले प्रयोग गरेको को २७ प ६४८१ र आलमले प्रयोग गरेको बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी चुँडालले बताइन्।