— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस ताप्लेजुङले प्रत्यक्षतर्फ जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ तुम्याहाङको एकल नाम सिफारिस भएको हो। समानुपातिक र राष्ट्रियसभाका लागि भने १३ जनाको नाम सिफारिस भएको छ ।
नेपाल विद्यार्थी संघदेखि राजनीति प्रारम्भ गरेका तुम्याहाङ कांग्रेसमा सभापति शेरबहादुर देउवानिकट हुन् । पार्टी प्रवक्ता विश्वराज नाल्बुका अनुसार मंसिर २५ गते बसेको संयुक्त बैठक र २६ गतेको जिल्ला कार्यसमितिको बैठकले तुम्याहाङको नाम सिफारिस गरेको हो ।
समानुपातिकतर्फ खुल्लामा कोशी प्रदेशका पूर्वमन्त्री प्रताप प्रकाश हाङ्गाम र जिल्ला कार्य समितिका पूर्वसभापति केशवप्रसाद दाहाल तथा महिलामा मेरिङदेन गाउँपालिका–५ थुकिमाकी कल्पनादेवी सिटौलाको नाम सिफारिस गरिएको छ । राष्ट्रियसभाका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
खुल्लातर्फ मणि लामा, पदमसुन्दर पालुङ्वा, मात्रिकाप्रसाद शेर्पा, गीताकुमारी सेन्दाङ र बलबहादुर तामाङ तथा अपाङ्गता भएका व्यक्तिमा तिलप्रसाद सुब्बाको नाम सिफारिस गरिएको छ । महिलातर्फ लिलादेवी बोखिम, मातृकादेवी प्रसाईं कार्की, गीता चौहान र प्रमिला गुरुङको नाम सिफारिस गरिएको छ ।
विघटित प्रतिनिधिसभाकी सदस्य रहेकी बोखिम र गीताकुमारी सेन्दाङले भने आफूहरूको चाहनाविपरीत सिफारिस भएको बताएका छन् । बोखिमले आफू प्रत्यक्षतर्फको उम्मेदवार हुने बताएकी छन् भने सेन्दाङले प्रतिनिधिसभामा समानुपातिकमा चाहना रहेको बताएकी छन् । पार्टी प्रवक्ता नाल्बुले भने भेलाले सर्वसम्मत निर्णय गरेको बताए।