— नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए ।
'यो नयाँ पार्टी हैन, ७६ वर्षअघि कमरेड पुष्पलालले बनाउनुभएको पार्टी हो, विभाजन र विखण्डन हुँदै आएको पार्टी हो,' उनले भने, 'विभिन्न समस्या पार गरेर पनि हामीले परिवर्तन गर्न सकेनौं । सुधारवादको बाटोबाट हैन, हामी क्रान्तिकारी बाटोबाटमात्रै यो समाजवाद प्राप्त गर्ने छौं ।'
नेता खनालले महाधिवेशनमा सहभागी एमाले नेताकार्यकर्ताले पनि कम्यूनिष्ट शक्ति बनेर अघि बढ्न आवश्यक रहेको बताए ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले नयाँ बनेको पार्टीलाई भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर अघि बढ्न आवश्यक रहेको बताए । 'मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिनेछ, सुशासनलाई पहिलो प्राथमिकतामा राखौं,' उनले भने ।