— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिज्ञ धेरै भए पनि नेतृत्व-कौशलको कमी भएकाे बताएका छन् । शनिबार पोखरामा उज्यालो नेपाल पार्टीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘लिडर र पोलिटिसियनमा धेरै फरक छ । लिडरहरू चाहिँ देशको समृद्धिका लागि, देशको सुशासनका लागि, देशलाई परिवर्तन गर्नका लागि, देशको इकोनोमिक ट्रान्सफर्मेसन गर्नका लागि अगाडि बढ्ने हुन्छन्,’ उनले भने, ‘हाम्रोमा पोलिटिसियनहरू लिडर हुनै सकेनन् ।’
उनले राजनीतिक अस्थिरताको कारण आर्थिक रूपान्तरण नहुनु र सुशासन कायम नहुनु रहेको बताए । उनले भने, ‘अस्थिरता किन हुन्छ भने जबजब इकोनोमिक ट्रान्सफर्मेसन हुँदैन, आर्थिक क्रान्ति हुँदैन, आर्थिक समृद्धितर्फ अगाडि बढ्दैन र जब देशचाहिँ भ्रष्टाचारले थिलथिलो हुन्छ । सुशासन कायम हुन सक्दैन ।’
उनले सही व्यक्तिले सही समयमा नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए । ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम । सही समयमा हुनुपर्छ । सही समय, समय एकदमै महत्त्वपूर्ण छ । उमेर सबैभन्दा महत्त्वपूर्ण छ,’ उनले भने ।
सरकारी कार्यालयका लागि ठूल्ठूला भवन निर्माणमा खर्च गर्नुभन्दा जनताका लागि अत्यावश्यक पुल बनाउनुपर्नेमा उनको जोड थियो । उनले भाडामा सरकारी कार्यालय राखे पनि हुने तर जनताको आवतजावतमा समस्या भएका ठाउँमा पुल बनाउनु जरुरी रहेको तर्क गरे ।
सरकारी भवन निर्माणमा दुई खर्ब रुपैयाँभन्दा बढी खर्च भएको तर जनताले अत्यावश्यक पुलहरू नपाएको उनको गुनासो थियो । सरकारी कार्यालयमा अर्बौं खर्चनुभन्दा १५ वर्षदेखि नबनेका पुलमा लगानी गर्नुपर्ने उनले बताए । ‘ देशभरि पुलै छैन । कतै पनि पुल छैन । जनता आक्रोशित भइराखेका छन्,’ उनले भने, ‘ दुई खरबभन्दा बढी बिल्डिङमा पैसा लगाइएको छ, त्यो बिल्डिङ किन चाहियो ? भाडामा बसे हुँदैन सरकारी कार्यालय ?’
प्राथमिकता निर्धारणमा गम्भीर समस्या रहेको बताउँदै उनले अघिल्लो सरकारलाई लक्ष्य गर्दै भने, ‘प्रायोरिटी सेक्टर कहाँ हो ? प्रायोरिटी कुन क्षेत्रलाई दिनुपर्ने हो ? त्यो दिएको छ सरकारले ? त्यो प्रायोरिटी दिनुपर्यो ।’
उनले भ्यु टावर र अनावश्यक संरचना निर्माणमा पनि आपत्ति जनाए । ‘झापाको भ्यु टावर किन चाहियो ? अनि गाउँ–गाउँमा भ्यु टावर, डाँडा एउटा छ । त्यहाँ लगेर गाउँपालिकाले पनि भ्यु टावर बनाइराख्छ । डाँडाबाट देखिन्छ नि किन ?,’ उनले भने ।
उनले आफ्नो भ्रमणका क्रममा देखेको पुलको समस्या सुनाउँदै झापाको कन्काई पुलको उदाहरण दिए । ‘झापाको कन्काई पुलमा म पुगेँ । दुईवटा गाउँपालिका जोड्छ । हुलाकी राजमार्ग हो । त्यो नबनेर जनतालाई यति ठूलो मर्का छ । १०/१५ मिनेटमा आउन सक्ने वा आवागमन गर्न सक्ने ठाउँमा करिब दुई–तीन घण्टा लगाएर हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘१५ वर्षसम्म ठेक्का भएको काम न ठेक्का तोड्छ, न काम गर्छ ।’
कमला माईमा पनि १५ वर्षदेखि पुल नबनेको र जनता डुंगामा खोला पार गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । रौतहट र सर्लाहीको जिल्ला जोड्ने बागमती पुल पनि नबनेर जनताको घण्टौं समय खेर गइरहेको उनले जानकारी दिए ।
उनले विकास आयोजनामा जनताको प्राथमिकता हेर्नुपर्ने बताए । ‘कुन मान्छेलाई, कसलाई ठेक्का दिने, को मान्छेलाई काम दिने, आफ्नो मान्छेलाई काम दिने नाममा, बजेट जति जहाँ चाहियो त्यतै पठाउने । जनताले चाहेको ठाउँमा जनता रोइराछ, मरिराछ । दिँदैन, काम हुँदैन,’ उनले भने । उनले डेलिभरीको परिभाषा गर्दै भने, ‘डेलिभरी जनताले चाहेको ठाउँमा लगानी दिने, तत्काल सुविधा दिने, त्यही हो डेलिभरी ।’
भेलामा उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य कुशल गुरुङ, केन्द्रीय सदस्यहरू रिमा विश्वकर्मा, सुमी मोक्तान र पर्यटन व्यवसायी लक्की कार्की क्षेत्रीले बोलेका थिए