: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अहिलेको अवस्थामा संवैधानिक निकासको मार्ग निर्वाचन नै भएको बताएका छन्।
शनिबार भक्तपुरमा एमालेको महाधिवेशनको उद्घाटनमा शुभकामना मन्तव्य राख्दै खड्काले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसलाई खुला राख्दै संवैधानिक निकासको मार्ग निर्वाचन हुने कांग्रेसको विश्वास रहेको बताए। उनले निष्पक्ष भयरहित, शान्तिपूर्ण निर्वाचन गर्ने दायित्व सरकार र निर्वाचन आयोगको भएको जिकिर गरे।
खड्काले आन्दोलनका क्रममा कारागारबाट बाहिर निस्किएका कैदीबन्दी र सुरक्षाकर्मीबाट लुटिएका हजारौँ हतियारहरूका कारण नागरिकमा त्रास रहेकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए। सरकारका निर्णय र गतिविधिहरू शान्तिसुरक्षा कायममा नदेखिएको प्रति आफूहरू गम्भीर रहेको उनको भनाइ छ।
उनले राजनीतिक दलहरू एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए। मुख्य दलहरू कमजोर हुँदा निरंकुशता हाबी भएको र लोकतन्त्र कमजोर भएको इतिहास रहेकाले सबै दललाई एकताबद्ध गर्न एमालेले भूमिका खेल्नसक्नुपर्ने उनले बताए। उनले सर्वसम्मत विधिप्रक्रियाबाट एमालेको नेतृत्व चयन हुने विश्वास व्यक्त गरे।