: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ ।
आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको पुष्टि गरेको छ । सामूहिक गोलीकाण्डमा ४० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । साँझ करिब ७ बजेतिर अतिनै लोकप्रिय समुद्रीतटमा २ जना बन्दुकधारीले एक्कासि गोली चलाएका थिए । घटनास्थलबाट प्राप्त भिडियो फुटेजमा उनीहरू क्याम्पबेल परेडको दक्षिणी छेउमा रहेको पैदल पुलबाट गोली चलाइरहेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले धेरै मानिसलाई गोली लागेको पुष्टि गरेको छ ।
घटनास्थलमा २५ भन्दा बढी आपतकालीन स्रोत परिचालन गरिएका छन् । जसमा चिकित्सक टोली, एम्बुलेन्स, हेलिकप्टर र विशेष अपरेसन युनिटहरू समावेश छन् । प्रहरीले ठूलो संख्यामा रहेका मानिसहरूमाथि आक्रमण गर्नेहरूले पुलमा विस्फोटक पदार्थ लुकाएको आशंका व्यक्त गरेको छ । जुन बम हुन सक्ने अनुमान गर्दै सुरक्षाकर्मीहरूले खोजी भइरहेको जनाएका छन् । बन्दुकधारीमध्ये १ जनाको पहिचान भएको छ । उनी सिड्नीको दक्षिण–पश्चिमी क्षेत्र बोनिरिग निवासी व्यक्ति भएको बताइएको छ ।
घाइतेमा साना बालबालिका पनि रहेको बताइएको छ । सुरक्षा अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न वा आश्रय लिन आग्रह गरेका छन् । घाइतेहरूले बोन्डाइ बीचमा भएको सामूहिक गोलीकाण्डलाई ‘रक्तपात युक्त नरसंहार’ को प्रयास भनेका छन् । ‘म यहाँ मेरो परिवारसँग आएको थिएँ । यहाँ हानुक्का पर्वको उत्सव थियो । सयौं मानिस थिए । बालबालिका, वृद्धहरू, परिवारहरू रमाइरहेका थिए,’ त्यति बेलै गोली प्रहार भयो’ १
घाइतेले बताए ।
गोलीकाण्डपछि सर्वसाधारणको भागदौड मच्चिएको थियो । स्थिति अराजकतामा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चारैतिर गोलीको आवाज सुनिएकाले मानिसहरू भाग्दै लुक्न खोज्दै थिए । क्याम्पबेल परेडमा रहेको एउटा कारभित्र फेला परेका आकस्मिक रूपमा बनाइएका विस्फोटक उपकरणलाई बम डिस्पोजल दस्ताका विशेषज्ञहरूले सुरक्षित रूपमा हटाइसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि अस्पतालहरूमा पुर्याइएको छ । दुई जना प्रहरी पनि घाइते छन् । कम्तीमा ४० जना घाइतेलाई अस्पताल लगिएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । भयावह युक्त घटनाबारे संघीय प्रहरीले प्रधानमन्त्रीलाई जानकारी गराए लगत्तै राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको छ । साँझसम्म आक्रमणको लक्ष्य वा उद्देश्यबारे स्पष्ट जानकारी छैन ।
प्रधानमन्त्री एन्थोनी अल्बानीजले बोन्डाइ बीचमा भएको आक्रमण पीडादायी भएको बताएका छन् । ‘बोन्डाइका दृश्यहरू अत्यन्तै स्तब्ध पार्ने र पीडादायी छन् । प्रहरी र आपतकालीन सेवाहरू घटनास्थलमा ज्यान बचाउन अथक रूपमा काम गरिरहेका छन् । यस घटनाबाट प्रभावित प्रत्येक व्यक्तिप्रति मेरो गहिरो समवेदना छ’, प्रधानमन्त्री अल्बानीजले भने, ‘मैले संघीय प्रहरीका आयुक्त र न्यू साउथ वेल्सका मुख्यमन्त्रीसँग कुरा गरिसकेको छु । हामी प्रहरीसँग नजिकबाट समन्वय गरेर काम गरिरहेका छौं ।’
प्रधानमन्त्री अल्बानीजले बोन्डाइ बीचमा गरिएको आक्रमणलाई ‘कल्पनाभन्दा बाहिरको दुष्टता’ भनेका छन् । अल्बानेजले आक्रमणकारीहरूलाई ‘कायर’ को संज्ञा दिएका छन् र राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको र यस घटनालाई आतंकवादी आक्रमणको रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । ‘यो हानुक्काको पहिलो दिनमा यहुदी अस्ट्रेलियालीहरूलाई लक्षित गरी गरिएको आक्रमण हो, जुन दिन खुसी र आस्थाको उत्सवको दिन हुनुपर्ने थियो,’ अल्बानेजले भने ।
आक्रमण ‘यहुदीविरोधी दुष्टता र आतंकवाद हो जसले हाम्रो राष्ट्रको मुटुमा प्रहार गरेको छ । यहुदी अस्ट्रेलियालीहरूमाथि गरिएको आक्रमण भनेको हरेक अस्ट्रेलियालीमाथि गरिएको आक्रमण हो ।
आइतबार राति हरेक अस्ट्रेलियाली, म जस्तै, हाम्रो जीवनशैलीमाथि भएको यस आक्रमणबाट स्तब्ध हुनेछ ।’ उनले भने, ‘हाम्रो राष्ट्रमा यस्तो घृणा, हिंसा र आतंकवादका लागि कुनै स्थान छैन ।’