नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब ७० वर्ष पूरा हुन लागेको छ। विशेषगरी व्यापार र लगानीका सन्दर्भमा हालको द्विपक्षीय सम्बन्धलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
रुस–नेपाल व्यापारिक सम्बन्ध अहिले धेरै ठूलो परिमाणमा छैन, तर प्रचुर मात्रामा सम्भावना भने छ। ऊर्जा, उपकरण, मल, धातुजन्य सामग्रीसँगै नेपाली चिया, कफी र लत्ता कपडासमेत समेटिएको हालको व्यापार संरचनाले दुवै देशबीचको स्थिर चासोलाई प्रस्ट देखाउँछ, यद्यपि कुल व्यापार अझै सीमित र केही असन्तुलित छ। लगानीको सम्भावना पनि त्यत्तिकै आशाजनक छ।
तर अन्तर्राष्ट्रिय प्रचलनअनुसार ठूलो आर्थिक लगानी परियोजनालाई अघि बढाउन सम्बन्धित मुलुकबाट आधिकारिक प्रस्ताव वा औपचारिक अनुरोध आवश्यक हुन्छ। यस्ता औपचारिक पहल तथा प्रस्तावहरू प्राप्त भएका छैनन्। पर्यटन क्षेत्र सम्भावनायुक्त सहकार्यको कडीमध्ये एक हो। नेपालप्रति रुसी नागरिकको चासो निरन्तर बढ्दो छ। २०२४ मा करिब १३ हजार ७ सय रुसी पर्यटक नेपाल आएका थिए, जुन नयाँ रेकर्ड थियो। त्यसमाथि, २०२५ डिसेम्बर १ सम्म आइपुग्दा १४ हजार ३ सय पुगेका छन्।
नेपालमा रुसी लगानी विस्तार गर्न के–कस्ता पहल अघि बढाइएका छन् ?
परम्परागत रूपमा रुसले नेपाललाई सहयोग गर्न सक्ने भनेको जलविद्युत्, यातायात पूर्वाधारमा विशेषगरी रेलमार्ग, काठ तथा कागज उद्योग र कृषि–औद्योगिक क्षेत्र नै हुन्। यसमा मल उत्पादन, उपकरण आपूर्ति तथा नेपालमै शीतभण्डार प्रविधिको विकास आदि हुन्। यी क्षेत्रमा हुने संयुक्त परियोजनाले नेपाली नागरिकका लागि ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने र यसबाट नेपालले लाभ लिन सक्छ। स्वाभाविक रूपमा आर्थिक परिदृश्यसँगै तीव्र गतिमा विकास र रूपान्तरण हुँदैछ र सूचना–प्रविधि अब वास्तविक ‘गेम चेन्जर’ बनेको छ। जसमा रुसी लगानीका लागि महŒवपूर्ण सम्भावना छन्।
रुसी आईटी कम्पनी ऐन्डेक्स ‘यान्डेक्स’को अन्तर्राष्ट्रिय ब्रान्ड यांगोलाई नेपालमा स्वागत गर्न पाउनु सुखद् अनुभूति हो। यस्तै, धेरै रुसी कम्पनीले पनि नेपाली साझेदारसँग सहकार्यका अवसरहरूको सक्रिय रूपमा खोजी गरिरहेका छन्। सम्भावनायुक्त नयाँ क्षेत्रमा औषधि उद्योग, प्रविधिजस्ता क्षेत्र छन्। पर्यटन क्षेत्रमा लगानीभन्दा बढी मानिस–मानिसबीचको सम्पर्क महत्वपूर्ण हुन्छ, जसको गति पनि तीव्र छ। दूतावासले नेपाल सरकारका निकायहरू र निजी क्षेत्रसँग नजिकबाट समन्वय गर्दैछ।
युक्रेन युद्धले नेपालजस्ता साना राष्ट्रहरूसँग रुसको संलग्नतामा कस्तो प्रभाव पारेको छ ?
सबैभन्दा पहिले त रुसले अहिलेको परिस्थितिलाई युद्धको रूपमा हेर्दैन। रुसी दृष्टिकोणमा यो एउटा विशेष सैन्य कारवाही हो, जसको उद्देश्य ऐतिहासिक रूपमा हामीसँग अत्यन्त निकट रहेका युक्रेनी जनतामाथि होइन तर सानो समूहका भ्रष्ट तथा अन्यत्रबाट परिचालित छद्म–नेतृत्वको विनाशकारी गतिविधिमाथि केन्द्रित छ, जसले आफ्नो देशलाई बाह्य हस्तक्षेप र द्वन्द्वतिर धकेलेका छन्। रुसले युक्रेनी जनतासँग कहिल्यै लडेन र भविष्यमा पनि लड्ने कुनै कारण देख्दैन। नेपालजस्ता मित्रराष्ट्रसँगको सहकार्य स्थिर, समानतामा आधारित र निरन्तर सकारात्मक छ। संयुक्त राष्ट्रसंघमा नेपालले अपनाउँदै आएको सन्तुलित, सिद्धान्त–आधारित र स्वतन्त्र विदेश नीति–अभिगमनको हामी उच्च प्रशंसा गर्दछौं।
रुसका वार्षिक प्रस्ताव विशेषगरी नाजीवादको महिमामण्डनविरुद्धको प्रस्ताव, उपनिवेशवादविरुद्धको प्रस्ताव तथा विभिन्न विशिष्टीकृत निकायका कार्यकारी संरचनामा रुसी उम्मेदवारहरूको समर्थनप्रति पनि कृतज्ञ छौं। नेपालले भविष्यमा पनि क्षेत्रीय सुरक्षा सुदृढीकरण तथा बहुध्रुवीय सहकार्यलाई प्रोत्साहित गर्ने रुसी पहलहरूलाई यथास्थितिमा बुझेर सहयोग गरिरहनेछ। आजको जटिल विश्व परिवेशमा स्वार्थकेन्द्रित बाह्य शक्तिद्वारा थोपर्न खोजिने नकारात्मक प्रभावहरूबाट स्वयंलाई जोगाउन सक्षम, सार्वभौमिकता, संवाद र परस्पर सम्मानलाई प्राथमिकता दिने देशहरू नै स्थायित्वका आधार स्तम्भ बन्न सक्छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै भारतको भ्रमण गर्नुभएको छ। यस भ्रमणले दक्षिण एसियामा रुसको रणनीतिक दृष्टिकोणमा कस्तो प्रभाव पार्ला ?
राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँदिल्ली यात्रा अहिलेको गहिरो विश्वासको रूपान्तरणको समयमा भएको महŒवपूर्ण घटना हो। विश्वक्रम आज स्थिररूपमा बहुध्रुवीय दिशातर्फ अघि बढिरहेछ, जहाँ दक्षिण एसियासहितका क्षेत्रीय आवाजहरूले अन्तर्राष्ट्रिय एजेन्डालाई उल्लेख्य रूपमा आकार दिइरहेछन्। यस्तो परिवेशमा, रुस–भारत साझेदारी युरेसिया र व्यापक हिन्द–प्रशान्त क्षेत्रको स्थिरता कायम गर्ने मुख्य आधारस्तम्भमध्ये एक बनेको छ। यो यात्रा पारस्परिक हित, व्यावहारिकता र दीर्घकालीन विश्वासको भावनामा सम्पन्न भएको हो। भारत रुसको दीर्घकालीन र अत्यधिक सम्मानित रणनीतिक साझेदार हो।
रक्षा, ऊर्जा, आणविक प्रविधि, विज्ञान, शिक्षा तथा जनस्तरको सम्पर्कजस्ता क्षेत्रमा दशकौंदेखि दुवै देशबीच सुदृढ सहयोग जारी छ। २६ नोभेम्बरमा भारत र युरेसियन आर्थिक संघबीचको स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी वार्ताको पहिलो चरण औपचारिक रूपमा सुरु भएको छ। यो पहलले ग्रेटर युरेसियाभित्र सबैभन्दा ठूलो मुक्त व्यापार संरचना निर्माण गर्ने सम्भावना राख्छ। जसले नयाँ बजारहरू खोलेर, अवरोधहरू हटाएर र सुरक्षित तथा पारस्परिक लाभदायक आर्थिक प्रवाहलाई प्रवद्र्धनसहित नयाँ मार्गमा जाने काम गर्नेछ।
नेपालका लागि यो प्रवृत्ति विशेष रूपमा प्रासंगिक छ। भारतको निकट छिमेकीका रूपमा र युरेसियाली आर्थिक परिदृश्यका परिवर्तनहरूको सूक्ष्म विश्लेषकका रूपमा, नेपाल क्षेत्रीय कनेक्टिभिटी अझ बलियो बन्दै जाँदा प्रत्यक्ष रूपमा लाभान्वित हुनसक्छ। भारत–ईएईयुबीच विकसित हुँदै गएका व्यापार मार्ग र लजिस्टिक कोरिडोरहरूले नेपाली निर्यात, विद्यार्थीलाई अवसर, प्राविधिक सहकार्य, श्रम–गतिशीलता तथा अन्य क्षेत्रमा नयाँ सम्भावना खोल्न सक्छन्। यसले नेपाललाई उत्तरी युरेसियाका बजारहरूसँग अझ नजिक पु¥याउनेछ। साथै, भारत–रुस साझेदारी अझ सबल र स्थिर हुनु दक्षिण एसियाको समग्र स्थायित्वका लागि पनि सकारात्मक योगदान हो। यो केवल रुस र भारतका लागि मात्र होइन, नेपाल र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायका लागि समेत सकारात्मक संकेत हो।
विश्वव्यापी शक्ति प्रतिस्पर्धा बढिरहेको सन्दर्भमा क्षेत्रीय स्थायित्व र विकासका लागि रुसले नेपालको भूमिकालाई कसरी हेरेको छ ?
रुसले नेपाललाई दक्षिण एसियामा एक महत्वपूर्ण र साँच्चिकै स्वतन्त्र आवाजका रूपमा हेर्छ, त्यो देश जसले सबै प्रमुख शक्ति केन्द्रहरूसँग सन्तुलित र विवेकी सम्बन्ध कायम राख्न सकेको छ। बढ्दो वैश्विक प्रतिस्पर्धाको वातावरणमा यस्तो दृष्टिकोणले क्षेत्रीय स्थिरतालाई मजबुत बनाउन मद्दत गर्छ।
नेपालले हिमाली क्षेत्रभरि रचनात्मक संवादलाई प्रोत्साहन गर्ने, बहुपक्षीयताप्रति प्रतिबद्ध रहने तथा पूर्वाधार, ऊर्जा र मानवकेन्द्रित सहकार्यलाई अघि बढाउने भूमिकालाई अत्यन्तै महत्वका रूपमा लिन्छौं। रुस आफ्नो पक्षबाट जहाँ–जहाँ दुवै देशका हित र विकासका प्राथमिकताहरू मेल खान्छन्, नेपालसँग सहकार्य गर्न सधैं तयार छ।
नेपाली विद्यार्थी लामो समयदेखि उच्च शिक्षाका लागि रुस जाँदैछन्। पछिल्लो समय विद्यार्थी आदान–प्रदान कसरी विकसित भएको छ ?
रुसी उच्च शिक्षा विश्वभर उच्च गुणस्तरका कारण अग्रस्थानमा छ। पछिल्ला ६ दशकमा हजारौं नेपाली विद्यार्थीले रुस तथा सोभियत संघमा उच्च शिक्षा प्राप्त गरिसकेका छन्। नेपाली विद्यार्थीले हासिल भएको उपलब्धि स्वयं बोल्छ, जसमा धेरै विद्यार्थी अहिले सरकारी उच्च पदस्थ अधिकारी, सफल व्यवसायी तथा विभिन्न क्षेत्रमा अग्रणी विशेषज्ञका रूपमा स्थापित छन्। उनीहरूले नेपालको समग्र विकासमा मात्र होइन, नेपाल–रुस सम्बन्धलाई सबै तहमा मजबुत बनाउन निरन्तर योगदान दिइरहेका छन्। रुसी सरकारद्वारा नेपाली छात्रछात्राका लागि प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम दशकौंदेखि सफलतापूर्वक सञ्चालित छ।
नेपाली नागरिक रुसी राज्य छात्रवृत्तिका लागि पूर्णरूपमा योग्य छन्, जसले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहसम्म रुसी सरकारी विश्वविद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने अवसर प्राप्त गरिरहेकै छन्। नेपालका लागि हाल वार्षिक ४० कोटा तोकिएको छ, तर उच्च मागका कारण पछिल्ला वर्ष रुसले अतिरिक्त कोटा उपलब्ध गराउँदै आएको छ, जसले हरेक वर्ष ६० भन्दा बढी नेपाली विद्यार्थीलाई रुसमा उच्च शिक्षा प्राप्त गर्ने अवसर मिलेको छ। रुसी विश्वविद्यालयहरूमा निःशुल्क उच्च अध्ययन गर्न इच्छुक सबैले आधिकारिक छात्रवृत्ति वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
रुसले नेपालमा कुन–कुन सांस्कृतिक वा शैक्षिक पहल अघि बढाइरहेको छ र आगामी योजना के छन् ?
रुस र नेपालबीचको सांस्कृतिक तथा शैक्षिक सहकार्य केन्द्रीय संयोजन बिन्दु रसियन हाउस, काठमाडौं हो। सन् १९९३ मा कमलपोखरीमा स्थापना भएको यो संस्था आज रुसबारे जान्न चाहने नेपालीका लागि दोस्रो घरजस्तै छ। समाजको सांस्कृतिक तथा शैक्षिक उन्नयनमा समर्पित रसियन हाउसले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिरहेछ। यहाँ नयाँ पुस्ताका प्रतिनिधिहरूका लागि प्रशस्त अवसर उपलब्ध छन्। रुसी भाषा कक्षा, संगीत कक्षालगायतमा करिब १० हजार नेपाली, रुसी र अंग्रेजी किताब रहेको आरामदायक पुस्तकालय (निःशुल्क, वाइफाइसहित), आधुनिक हलमा नियमित निःशुल्क फिल्म प्रदर्शन, २०७६ फेब्रुअरीदेखि सुशीला आट्र्स एकेडेमीसँगको सहकार्यमा नाटक र कला कक्षाहरू समावेश छन्।
दीर्घकालीन सहकार्य साझेदारहरूमा मित्र कुञ्ज (रुस तथा सोभियत विश्वविद्यालयका पूर्व–विद्यार्थीको संस्था), नेपाल–रुस मित्रता तथा संस्कृति संघ, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल फिल्म तथा संस्कृति एकेडेमीका साथै देशभरका विश्वविद्यालय, कलेज तथा विद्यालय छन्। यी सबै संस्थासँग मिलेर विभिन्न स्तरका सांस्कृतिक कार्यक्रम, उत्सव, संगीत तथा नृत्य प्रदर्शनका साथै विभिन्न प्रदर्शनी तथा कार्यशालाहरू आयोजना गर्दै आएका छौं। रुस र नेपालका विशेष दिनहरूमा आयोजना गरिने नियमित कार्यक्रमहरू दुवै देशका समुदायले सँगै मनाउने साझा उत्सव बनेका छन्, जसले दुवै मुलुकबीचको बलियो, आत्मीय र सांस्कृतिक रूपमा समृद्ध सम्बन्धको प्रतीकलाई प्रस्ट संकेत गर्छ। यी कार्यक्रमहरू सांस्कृतिक विविधता र कलाको मूल्यमा विश्वास राख्ने सर्वसाधारणका लागि सदैव खुला छन्।
नेपाल–रुसबीच जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन के–कस्ता उपाय प्रभावकारी हुन सक्छन् ?
यस वर्ष रुसले जन–जनबीचको कूटनीतिको शताब्दी भव्य रूपमा मनायो। अक्टोबरमा मस्कोमा आयोजित प्रमुख समारोहमा एक सयभन्दा बढी देशका प्रतिनिधि सहभागी भए, जसमा नेपालको पनि स्वाभाविक रूपमा उपस्थित थियो। आउँदो वर्ष नेपाल र रुसबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ मनाइँदैछ। दशकौंदेखि दुवै राष्ट्र घनिष्ठ मित्र छन् र यो सम्बन्धले बोकेर आएको भावनात्मक तथा ऐतिहासिक सम्पदालाई आगामी पुस्तामा जीवन्त रूपमा हस्तान्तरण गर्नु अब प्राथमिकताको विषय हो। त्यसैले आगामी वर्षलाई विशेष बनाउने योजना बनाइरहेका छौं।
विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना, दुई देशबीच कलाका व्यक्तित्व, विद्यार्थी तथा शैक्षिक प्रतिनिधि, तथा सरकारी प्रतिनिधिमण्डलबीच आदान–प्रदान विस्तार र आपसी भ्रमणलाई अझ सशक्त बनाउने तयारी भइरहेको छ। रुस सधैं नेपालको मित्र रहँदै आएको छ र हामी पूर्ण विश्वासका साथ भन्छौं। दुवै देशका जनताबीचको सम्बन्धलाई थप गहिरो, परिणाममुखी र दीर्घकालीन बनाउने सबै स्रोत तथा सम्भावना हाम्रो हातमा छन्। यी सम्बन्धहरूको सुदृढीकरण दुवै राष्ट्रका लागि हितकारी हुनेछ।
जलवायु परिवर्तन र वातावरण संरक्षणजस्ता क्षेत्रमा नेपाल र रुसले कसरी अझ प्रभावकारी सहकार्य गर्न सक्छन् ?
जलवायु तथा वातावरणसम्बन्धी क्षेत्रमा नेपाल र रुसबीचका सहयोगलाई गहिरो बनाउने आधार पहिलेदेखि नै मजबुत छन्। पछिल्ला उच्चस्तरीय सम्पर्कहरूले यस साझेदारीप्रतिको दुवै पक्षको स्पष्ट रुचि देखाएका छन्। नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई रुसको सोचीमा आयोजित ‘ग्लोबल बायोलोजिकल सेक्युरिटी थ्रेट्स : समस्या र समाधान’ शीर्षकको पाँचौं अन्तर्राष्ट्रिय वैज्ञानिक तथा व्यावहारिक सम्मेलनमा स्वागत गर्न पाउनु हर्षको विषय थियो।
नेपालले सगरमाथा संवादलाई जलवायु चुनौतीहरूमा विश्वव्यापी छलफलका लागि एक प्रमुख मञ्चका रूपमा अघि सार्न गरेको पहललाई रुस स्वागत गर्छ। जसमा रुसी विज्ञ तथा अधिकारीहरूको सक्रिय सहभागिता देख्न पाउनु हाम्रो स्वाभाविक चाहना रहनेछ। अतः समग्रमा, रुसको वैज्ञानिक तथा प्राविधिक क्षमता र नेपालको अद्वितीय पारिस्थितिक अनुभव तथा जलवायु मुद्दाहरूमा यसको सक्रिय नेतृत्वलाई मिलाएर दुवै देशले अझ प्रभावकारी र दीर्घकालीन सहकार्यका लागि प्रशस्त अवसरहरू उपयोग गर्न सक्छन्।
तपाईंको कार्यकालमा नेपाल–रुस सम्बन्धका कुन–कुन क्षेत्रमा विशेष प्राथमिकताका साथ ध्यान केन्द्रित गर्ने योजना छ ?
म रुस–नेपाल द्विपक्षीय सम्बन्धका सबै क्षेत्रमा समान ध्यान दिन चाहन्छु। त्यस्ता क्षेत्र जसले दुवै देशका नागरिकको जीवनस्तरमा वास्तविक सुधार ल्याउन सक्छन्। व्यापार, ऊर्जा, शिक्षा, संस्कृति, पर्यटन वा मानवीय सहकार्य आदिमा व्यावहारिक र पारस्परिक रूपमा लाभदायक पहलहरू अघि बढाउनु आवश्यक छ। ताकि दुई देशबीचको दीर्घकालीन साझेदारी अझ सुदृढ बनोस्।
(नेपालस्थित रुसी दूतावासका कार्यवाहक राजदूत आन्द्रेई किसेलेन्कोसँग अन्नपूर्ण पोस्ट्का पत्रकार सुरेन्द्र काफ्लेले गरेको कुराकानी)