: नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन्।
सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरूप ठिक ढंगले चलाउनका लागि नेतृत्वमा दाबी गरेको बताएका हुन्। अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उनले बताए।
पोखरेलले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे। उनले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने जिकिर गरे।
त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफूहरूलाई सहयोग गर्ने बताए।
त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा भएपनि कसैप्रति पूर्वाग्रह नहुने बताए। नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउनका लागि उम्मेदवारी दिएको उनले बताए।
त्यस्तै उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए।
त्यसैगरी सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टिमको घोषणा गरेकाले आफूहरू पनि छुटै टिम घोषणा गरिएको धारणा राखे। उनले अव सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुने जिकिर गरे।
एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टिम बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। एमाले नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुने कार्यतालिका रहेको छ।