— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् ।
मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको जानकारी दिए । सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उनले अपेक्षा व्यक्त गरे । उनले महानगरले २ अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेको पनि जानकारी दिए । धुलोरहित कार्यक्रमअन्तर्गत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाईमास्ट लाइट जडान गरिएको उनको भनाइ छ ।
‘हामी काठमाडौं महानगरमा आएपछि २३ अर्ब रुपैयाँ मूल्यबराबरको २०८ रोपनी भन्दा धेरै सार्वजानिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिब दुई खर्ब मूल्यबराबरको १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ,’ उनले भने ।
महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरी काम गरिरहेको पनि मेयर शाहले जानकारी दिए । महानगरले वातावरण सुधार, धुलोरहित सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो सहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ छ ।