मुख्य समाचार
२३ सय क्यामरामार्फत बाघ गणना हुँदै
२३ सय क्यामरामार्फत बाघ गणना हुँदै

— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ ।



देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ब्लक बनाएर गणनाको योजना बनाइएको छ । यी ब्लकभित्र राष्ट्रिय निकुञ्ज, कोरिडोर तथा आसपासका मध्यवर्ती संरक्षित क्षेत्र पर्छन् । करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रमा २ हजार १ सयदेखि २ हजार २ सयसम्म ग्रिड बनाएर स्वचालित क्यामरा ट्रयाप जडान गरिनेछ । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ ।

चितवन–पर्सा ब्लक
चितवन–पर्सा ब्लकमा पुस १ र २ मा क्यामरा जडान गरी गणना सुरु गरिने वरिष्ठ इकोलोजिस्ट तथा राष्ट्रिय बाघ गणना प्राविधिक समिति संयोजक हरिभद्र आचार्यले बताए । दुई बाई दुई वर्ग किलोमिटरको एउटा ग्रिड बनाई दुवैतर्फबाट एक–एक जोडी क्यामरा जडान गरिनेछ ।

ब्लक ठूलो भएकाले यसलाई तीन खण्डमा विभाजन गरेर क्रमशः क्यामरा सार्दै गणना गरिनेछ । यहाँ ८ सयदेखि ९ सयसम्म ग्रिड छन् । २ सय ५० देखि ३ सय ग्रिडको एउटा खण्ड बनाउन करिब ५ सयभन्दा बढी क्यामरा आवश्यक पर्ने आचार्यले बताए । क्यामराको अभावका कारण एउटा खण्डको काम सकेपछि मात्र अर्को खण्डमा गणना थालिनेछ । यस ब्लकको गणना सकिन मात्र दुई महिनाभन्दा बढी समय लाग्ने अनुमान छ ।
बाँके–बर्दिया ब्लक
बाँके–बर्दिया ब्लकलाई पाँच खण्डमा विभाजन गरिएको छ । बर्दिया र बाँकेमा दुई–दुई तथा दाङमा एक खण्ड बनाइएको छ । दुई बाई दुई वर्ग किलोमिटरका करिब ८ सय ग्रिडलाई पाँच खण्डमा बाँडी बर्दिया खण्डबाट गणना सुरु गरिने राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।

यस ब्लकका लागि करिब ५ सय स्वचालित क्यामरा आवश्यक पर्नेमा हालसम्म ३ सयभन्दा बढी क्यामरा आइसकेका छन् । बर्दियामा पुस ५ बाट गणना थालिनेछ ।


शुक्लाफाँटा–लालझाडी ब्लक
शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई एउटै ब्लक बनाएर गणना गरिनेछ । यहाँ २६० ग्रिड छन् । चितवन–पर्सा ब्लकको गणना सकिएपछि क्यामरा खाली भएपछि शुक्लाफाँटामा काम सुरु गरिने विभागले जनाएको छ ।

एक स्थानमा १५ रात क्यामरा राखिन्छ । क्यामरा जडान र फिर्ता गर्न करिब एक साता लाग्ने भएकाले एउटा ब्लकको गणना पूरा गर्न कम्तीमा २२ दिन लाग्ने बताइएको छ । एकैपटक सबै क्षेत्रमा गणना गर्दा जनशक्ति र क्यामराको आवश्यकता धेरै हुने भएकाले साना खण्ड बनाएर चरणबद्ध रूपमा गणना गरिएको हो ।

सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएकामा यसपटक २ हजार ३ सय क्यामरा प्रयोग गरिने एनटीएनसीका सदस्य सचिव डा. नरेश सुवेदीले बताए । पुसदेखि सुरु हुने गणना चैतसम्म चल्नेछ । यही अवधिमा महाकालीदेखि कोशीसम्म बाघको अकुपेन्सी सर्भे पनि गरिनेछ । बाघ देखिएको वा पुगेको क्षेत्रमा दिसा, पिसाब, पाइला र चिह्न पछ्याउँदै सर्भे गरिन्छ ।

२५० जनशक्ति परिचालन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायको सहयोगमा गणना हुनेछ । मुलुकभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन् । आवश्यकताअनुसार नागरिक वैज्ञानिक, स्थानीय बासिन्दा, विद्यार्थी तथा डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि सहभागी गराइनेछ ।

वनछेउ सुरक्षित स्थानमा टेन्ट राखेर बस्दै क्यामराको अवस्था अनुगमन, मेमोरी कार्ड संकलन र प्रतिवेदन गर्ने व्यवस्था मिलाइएको छ । क्यामराले मिति, समय र स्थानसहितको फोटो खिच्ने भएकाले तथ्यांक विश्लेषण सहज हुन्छ । रातमा अटोमेटिक रुपमा फ्ल्यास बलेर फोटो खिच्छ ।
बाटो, नदी–खोला किनार, दोबाटो, फायरलाइन, भञ्ज्याङ, गोरेटो, नुन र पानीका स्रोत नजिक क्यामरा राखिनेछ । यस्ता स्थानबाट बाघको आवतजावत बढी हुने भएकाले फोटो क्याप्चरको सम्भावना उच्च हुन्छ ।

बाटोदेखि ४/५ मिटर दायाबाया र भुइँदेखि ४५ देखि ६० सेमि माथि रुख वा लौरो गाडेर राखिने गरिएको छ । क्यामराको सेन्सरले हावा र तापक्रममा हुने परिवर्तनसँग स्वचालित रुपमा फोटो खिच्न थाल्छ ।

बाघ गणनासँगै मृग, बँदेललगायत आहारा प्रजातिको संख्या पनि अनुगमन गरिनेछ । यसलाई ‘लाइन ट्रान्जेक्ट’ विधि भनिन्छ । प्रति किलोमिटरमा आहारा प्रजातिको संख्या गणना गरी घनत्व पत्ता लगाइने एनटीएनसी बर्दियाका प्रमुख तुम्बाहाम्फेले बताए । साथै वन क्षेत्र आसपासको मानव गतिविधि बुझ्न ‘प्याच अकुपेन्सी सर्भे’ पनि गरिनेछ ।

‘बाघको संख्या मात्रै होइन, बासस्थान र आहारा प्रजातिको अवस्था थाहा पाउन यो गणना उपयोगी हुन्छ,’ तुम्बाहाम्फेले भने, ‘यसकै आधारमा निकुञ्ज व्यवस्थापन र पर्यटन विकासको योजना बनाउन सहयोग पुग्छ ।'

कसरी छुट्याइन्छ ?

सामान्य रुपमा हेर्दा सबै बाघ एउटैजस्तो देखिन्छ । तर, बाघ एकापसमा फरक हुन्छन् । बाघ पाइने मुलुकका लागि यो प्राणी प्रतिष्ठाको प्रतीक पनि हो ।

पहिला बाघको पाइताला र अन्य संकेतलाई विश्लेषण गरेर बाघको संख्या अनुमान गरिन्थ्यो । सन् २००९ देखि स्वचालित क्यामरा राखेर बाघको संख्या यकिन गर्न लागिएको हो । बाघ पाइने क्षेत्रमा बाघ बढी ओहोरदोहोर गर्ने बाटोमा स्वचालित क्यामरा राख्ने गरिन्छ । बाघ वा अन्य जे सुकै पनि त्यसबाट पार भए क्यामराले आफै फोटो खिच्ने गर्छ ।

बाघको शरीरमा हुने पाटा हरेकको फरक हुन्छ । यसको पहेलो जिउमा काला पाटा धर्सो–धर्सो परेका हुन्छन् । काला पाटा ढाडबाट पेटतिर, पेटबाट ढाडतिर पोतिएको देखिन्छ । अनुहारमा पनि काला धर्साधर्सी विभिन्न बान्कीमा सजिएका हुन्छन् । प्रत्येक बाघमा यस्ता धर्सा भिन्नभिन्न प्रकारले पोतिएका हुन्छन् । मान्छेका औंलाका (अंगुठा) छाप जस्तै यी धर्सा बाघ पहिचान गर्ने प्रमुख माध्यम बन्छन् ।

करिब तीन महिना संकलित तस्बिरलाई सफ्टवेयरमार्फत ‘एससीसीआर’ विधिबाट विश्लेषण गरिनेछ । त्रुटि नहोस् भनी विज्ञ टोलीले पुनः परीक्षण गरेपछि नतिजा सार्वजनिक गरिने वरिष्ठ इकोलोजिस्ट आचार्यले बताए । सबै प्रक्रिया सफल भए २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गर्ने लक्ष्य छ ।

किन महत्वपूर्ण छ बाघ ?

बाघ जंगलको ठूलो सिकारी भएकाले यसको संरक्षणले समग्र पारिस्थितिक प्रणाली सुदृढ हुन्छ । ‘विकासका काम गर्दा बाघको घर विनाश गर्छौं । जंगल मासेर सडक र बस्ती बनाउछौं अनि भन्छौ बाघ बस्ती पस्न थल्यो,’ एनटीएनसी बर्दियाका प्रमुख तुम्बाहाम्फेले भने, ‘बाघ बस्ती पसेको होइन, बस्ती जंगल पसेको हो । बाघबाट हुने फाइदा अर्बौंमा छ । हामी सय/हजारको क्षति गनेर बस्छौं । बाघ मांसाहारी हो तर, हिंस्रक होईन । बाघलाई कुनै खतरा छ भने मान्छेबाटै छ ।‘ मानव–बाघ सहअस्तित्व कायम राख्दै बाघ जोगाउनु आजको आवश्यकता रहेको उनले बताए ।

बाघ वाइल्डलाइफ पर्यटनको ठूलो धरोहर भएकाले यसलाई बचाइराख्न्नुपर्ने डब्लूडब्लूएफ नेपालका प्रतिनिधि डा. घन गुरुङ बताउँछन् । ‘बर्दियामा बाघकै कारण ६ वर्षअघिसम्म ३५ हजार कठ्ठामा नबिक्ने जग्गा अहिले ३५ लाखमा पनि नपाउने अवस्था छ । यसले पर्यापर्यटनको विकास भई होटल व्यवसाय फस्टाएको, रोजगारीको अवसर सिर्जना भएको र समग्र मुलुकलाई फाइदा पुगेको छ,’ उनले भने ।

बाघ जंगलको राजा भएकाले सबै हेर्न लालायित हुने बाघ विशेषज्ञ डा. बाबुराम लामिछाने बताउँछन् । 'त्यही भएर कति बाघ छन् भन्नका लागि व्यवस्थित गणना गर्नुपरेको हो,' उनले भने, 'जुन वनमा बाघ सुरक्षित हुन्छ त्यहाँको प्राकृतिक पारिस्थितिक प्रणाली स्वतः दुरुस्त हुन्छ । एउटा बाघको संरक्षण गर्ने भनिए पनि त्यहाँ अनेक पक्षको संरक्षण हुने उनी बताउँछन् ।

सन् २००९ देखि वैज्ञानिक रुपमा गणना थाल्दा देशैभर १२१ बाघ थिए । त्यसपछि सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ बाघ गणना गरिएको थियो ।

बाघ सबैभन्दा धेरै चितवन निकुञ्ज र आसपासका वन क्षेत्रमा छन् । सन् २०२२ को गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाटामा ३६ वटा बाघ रहेको सार्वजनिक भएको थियो ।

सय वर्षयता विश्वमै ९३ प्रतिशत बाघको बासस्थान र ९७ प्रतिशत संख्या घटेका बेला नेपालमा पाटेबाघको संख्या १२ वर्षमा झन्डै तेब्बर हुनु संरक्षणका क्षेत्रमा राम्रो काम भएको बाघ विशेषज्ञ डा. हेमसागर बरालको भनाइ छ । 'यो मुलुकका लागि अन्तर्राष्ट्रिय पहिचान बढाउन र खुसीको क्षण भए पनि कहिलेकाहीँ हुने मानव-बाघ द्वन्द्वले मानिसको ज्यान लिनेसम्मका घटनाले चिन्ता थपिएको छ,' उनले भने, 'त्यसैले बाघ र मानिस एक आपसमा मिलेर बस्न सक्छन् भन्ने देखाउन सकियो भने त्यो विश्वकै लागि अझ उदाहरणीय हुन्छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...