— पर्सा प्रहरीले वीरगन्जबाट लागू औषध गाँजा तस्करीमा संलग्न एक युवकलाई ठूलो परिमाणमा गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–१ का २८ वर्षीय सुवराज श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले गाँजा तस्करीमा प्रयोग गरेको बा २१ च ७८५५ नम्बरको पिकअप भ्यानबाट १ सय ७६ किलो गाँजा प्रहरीले बरामद गरेको हो । पर्सा प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी गाँजा र त्यसको तस्करीमा प्रयोग गरिएको सवारी साधन सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक अमृत बस्नेतले विशेष सूचनाका आधारमा प्रहरी चौकी सिर्सियाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव नेतृत्वको प्रहरी टोलीले सोमबार राति ८ बजे वीरगन्ज–१७ कोनियास्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राबेल सडक खण्डमा उक्त पिकअपलाई रोकी चेकजाँच गर्दा गाडीको पछाडिपट्टि परालले लुकाइछिपाइ बोरामा राखिएको लागू औषध गाँजा फेला परेको बताए ।
१२ वटा पोकामा गरी कूल १ सय ७६ किलो गाँजा फेला परेको छ । श्रेष्ठलाई गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।