: आइओएफटिसी नेपालको आयोजनामा पुस ३ गतेदेखि १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) आयोजना हुने भएको छ। आइओएफटिसीले आफ्नो २५ वर्ष पुगेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो। यो प्रतियोगिताको पहिलो संस्करण सन् २००० मा सम्पन्न भएको थियो।
प्रतियोगिताका सम्पूर्ण खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पुस ३ देखि ५ गतेसम्म आयोजना हुनेछ। यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाड पाकिस्तान, भारत, हडकङ, चिन, मेक्सिको, माल्दिभ्स, वडगलादेशलगायतका राष्ट्रको सहभागिता रहनेछ। प्रतियोगितामा करीब एक हजार जना खेलाडी, प्रशिक्षक र रेफ्रीको सहभागिता रहनेछ।
नेपाली खेलाडीहरुका लागि यो सन् २०२६ मा अस्ट्रेलियामा हुने १६ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको छनोट पनि हो। यसै प्रतियोगिताबाट अस्ट्रेलियामा हुने प्रतियोगिता चयन गरिनेछ। वर्ल्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने आइओएफटिसीको १५ औं संस्करणमा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन्। सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
यसैगरी जुनियरतर्फ महिला र पुरुष गरी दस-दस तौल समूह र क्याडेट वर्गमा दस-दस तौल समूहमा खेलाइनेछ। सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ। यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ।
प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसबाहेक बोर्ड बैंकिङ इभेन्टमा पदक दिइने जनाइएको छ। प्रतियोगितामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपिँया रहेको छ।