— असोज १७–१८ को झरी सँगै बाढी र पहिरोबाट क्षतिग्रस्त भएका इलामका नागरिकले मेची राजमार्ग बन्द गरेर संघीय सरकारको विरोध गरेका छन् ।
बाढी र पहिरो पश्चात् विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका इलामका स्थानीय तहहरू सँगै बगेका बाटा घाटा र पुल पुलेसा निर्माणमा यथोचित बजेट व्यवस्थापनसँगै आवश्यक प्रक्रिया अगाडी नबढाएको भन्दै स्थानीयले विरोध गरेका हुन ।
विपद् व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले इलाम, सन्दकपुर, देउमाई र सूर्योदय सहित ५ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
विहान ११ बजेदेखि १२ बजेसम्म इलाम सदरमुकाम इलामको प्रवेश स्थल (जिरो पोइन्ट)मा सडकमै कुर्सी राखेर कार्यक्रम आयोजना गर्दै सडक बन्द गरिएपछि पाँचथर र ताप्लेजुङबाट इलामको बाटो भएर झापा तथा झापातर्फबाट इलाम भएर पाँचथर र ताप्लेजुङ क्षेत्रमा आउजाउ गर्ने सवारी र ढुवानीका साधन ठप्प भए ।
विरोध कार्यक्रममा इलाम नगरपालिकाका उप मेयर विष्णु लिम्बू (दाहाल) सहितका जनप्रतिनिधि सहभागी थिए ।
साबिक मेची अञ्चलका पहाडी जिल्लाको लाइफ लाइनका रूपमा रहेको मेची राजमार्ग सहित वैकल्पिक सडकहरू मर्मत गर्न सरकारलाई तीन दिनको समय सीमा दिएर ध्यानाकर्षण पत्र पठाइएको इलाम ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बताए ।
सरकारले ३ दिन भित्र जिल्लाका नागरिकको माग सम्बोधन नभएर आम हडताल लगायतका कार्यक्रम आह्वान गर्दै फागुन २१ को निर्वाचन बहिष्कार सम्मका कार्यक्रम सार्वजनिक गरिएको सचेत इलामेली नागरिकका संयोजक ईश्वर चिपालुले बताए ।