— श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।
बम विस्फोटको पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै अनुसन्धान नटुंगिएसम्मका लागि उपाध्यक्ष लामालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका हुन् ।
पार्टी अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै निर्दोष साबित नभएसम्म उपाध्यक्ष पदबाट निलम्बन गरिएको बताएका छन् । उनले भने, ‘गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ । राज्यले गर्ने अनुसन्धानमा कुनै पनि किसिमको दबाब वा प्रभाव हाम्रो तर्फबाट हुने छैन ।’
राज्यले निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै उनले थपे, ‘यदि उहाँ दोषी पाइएको खण्डमा कानुन बमोजिम कारबाही हुनुपर्छ । तर, यदि निर्दोष पाइएमा उहाँलाई दुःख दिन पाइँदैन ।’
साम्पाङले भने, ‘यो श्रम संस्कृति पार्टी हो । अरूजस्तो विभिन्न किसिमका घोटाला र काण्डमा मुछिएर पदमै बसिरहने चलन हाम्रोमा छैन । आजकै दिनदेखि उहाँलाई निलम्बन गरिएको छ । दोषी ठहर हुनुभयो भने पदबाट मुक्त हुनुहुन्छ, निर्दोष भएर आउनुभयो भने पुनः स्वागत गर्नेछौँ ।’ यस विषयमा पार्टीले आधिकारिक प्रेस विज्ञप्ति पनि जारी गर्ने उनले बताए ।
कुमार विश्वक्रान्ति समेत भनेर चिनिने देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरेको हो । विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा आबद्ध रहेका बेला काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग उनीमाथि रहेको छ ।
१५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको बम विस्फोटमा ३ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । यसअघि पक्राउ परेर जेल चलान भएका लामा केन्द्रीय कारागारमा रहेका बेला २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीपछि रिहा भएका थिए ।
पाँचथरमा भएको अर्को बम विस्फोट घटनामा पनि उनी मुछिएका छन्, जसमा एक जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी फरार रहेको पाइएपछि पक्राउ गरिएको जनाइएको छ । पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा उनी लामो समयदेखि फरार थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको कपनबाट पक्राउ गरी थप अनुसन्धानका लागि मंगलबारै पाँचथर पठाइसकेको जनाएको छ ।