— संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अन्डरपास' निर्माण गरिरहेको छ । आयोजनाको भारी निर्माण सामग्री पुलबाट ओसार्न जोखिम भएकाले ६० मिटर लामो अन्डर पास बनाउन लागिएको हो ।
कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको २०० मिटर लामो पक्की पुल छ । उक्त पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै हो । तर आयोजनाका ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित ट्रकको तौल १४० टनसम्म हुने आयोजनाका डीजीएम पंकज आनन्दले जानकारी दिए ।
उनका अनुसार तमोरमा अन्डरपास निर्माणका लागि सडक विभागबाट स्वीकृति लिइएको छ । ‘नेपाल सरकारको अनुमति पाएपछि अन्डरपास बनाउन सुरु गरेका हौँ,’ उनले भने । आयोजनाका बढी तौलका सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने भएकाले अन्डर पास निर्माण थालिएको उनको भनाइ छ । उनले तमोर नदीमा पानी बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने बताए ।
धरान–धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै भएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिए । उनका अनुसार कोशी राजमार्गको धरान–धनकुटा खण्डमा ४० टनभन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न पाइँदैन ।
आयोजनाका गह्रौँ निर्माण सामग्री ओसार्दा पुलमा क्षति पुग्न सक्ने भन्दै अन्डरपास बनाइए पनि सडकको भारवहन क्षमताबारे ध्यान नदिइएको स्थानीयको गुनासो छ । डीजीएम पंकज आनन्दले भने परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिएको दाबी गरे ।
आयोजनाले धरान–धनकुटा सडकको भारवहन क्षमताभन्दा बढी भार ओसारपसार गरिरहेको विषयमा जिज्ञासा राख्दा धनकुटा र संखुवासभाका प्रमुख जिल्ला अधिकारीले यस विषयमा विभागस्तरमै सहमति भएको हुन सक्ने जनाए । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले राष्ट्रिय गौरवको आयोजना भएकाले सहमतिमार्फत ‘माथिबाटै’ सहजीकरण हुने गरेको बताए ।
यस्तै, संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सडकको भारवहन क्षमताबारे आफू अनभिज्ञ रहेको बताइन् । उनले अरुण तेस्रो आयोजनाले सामग्री ओसारपसारका लागि विभागबाटै अनुमति लिएको जानकारी आफूले पाएको बताइन् ।