: नेकपा एमालेका संगठन विभागका निवर्तमान प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। ६६ वर्षको उमेरमा अधिकारीले पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने घोषणा गरेका हुन्।
‘पचास बर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालिन भएर काम गरेँ। जति दिन काम गरेँ पुरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरेँ।' सामाजिक सञ्जालमार्फत उनले भने, ‘म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुँ, जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रह्यो। नेकपा(एमाले)मा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइन। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ।’
उनले आफूले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते नगरेको बताए। ‘सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरु पुरा गर्न सकिनँ। अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन। साधारण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहनेछु।’ अधिकारीले भनेका छन्,‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेर, खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा भएको छु।’
एमाले नेता अधिकारीले लामो राजनीतिक जीवनमा आफूबाट भएका भूलचुकहरूप्रति क्षमा मागेका छन्।