मुख्य समाचार
एमालेको ११ औँ महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित
एमालेको ११ औँ महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित

— एमालेको ११ औँ महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको छ। जसमा जेन-जी विद्रोहपछिको परिस्थितिबारे एमालेको धारणामात्रै समेटिएको छैन, आगामी दिनमा एमालेले लिनसक्ने बाटोबारे पनि केही संकेत गरिएको छ।

पारित प्रस्तावमा सुशिला कार्की नेतृत्वको सरकारले चालेका कदमहरु असंवैधानिक करार गरिएको छ भने वर्तमान सरकारले गरेका केही निर्णयहरुको उदाहरण नै दिएर ती असंवैधानिक र गैरकानूनी रहेको निष्कर्ष पनि निकालिएको छ।

पारित प्रस्तावमा विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न पनि माग गरिएको छ। एमालेले भनेको छ, 'चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस्। दोषी देखिएकाहरुलाई कानुन बमोजिम कारबाही गरियोस्। राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् भन्ने आग्रह गर्दै उक्त कार्यमा पार्टीको सहयोग रहने विश्वास दिन चाहन्छ।'


एमालेले ११ औँ राष्ट्रिय महाधिवेशबाट पारित गरेको प्रस्तावका मुख्य ५ बुँदा:

१- निर्वाचनको कार्यादेश प्राप्त गरेको वर्तमान सरकार निर्वाचनको वातावरण बनाउनेतिर होइन, अनिर्वाचित सत्ता लम्ब्याउने दिशामा उद्यत् छ। लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका दलहरुसंग सार्थक सम्बाद, परामर्श र सहकार्य गरिरहेको छैन। निषेधको बाटोमा हिडिरहेको छ। नेताहरुलाई स्थान हद तोक्ने, राहदानी रद्द गर्ने, शान्तिपूर्ण कार्यक्रमलाई निषेध गर्ने, मिडिया ट्रायल गर्दै चरित्र हत्या गर्ने काम गरिरहेको छ। सरकारको संरक्षणमा विभिन्न शङ्कास्पद पात्रहरु नेताहरुमाथि भौतिक हमलाको धम्की दिने, पार्टीहरुलाई चुनावमा भाग लिन नदिने, उनीहरुले जिते पनि परिणाम खारेज गर्ने र नेताहरुलाई मुद्दा लगाएर बाहिरै निस्कनै नदिने आपत्तिजनक अभिव्यक्ति दिइरहदा समेत सरकार मौन बसिरहेको छ। प्रहरीबाट लुटिएका हतियार र गोलीगठ्ठा फिर्ता ल्याउन, भागेका कैदीहरुलाई फेरि जेलमा फर्काउन र समाजमा शान्ति सुरक्षाको वातावरण बनाउन ठोस काम गरिरहेको छैन। यस्तो अवस्थामा दलहरु कसरी निर्भयतापूर्वक जनता समक्ष जान र मतदाताहरु निर्धक्कसंग मतदान केन्द्रसम्म पुग्न सक्छन्? सरकार निर्वाचनको आधार बनाउनेतिर होइन, उल्टो बाटो हिडिरहेको छ।

२- मुलुकमा शान्ति सुरक्षाको अवस्था जटिल बनेको छ। ठुलो सङ्ख्यामा प्रहरीका हातहतियार र गोलीगठ्ठा लुटिएको र जेलबाट भागेका कैदीहरुको ठुलो सङ्ख्या अझै बाहिर रहेको स्थितिले समाजमा त्रास फैलिएको छ। सुरक्षाकर्मीको मनोबल खस्किएको छ। सन्दिग्ध पात्रहरु सरकारी कार्यालय र व्यवसायिक प्रतिष्ठानमा पसेर राष्ट्रसेवकहरु र व्यवसायीहरुलाई धम्क्याइरहेका छन्, कानुन हातमा लिइरहेका छन्। एक किसिमको राज्यविहीनताको अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा नेकपा (एमाले) सबै नागरिकहरुलाई आफ्नो सुरक्षाका लागि नागरिक स्तरमा टोल सुरक्षा समिति बनाउन र सुरक्षाकर्मीहरुसंग समन्वय गरेर स्थानीय सुरक्षा प्रबन्धको व्यवस्थापन गर्न आह्वान गर्दछ।

३- यही मङ्सिर २४ गते ’जेन–जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकार बिच भएको सम्झौता’ प्रति यो महाधिवेशनको गंभीर ध्यान गएको छ। असंवैधानिक रुपमा गठन भएको र सर्वोच्च अदालतमा न्यायिक परीक्षणबाट गुज्रिरहेको सरकारलाई मुलुकलाई दीर्घकालीन प्रभाव पार्ने संवैधानिक, राजनीतिक र आर्थिक विषयमा यस्तो सम्झौता गर्ने अधिकार रहदैन। निर्वाचनको कार्यादेश प्राप्त र घोषित निर्वाचन मिति ३ महिनाभन्दा कम समय रहेको अवस्थामा निर्वाचनका महत्वपूर्ण कानुनी र संरचनात्मक विषयलाई प्रभावित गर्ने सहमति आफैमा निर्वाचन नैतिकताको विरुद्धमा र सरकारको क्षेत्राधिकारभन्दा बाहिर छ। जनताबाट निर्वाचित जनप्रतिनिधि निकाय बाहेक अन्यत्रबाट संविधानमा कुनै संशोधन या परिमार्जन हुन सक्दैन। प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा संविधान निर्माणमा अगुवाइ गर्ने दलहरुलाई निषेध गर्दै गरिएको यस सम्झौताको आशय संविधानका आधारस्तम्भलाई खल्बल्याउनु र संविधानलाई नै असफल बनाउनु हो।

४- वर्तमान सरकार गैरसंवैधानिक निर्णय, गैरकानुनी कामको संरक्षण र विभिन्न भ्रष्टाचारका घटनाहरुमा मुछिदै गएको छ। राष्ट्रिय भूमि आयोगको विघटन, राजदूत फिर्ता र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउने लगायत विभिन्न निर्णयहरुलाई सर्वोच्च अदालतले खारेज गर्दा पनि कुनै नैतिकताबोध गरेको छैन। भारतसंग गरिएको विद्युत् खरिद सम्झौतामा गंभीर अनियमितताका तथ्यहरु सार्वजनिक भइसकेका पनि जिम्मेवारी लिइरहेको छैन।

५- एमाले हमेशा सुशासन, पारदर्शिता र स्वच्छताको पक्षमा उभिंदै आएको छ। प्रश्न उठ्नासाथ सार्वजनिक ओहदाबाट राजिनामा दिएर राज्यका अख्तियार प्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानुनबाट सफाइ नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको छ। यो महाधिवेशन माग गर्दछ– विगतमा राज्यका उच्च राजनीतिक र प्रशासनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गरियोस्। चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस्। दोषी देखिएकाहरुलाई कानुन बमोजिम कारबाही गरियोस्। राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् भन्ने आग्रह गर्दै उक्त कार्यमा पार्टीको सहयोग रहने विश्वास दिन चाहन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।
— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री ...
— कोशी प्रदेशमा भ्रमण वर्ष चलिरहेका बेला ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले चैत र वैशाख महिनामा यस क्षेत्रको पदयात्रा गर्ने/गराउने भएको छ । चैत २६ देखि वैशाख ४ गते सम्म सयौंको सङ्ख्यामा मानिसहरू सहभागी हुने गरी पदयात्रा गराउने तयारी गरिएको हो । ‘नयाँ वर्ष टिपतालाबाट’ भन्ने नारासहित तयार गरिएको कार्यक्रम अनुसार कोशी प्रदेशका खासगरी तेह्रथुम, सङ्खुवासभा र ...
: धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिरमा यस वर्षको पौषे औंशीका अवसरमा पितृ उद्धारका लागि ५ हजारभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्। मुलुकको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक तीर्थ स्थलका रूपमा परिचित विष्णुपादुकामा पौषे औंशीको अवसरमा बिहीबार र शुक्रबार देश–विदेशबाट श्रद्धालुहरू यहाँ आएका थिए। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले त्रिविक्रम अवतारमा बलि राजासँग तीन पाउ भूमि ...
— स्रोत नखुलेको करिब २० लाखसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका-७ बाट उनीहरुलाई पक्राउ गरिएको हो । शुक्रबार अपरान्ह स्रोत नखुलेको १९ लाख ९२ हजार ५ सयसहित लमजुङको सुन्दरबजार नगरपालिका -२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका-७ का शेरबहादुर राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले दोलखाका प्रहरी निरक्षक श्रीराम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम