: पवित्र तीर्थस्थल त्रिशूली र बेत्रगंगा नदीको संगमस्थल उत्तरगयामा श्राद्ध गर्नेको भिड लागेको छ। धार्मिक एवं ऐतिहासिक यस क्षेत्रमा आज पौसे औँसीको दिन श्राद्ध गर्ने हिन्दु तथा बौद्ध धर्मावलम्विहरूले यस क्षेत्रमा आएर श्रद्धा गरेका छन्।
बिहान सबेरैदेखि पुसको चिसोमा नदीको चिसो पानीमा नुहाएर पितृहरूको नाममा श्राद्ध गर्नेहरूको भिड लागेको थियो। हिजो र आज दुवै दिन औंसी परेकाले दुवै दिन श्राद्ध गर्नेको उत्तरगयामा भिड थियो। हिन्दु धर्मावलम्बीहरूले आफ्ना परम्परा धान्न उत्तरगयामा आई श्राद्ध गरी मोक्ष प्राप्ति गरेको बताएका छन्।
नुवाकोट र रसुवाको सिमानामा रहेको बेत्रावतीको उत्तरगयामा १० हजार भन्दा बढी भक्तजनले श्राद्ध गरी पिण्ड दान गरेका छन्। उत्तरगयामा श्राद्ध गर्नेहरूको विभिन्न जिल्लाबाट निकै ठूलो भीड लागेको थियो।
उत्तरगया क्षेत्रमा आएर बर्सेनि हजारौं भक्तजनहरूले परलोक भएका आफ्ना आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन्। तप्तनदी अर्थात उत्तरगया क्षेत्रमा आई श्राद्ध गरेमा २० पुस्ता अघिका पितृहरू मोक्ष प्राप्ति भई स्वर्ग जाने जन विश्वास रहि आएकाले पनि यहाँ टाढा टाढाबाट भक्तजनहरू आई श्राद्ध गरेका छन्। उत्तरगयामा क्षेत्रमा टाढा टाढादेखि श्राद्ध गर्न आएका भक्तजनहरूको ठूलो भिड लागेको थियो।
उत्तरगया क्षेत्रको नामले चिनिने बेत्रावतीमा पौष कृष्ण औंशीका दिन पितृहरूलाई पिण्ड दिएर श्राद्ध गर्नाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ मानिसहरूको यहाँ श्राद्ध गर्ने भीड लागेको हो। भारत वर्षका चार गयामध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक मात्र गया उत्तरगया हो। धार्मिक क्षेत्रकै नामले यस क्षेत्रमा गाउँपालिकाको नाम पनि उत्तरगया नै रहन गयो। बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुश क्षेत्रका चार गयामध्ये एक मानिने कालिका गाउँपालिका-३ का खेमराज देवकोटा बताउँछन्।
भारत गया, बद्री केदारनाथ, लगायतका धार्मिकस्थालमा पुग्नु अघि नै उत्तरगयामा श्राद्ध गर्नु पर्ने प्रचलन छ। स्कन्ध पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गंगा नदी बगेकोले उक्त पवित्र पानी भएका फलाखु र त्रिशूली नदी बगेको ठाउँलाई बेत्रागंगा भनेर मानिएको छ।
हालको बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर यहाँ पितृको नाममा हिन्दू धर्मालम्वीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमाग्रीहरूले मृत्यु भएका आफ्ना आफन्तका नाममा लामाहरूले पनि मन्त्र पढ्ने र बत्ति बाल्ने गर्छन्। पुस्तौदेखिका पितृहरूको सम्झनामा पिण्डदान गरेर फर्केका कटुन्जेका दिवाकर न्यौपानेले बताए। धार्मिक किंवदन्ती अनुसार सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भस्म पार्न लागेपछि भगवान महादेवले कालकुट नामक विष पिएर विषको डाहा मार्न यही ठाउँमा लौरोले खोस्री तप्त नदी उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाँइकुण्ड गएको विश्वास गरिन्छ।
आफ्ना आफन्त जनको नाममा यहाँ आएर श्राद्ध गर्दा पितृ मोक्ष हुने र पहिलेदेखि नै चलिआएको परम्परालाई धान्नका लागि र आफ्नो धर्म संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मान्यताले गर्दा उत्तरगयामा श्राद्ध गर्न आएको भक्तजनहरू बताउँछन्।
इतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाइन्छ। यहाँ बालाचर्तुदशी, पौषे औषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशे औशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्छ। टाढा टाढाबाट भक्तजनहरू आएर पूजा अर्चना गर्छन्। नेपाल-तिब्बत बीच लडाई हुँदा १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको स्थल पनि यही क्षेत्र भएकोले यस क्षेत्रको महत्व अझ बढेको छ।
यसवर्ष लेन्देखोलादेखि आएको बाढीले बिगारेको संरचना सम्याउने पार्ने काम गरेर यहाँ आउने हजारौं भक्तजनहरूलाइ सहज रुपमा श्राद्ध गर्ने ठाउँ तयार गरेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए। यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथि छुटेकाहरूले पनि श्राद्ध तथा पूजाआजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरेको यसको पहिचान मर्न नदिन युवा पुस्ताले योगदान गर्नु पर्ने धारण स्थानीय गणेश श्रेष्ठले बताए।
श्राद्ध गर्न टाढा टाढा भक्तजनहरू आए पनि यहाँ पुरोहितहरूको अभावमा धेरैजसोले सामूहिक रुपमा एउटै स्थलमा बसेर समेत श्राद्ध गरी पिण्डदान गरेका छन्। श्रद्धा गर्न आएकाहरूको भिड ठुलो भएकाले बेत्रावती बजार क्षेत्र टनाटन भएर आवतजावतमा समेत अप्ठ्यारो परेको स्थानीय बताउँछन्।