: नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा तथा फागुन २१ गते हुने प्रतिनिधि सभा (प्रत्यक्ष र समानुपातिक) मा उम्मेदवारहरू सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा ८ जना, समानुपातिकमा ६ जना र राष्ट्रिय सभामा ३ जना सिफारिस गरेको हो। आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्ड विपरीत तोकिए भन्दा बढी उम्मेदवारहरू सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए। ‘सहमतिको अधिकांश प्रयत्न गरेका हौं, उनले भने, ‘आकांक्षी धेरै हुनुभएकाले थोरै मापदण्ड मिचिन पुग्यो।’
प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेवती प्रसाद भुसाल, प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल ‘मुस्कान’, पूर्व पार्टी सभापति कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका पूर्व अध्यक्ष तथा युवा नेता लेखनाथ पोखरेल, महाधिवेशन प्रतिनिधिहरू डाक्टर मुक्तीराम श्रेष्ठ, डाक्टर जय बहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापति बाबुराम पौडेल पनि प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएका छन्।
समानुपातिकमा पूर्व उपसभामुख पुष्पा भुसाल, निर्मला क्षेत्री, मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र विष्णु प्रसाद अर्याल समानुपातिकमा सिफारिस भएका छन्। यस्तै राष्ट्रिय सभामा पूर्व सांसद डा. राम बहादुर बिसी, पूर्व पार्टी सभापति तथा जिल्ला समन्वय समितिका पूर्व सभापति पिताम्बर शर्मा भुसाल र नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भएका छन्।