मुख्य समाचार
साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ फुटबल क्लब र भारतीय च्याम्पियन इस्ट बंगाल एफसीले फाइनलमा उपाधिका लागि भिड्दै
साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ फुटबल क्लब र भारतीय च्याम्पियन इस्ट बंगाल एफसीले फाइनलमा उपाधिका लागि भिड्दै

: नेपालमा जारी साफ महिला क्लब च्याम्पियनसिप २०२५ को फाइनलमा नेपालको प्रतिनिधित्व गरेको एपीएफ फुटबल क्लब र भारतीय च्याम्पियन इस्ट बंगाल एफसीले फाइनलमा उपाधिका लागि भिड्दैछन्। यी दुई टोलीले फाइनल भीडन्त शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।

भारतीय च्याम्पियन टोली विदेशी खेलाडी र भारतीय च्याम्पियनको साखसहित मैदानमा उत्रनेछ भने नेपाललाई घरेलु मैदान र घरेलु समर्थकको साथ रहनेछ। एएफसी महिला च्याम्पियन्स लिग खेलेको दबदबासहित इस्ट बंगालले नेपाली मैदानमा नेपाली च्याम्पियन एपीएफसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

दक्षिण एसियाली फुटबल महासंघ(साफ)ले दक्षिण एसियाको महिला फुटबल विकासका लागि ल्याएको नयाँ अवधारणाअन्तर्गत साफ महिला क्लब च्याम्पियनसिप भएको हो। साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जित्दै दुवै टिमले आफ्नो नाम स्वर्णिम अक्षरले साफको इतिहासमा लेख्न चाहन्छन्।


प्रतियोगितामा साफका ५ देशबाट पाँचवटा टोलीले भाग लिएका थिए। जसमा भारतबाट इस्ट बंगाल, नेपालबाट एपीएफ, बांगलादेशबाट नाश्रीन क्लब, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड र पाकिस्तानबाट कराँची सिटी एफसीले प्रतियोगितामा सहभागिता जनाएका थिए। बाँकी ३ क्लबलाई पछि पार्दै भारतीय क्लब र नेपाली क्लबको भेट फाइनलमा हुने भएको हो।

उपाधि जित्ने नेपाललाई अवसर
नेपालको प्रतिनिधित्व गरेको एपीएफ टिमले साफ च्याम्पियनसिपको उपाधि घरेलु समर्थक अगाडि जित्ने यो सुवर्ण अवसर छ। सन् २०२२ र २०२४ मा लगातार दुईपटक घरेलु समर्थकको अगाडि नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई सुम्पिएको थियो। (यो देशले प्रतिनीधित्व गरेको साफ च्याम्पियनसिप थियो। क्लब लेभलमा यो पहिलो संस्करण हो।) लगातार दुईपटक उपविजेता बनेको नेपाली टोलीको ९० प्रतिशत खेलाडी एपीएफ टोलीमा छन्। त्यसकारण पनि यो टोलीलाई राष्ट्रिय टिम सरहको टोलीको रूपमा हेरिन्छ। नेपाली घरेलु समर्थकको अगाडि लगातार दुईपटक साफ च्याम्पियनसिपको उपाधि गुमाएको नेपाली टोलीका लागि एपीएफले यो उपाधि जित्दै स्वर्ण पदकको प्यास मेटाउने अवसर हुनेछ। राष्ट्रिय टिमका खेलाडीले भरिपूर्ण रहेको एपीएफ टिम राष्ट्रिय पहिचानको लागि खेल्नेछ।

एपीएफ टोलीका प्रमुख प्रशिक्षक जिवेशकुमार पाण्डे भन्छन्, ‘यो प्रतियोगिताको उपाधि एपीएफको लागि मात्रै नभई देशको लागि नै महत्वपूर्ण छ। हामीले पछिल्लो ६/७ वर्षदेखि केही पनि उपाधि जित्न सकेका छैनौं। यो उपाधि क्लबको लागि मात्रै होइन पूरै राष्ट्रको लागि निकै महत्वपूर्ण छ।’

एपीएफले आफ्नो कमजोरी पक्षहरूलाई सुधार गरेर फाइनल खेल्ने प्रशिक्षक पाण्डेले बताए। ‘हामीसँग लिग चरणको अन्तिम खेलपछि दुई दिनको समय थियो। हामीले दुई दिनमा हाम्रो कमजोर देखिएका पक्षहरूमा काम गरेका छौं। त्यसलाई सुधार्दै हामी फाइनल खेल्न तयार छौं,’ उनले भने। घरेलु समर्थक एपीएफको लागि निकै महत्वपूर्ण पक्ष रहेको प्रशिक्षक पाण्डेको भनाइ छ। ‘हामीले फाइनल खेल जित्न एकताबद्ध भएर टिमको रूपमा खेल्नुपर्ने हुन्छ। यसमा हाम्रो घरेलु समर्थकहरू हाम्रो लागि महत्वपूर्ण पक्ष हुन्,' उनले भेन।

एसियन महिला क्लब च्याम्पियनसिप खेलिसकेको टिम इस्ट बंगालसँग उपाधीको लागि प्रतिस्पर्धा गर्नु एपीएफको अन्तिम चुनौती हो। प्रशिक्षक जिवेश पाण्डे भन्छन्, ‘मैले पहिला पनि भनेको छु, उहाँहरू एसियन महिला क्लब च्याम्पियनसिपको अन्तिम चरणको लागि छनोट भइसकेको टिम हो। जुन हामी हुन सकेका थिएनौं। मेरो पूर्ण टिम मसँग छैन। सावित्रा भण्डारी, प्रीति राई, सविता राना मगर, एन्जिला तुम्बापो सुब्बा टिममा छैनन्। तैपनि मसँग १२ जना राष्ट्रिय टिमका खेलाडीहरू छन्। त्यसैले उनीहरू आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछन् र हामी उपाधि जित्ने लक्ष्यमा रहनेछौं।’

एपीएफ टिमले क्लबको लागि मात्र नभएर राष्ट्रका लागि उपाधिको लागि प्रतिस्पर्धा गर्ने बताएका जिवेश पाण्डेले नेपाली समर्थकहरू मैदानमा आएर समर्थन गर्नेमा विश्वस्त देखिन्छन्। ‘हाम्रो लागि समर्थकहरू वास्तविक ऊर्जा हुन्। उहाँहरू फाइनलमा लगभग करिब १० हजारभन्दा माथिको संख्यामा समर्थकहरू आउने आशा राखेको छु,’ उनले भने।

एपीएफ क्लबलाई राष्ट्रिय टिमकी अनुभवी खेलाडी अनिता बस्नेतले नेतृत्व गरिरहेकी छन्। उनी एपीएफ क्लबका लागि भन्दा पनि राष्ट्रको लागि हालसम्म जित्न नसकेको स्वर्ण पदक जित्ने दाउँमा छिन्।‘हामीले एपीएफ क्लबको लागि भन्दा पनि पूरै देशको प्रतिनिधित्व गरेर खेलिरहेका छौं। त्यसकारण हालसम्म देशलाई दिन नसकेको स्वर्ण पदक दिने लक्ष्यमा हामी खेल्नेछौं।’ अनिताले प्रिम्याच प्रेस कन्फ्रेन्समा भनिन्।

साफ महिला क्लब च्याम्पियनसिप खेलाडीको हिसाबमा निकै राम्रो एक्सपोजरको रूपमा रहेको र यसले खेलाडीको विकासमा महत्वपूर्ण योगदान दिने उनले बताइन्। ‘खेलाडीको हिसाबमा यो निकै महत्वपूर्ण प्रतियोगिता हो। यो प्रतियोगिताले महिला लिगलाई र आगामी दिनहरूमा युवा खेलाडीहरूका लागि अन्य ठूला क्लबहरूले खेल हेरिरहेका कारण उनीहरूको लागि पनि ठूलो अवसर हो।’

उपाधि खोस्ने लक्ष्यमा इस्ट बंगाल
भारतीय च्याम्पियन टिम इस्ट बङ्गाल जारी प्रतियोगिता अवधिभर १० अंकसहित शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो। इस्ट बंगालले चार खेलमा ३ जित र एक बराबरीसहित १० अंक जोड्दै फाइनल खेल्न लागेको हो। फाइनलमा नेपालको घरेलु मैदान र घरेलु समर्थकको अगाडि एपीएफ क्लबबाट उपाधि खोस्ने लक्ष्यमा इस्ट बंगा रहनेछ। भारतीय टिम इस्ट बंगालका लागि प्रशिक्षकको रूपमा आएका एन्थोनी सामसन एन्ड्रीयुजले फाइनल अगाडिको प्रिम्याच प्रेस कन्फ्रेन्समा भने, ‘उनीहरूले घरेलु समर्थक र यो मैदानमा धेरैपटक साफ खेलेका छन्। तर उनीहरूको पक्षमा नतिजा आएको छैन। उनीहरू पहिला गरेका गल्तीहरू कम गर्दै खेल्ने प्रयासमा रहनेछन्। हामी पनि यहाँ किन आएका हौं हामीलाई थाहा छ। त्यसैले हामी भोलि हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं।’

उनले भने, ‘यो उपाधि हामी र हाम्रो समर्थकहरूका लागि निकै महत्वपूर्ण छ। नेपालमा नेपाली समर्थकहरूको अगाडि खेल्न निकै धैर्यता चाहिन्छ। तर, हामी निकै फोकस छौं। र, यो उपाधि हाम्रो लागि निकै महत्वपूर्ण छ।’ पहिलो पटक साफले आयोजना गरेको क्लब च्याम्पियनसिपको उपाधि जितेर इतिहासमा नाम लेखाउने चाहना इस्ट बंगालको रहेको प्रशिक्षक एन्थोनीले बताए। ‘यो इतिहासमा पहिलो पटक भएको हो। त्यसकारण हामी इतिहास रच्न र इतिहासमा नाम लेखाउन चाहन्छौं,’ उनले भने।

कप्तान फाजिला इक्वापुतले फाइनल खेलमा इस्ट बंगालको लागि कप्तानी गर्ने छिन्। उनले प्रिम्याच प्रेस कन्फ्रेन्समा आफ्नो टिम तयार रहेको बताइन्। ‘हामीले लिगको अन्तिम खेलमा पनि एपीएफसँग खेल्यौं। हामी त्यही किसिमको प्रतिस्पर्धा आशा गर्दछौं। हामी हाम्रो उत्कृष्ट दिएर खेल्नेछौं र हामी जित्नेछौं।’

लिग चरणको अन्तिम खेल फाइनल अघि तिमीलाई परीक्षण गर्ने राम्रो मौका रहेको को प्रशिक्षक एन्थोनीले बताए। ‘परीक्षा अगाडिको प्रि-परीक्षा जस्तो हाम्रो लागि लिग चरणको अन्तिम खेल थियो। जित्दा वा हार्दा पनि दुवै टिमले फाइनल खेल्ने पक्का थियो। फाइनल खेलमा उनीहरूले पनि दुई सय प्रतिशत दिएर खेल्नेछन् र हामीले पनि त्यही तरिकाले खेल्नेछौं।’

प्रशिक्षक एन्थोनीले नेपाली टिम एपीएफले डिफेन्समा निकै राम्रो गरेको र आफूहरूले पाएको अवसरलाई लिग चरणको अन्तिम खेलमा सदुपयोग गर्न नसकेको बताए। ‘एपीएफको डिफेन्स निकै राम्रो थियो तर हामीले केही अवसरहरू पाए पनि त्यसलाई कन्भर्ट गर्न सकेनौं। सोही चिजलाई हामी सुधारेर फाइनल खेल्नेछौं।’

फाइनल पुग्दासम्म यी दुवै टोलीले हालसम्म कुनै पनि गोल बेहोरेका छैनन्। दुवै टिमले यही सकारात्मक पक्ष लिएर फाइनलमा खेल्नेछन्। भारतीय टिम इस्ट बंगालका लागि यो सन् २००४ पछि सबैभन्दा ठूलो प्रतियोगिता रहेको प्रशिक्षक एन्थोनीले बताए। ‘२००४ पछि हामीले कुनै पनि अन्तर्राष्ट्रिय उपाधिहरू जितेका छैनौं। त्यसका लागि पनि हामीले यो उपाधि जित्नुपर्ने हुन्छ यो उपाधि हामी र इस्ट बंगालको लागि निकै महत्त्वपूर्ण छ। घरेलु समर्थकहरूको लागि यो उपाधि दिने तयारीमा छौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित