मुख्य समाचार
कोशीमा २ पांग्रे दुर्घटना अत्यधिक, ट्राफिकले सुरु गर्‍यो २ मिनेट अभियान
कोशीमा २ पांग्रे दुर्घटना अत्यधिक, ट्राफिकले सुरु गर्‍यो २ मिनेट अभियान

: कोशी प्रदेशमा सडक दुर्घटनाको सबैभन्दा ठूलो जोखिम दुई पांग्रे सवारीसाधन रहेको तथ्यांकले देखाएको छ। समग्रमा ५६ प्रतिशतभन्दा बढी दुई पांग्रे सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन्। मंसिर महिनामा मात्रै प्रदेशभर ८ सय ६२ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ९ सय ७९ जना घाइते भएका छन्। यीमध्ये ४ सय ८१ वटा दुर्घटना मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्। जुन समग्र दुर्घटनाको ५६ प्रतिशत हो। दुई पांग्रे सवारी दुर्घटनामा मात्रै १९ जनाको मृत्यु र ६ सय ५ जना घाइते भएका छन्।


यो तथ्यांकले कोशी प्रदेशमा सडक दुर्घटनाको सबैभन्दा भयावह तस्बिर दुई पांग्रे सवारीसाधनले बोकेको देखाउँछ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुई पांग्रे सवारी दुर्घटनाको दर उच्च हुनुका साथै त्यसबाट हुने मानवीय क्षति पनि अत्यन्त गम्भीर छ। मंसिरमा बस र माइक्रोजस्ता सार्वजनिक सवारीसाधन ४४ वटा दुर्घटनामा परेका छन्, जसमा २ जनाको मृत्यु र ९५ जना घाइते भएका छन्।


सीटी सफारी र अटो टेम्पो १ सय ३ वटा दुर्घटनामा पर्दा १ जनाको मृत्यु र १ सय १२ जना घाइते भएका छन्। कार, जिपजस्ता निजी सवारी ६५ वटा दुर्घटनामा पर्दा २ जनाको मृत्यु र ५३ जना घाइते भएका छन्। ट्याक्टर ३६ वटा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन्। ट्रक, टिपर, डोजरजस्ता सवारीसाधन ४२ वटा दुर्घटना हुँदा १ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। अन्य सवारीसाधनका ९१ वटा दुर्घटनामा ८२ जना घाइते भएका छन्।




यी सबै तथ्यांकलाई हेर्दा दुर्घटनाको केन्द्रमा दुई पांग्रे सवारीसाधन नै रहेको निष्कर्ष ट्राफिक प्रहरीको छ। दुई पांग्रे सवारी दुर्घटनाको यही भयावह अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेश ट्राफिक प्रहरीले नयाँ शैलीको विशेष सचेतनामूलक अभियान सुरु गरेको छ। ‘२ पांग्रेका चालकसँग २ मिनेट’ नाम दिइएको अभियान प्रदेशका १४ वटै जिल्लामा एकैसाथ सञ्चालनमा ल्याइएको हो। अभियानको मुख्य उद्देश्य कारबाहीभन्दा पनि प्रत्यक्ष संवादमार्फत चालकको व्यवहारमा सुधार ल्याउनु रहेको छ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार अभियानअन्तर्गत सडकमा गुडिरहेका मोटरसाइकल र स्कुटरका चालकलाई रोक्दै ट्राफिक प्रहरीले करिब २ मिनेट समय लिएर ट्राफिक नियम, सडक अनुशासन र सुरक्षित यात्राका आधारभूत विषयमा प्रत्यक्ष जानकारी दिन्छ। ‘दुई पांग्रे सवारी दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न कारबाही मात्रै पर्याप्त हुँदैन,’ उनी भन्छन्, ‘चालक आफैं सचेत र जिम्मेवार हुनुपर्छ भन्ने सोचबाट यो अभियान सुरु गरिएको हो।’

अभियानलाई प्रभावकारी बनाउन कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी आफैं फिल्डमा खटिएर चालकसँग संवाद गरिरहेका छन्। ट्राफिक नियमको पालना जीवन रक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले चालकलाई नियमको महत्व बुझाउन प्राथमिकता दिएको बताउँछन्। गिरीका अनुसार जाडो मौसम सुरु भएसँगै हुस्सु लाग्ने, चिसो बढ्ने र दृश्यता कमजोर हुने अवस्थाले दुर्घटनाको जोखिम अझै बढाएको छ। यही कारण सडकमै रोकेर चालकलाई प्रत्यक्ष सचेत गराउनु आवश्यक देखिएको हो।

अभियानका क्रममा हेल्मेट अनिवार्य रूपमा लगाउनुपर्ने र फिता राम्रोसँग बाँध्नुपर्ने, तीव्र गतिमा सवारी नचलाउनुपर्ने, लेन अनुशासन पालना गर्नुपर्ने, जथाभावी ओभरटेक नगर्नुपर्ने, पार्किङ निषेधित स्थानमा सवारी नराख्नुपर्ने, सवारीसाधनको यान्त्रिक अवस्था नियमित जाँच गर्नुपर्ने, मोबाइल फोन प्रयोग नगरी सवारी चलाउनुपर्ने, मापसे र लापसे गरेर सवारी नचलाउनुपर्ने जस्ता विषयमा चालकलाई सम्झाइन्छ। यी सबै कुरा आधारभूत भए पनि अधिकांश दुर्घटनाको जड यही लापरबाही भएको ट्राफिक प्रहरीको ठम्याइ छ।

नियम उल्लंघन देखिए प्रचलित कानुनअनुसार कारबाही गरिने सन्देश पनि चालकलाई ट्राफिकले दिने गरेको छ। तर, दुर्घटना न्यूनीकरण कारबाहीबाट सम्भव नभएकाले चालक, सहचालक, पैदलयात्री र सम्पूर्ण सडक प्रयोगकर्ता सचेत र जिम्मेवार हुनुपर्नेमा ट्राफिकको जोड छ।

ट्राफिक प्रहरीले सूचना, शिक्षा र प्रविधिको संयोजनमार्फत सडक सुरक्षा प्रवद्र्धन गर्ने नीति लिएको छ। तीव्र गतिमा चलाइएका सवारीसाधनको निगरानीका लागि राडरगन, मापसे चेकजाँचका लागि ब्रेथलाइजर र लापसे परीक्षणका लागि विशेष किट प्रयोग गरिँदै आएको छ। यद्यपि, प्रविधि र कारबाहीले मात्र दुर्घटना रोक्न नसकिने र चालकको व्यवहारमा सुधार नआएसम्म उल्लेख्य कमी आउन कठिन हुने देखिएपछि नयाँ अभियान सुरु गरिएको प्रदेश ट्राफिक प्रमुख एसपी गिरी बताउँछन्।

उनका अनुसार ट्राफिक प्रहरी दिनरात सडकमा खटिएर नियम पालना गराउने प्रयासमा छ। ‘१ सेकेण्डको लापरबाहीले पनि ज्यान जान सक्छ,’ उनी भन्छन्, ‘ट्राफिक नियम उल्लंघन मृत्युको कारण बन्न सक्छ भन्ने यथार्थ सबैले बुझ्न जरुरी छ।’ उनका अनुसार सडक सुरक्षालाई संस्कारका रूपमा विकास नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव हुँदैन।

यही यथार्थलाई आधार मानेर ट्राफिक प्रहरीले ‘२ पांग्रेका चालकसँग २ मिनेट’ अभियानलाई तीव्र बनाएको हो। सडकमै दुई मिनेट रोकिएर चालकलाई नियमको महत्व बुझाउने, सुरक्षित यात्राका लागि प्रेरित गर्ने र नियम उल्लंघन नगर्न सचेत गराउने यो अभ्यासलाई दुर्घटना न्यूनीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

डीएसपी श्रेष्ठका अनुसार नियम उल्लंघन रोज्नु जोखिम र नियम पालना जीवन रक्षाको बाटो हो। ‘दुई पांग्रे सवारीसाधनको दुर्घटना सबैभन्दा बढी भएकाले यसैमा केन्द्रित भएर सचेतनामूलक अभियान चलाइएको छ,’ उनी भन्छन्, ‘समग्रमा विभिन्न हिसाबले जनचेतनामूलक कार्यक्रमहरु पनि भइरहेका छन्।’ चालक स्वयं नियम पालना गर्न तयार भए मात्र अनमोल जीवन जोगाउन सकिने श्रेष्ठको भनाइ छ। दुई पांग्रे लक्षित अभियानले कोशी प्रदेशमा दुर्घटना र त्यसबाट हुने क्षतिमा क्रमशः कमी आउने अपेक्षा ट्राफिक प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोल्दै उनले यस्तो बताएका हुन्। सभापति लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप सुरु भएको सुनेको भन्दै यस्तो नगर्न चेतावनी दिए। उनले धेरै आँखा नचम्काउन पनि आग्रह गरे। ʻम सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि मानिसहरू दौडधुप गर्न ...
: नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा प्रत्यक्ष,समानुपातिक र राष्ट्रिय सभाका गरी कूल ४३० जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीका क्षेत्रीय समिति हुँदै जिल्लाबाट पठाइएका नाममध्ये प्रदेश समितिले नवलपरासी र रुपन्देहीबाट पठाइएकामध्ये केहीको नाम थपघट गरेर केन्द्रमा सिफारिस गरेको हो । अन्य जिल्लाको यथावत छ । त्यसरी जिल्लाबाट आएका नाममध्ये १३९ जना ...
: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको हात नरहेको जिकिर गरेका छन्। आइतबार विराटनगरमा आयोजना गरिएको कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासँग संवादमा बोल्दै उनले भदौ २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताएका हुन्। भदौ २४ गते गरिएको ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चालू आर्थिक वर्षमा संघीय संसदमा पेस गर्नका लागि १ सय २१ वटा विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा मन्त्री सिन्हाले यसअघि नै तय भएका विधेयकहरूमध्ये १ सय २१ वटा विधेयकहरूको प्राथमिकता ...
: वीरगन्जबाट प्रहरीले फेरि ठूलो परिमाणमा लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। एक हप्ताअघि मात्रै वीरगन्जबाटै १७६ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले शनिबार राति भने २ सय ४० केजी चरेससहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो। वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुरबाट शनिबार राति प्रहरीले एउटा ट्रकबाट २ सय ४० केजी चरेस बरामद गरेको पर्साका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम