: सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय नमान्ने भन्दै पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले चुनौती दिएका छन्। गत मंगलबार संघ सरकारको सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको थियो। त्यस क्रममा कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरिको जिराभवानी गाउँपालिकामा र जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको कालिकामाई गाउँपालिकामा सरुवा गरेको थियो।
तर जिराभवानी गाउँपालिकाका अध्यक्ष चौधरीले भने गिरिलाई पालिकामा हाजिर गर्न नदिने भन्दै सरकारलाई ठाडै चुनौती दिएका हुन्। आफूले चाहेको कर्मचारीको सट्टा गिरिलाई सरकारले सरुवा गरेर पठाएको झोकमा अध्यक्ष चौधरीले गिरिलाई आफ्नो पालिकामा सरकारले सरुवा गर्ने निर्णय नमान्ने घुर्की समेत देखाएका छन्।
गाउँपालिका अध्यक्ष चौधरीले आफ्नो असन्तुष्टि सम्बन्धित मन्त्रालयमा पुगेर विधिसम्मत राख्नुको साटो पुस ३ गते एक प्रेस विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेर आक्रोश पोखेका छन्। चौधरीले गिरिलाई जिराभवानी गाउँपालिकामा पठाउने सरकारको निर्णय रद्द गरेर उनको ठाउँमा आफ्नो सहमति लिएर मात्रै अरु अधिकृतलाई पठाउन सरकारलाई आदेशात्मक आग्रहसमेत फेसबुकबाटै गरेका छन्। अन्यथा आउने परिस्थितिको जिम्मेवार स्वयंम मन्त्रालय नै हुने ठाडो चेतावनीसमेत उनले सरकारलाई दिएका छन्।
तर जिराभवानी गाउँपालिकाका उपाध्यक्षसहित पाँचवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिहरू भने सरकारले गाउँपालिकामा गिरिलाई सरुवा गरेर पठाएकोमा खुशी छन्।
गत मंसिर १५ गते जिराभवानी गाउँपालिकामा गाउँकार्यपालिका बैठक बसेको थियो। गाउँपालिका अध्यक्ष चौधरीले १ वर्ष यता बैठक नै नबोलाएपछि उनी बाहेक बसेको बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनप्रतिनिधिहरुलाई नटेरेको र कार्यालयमा लामो समयदेखि नआएकाले कामकाज प्रभावित भएको भन्दै कुशवाहाको अन्तै सरुवा गरेर आग्रह गरिएको थियो।
बैठकले अमित गिरि सरुवा भइ आउन इच्छुक रहेकाले उनलाई नै जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेर पठाइदिन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको थियो।
निर्णयअनुसार मन्त्रालयले गत मंगलबार राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरेर अमित गिरिलाई जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको एक कार्यपालिका सदस्यले बताए। अध्यक्ष बाहेकका अरू सबै जनप्रतिनिधिको सहमति भई जिराभवानी गाउँपालिकामा गिरिको सरुवा भएको ती कार्यपालिका सदस्यले बताए। यसअघि डेढ वर्षपहिले जिराभवानी गाउँपालिकामै गिरि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। उनी त्यसबेला कार्यरत रहेको अवधिभर गाउँपालिका अध्यक्ष चौधरीले अनुचित आर्थिक लाभका कामहरू गराउन खोज्दा गिरिले गर्न नमानेको र त्यही कारण अहिलेसम्म पनि चौधरीले गिरिलाई नरुचाएको ती गाउँकार्यपालिकाका सदस्यले बताए।
ती सदस्यले भने, ‘गिरि सरुवा भएर अन्त गएपछि करिब डेढ वर्षसम्म अध्यक्ष चौधरीले हाकिम राज कुशवाहालाई आफ्नो इशारामा नचाएर गर्न मिल्ने नमिल्ने जति सबै कामहरू गराए। दुवै जनाले मिलजुली चाहेसम्म गर्नु गरे। अहिले सरकारले कुशवाहाको अन्त सरुवा गरेर गिरिलाई फेरि हाम्रो पालिकामा पठाएपछि अध्यक्ष चौधरीलाई झोक चलेको छ।’