: नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा प्रत्यक्ष,समानुपातिक र राष्ट्रिय सभाका गरी कूल ४३० जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । पार्टीका क्षेत्रीय समिति हुँदै जिल्लाबाट पठाइएका नाममध्ये प्रदेश समितिले नवलपरासी र रुपन्देहीबाट पठाइएकामध्ये केहीको नाम थपघट गरेर केन्द्रमा सिफारिस गरेको हो ।
अन्य जिल्लाको यथावत छ । त्यसरी जिल्लाबाट आएका नाममध्ये १३९ जना प्रत्यक्ष, १८७ जना समानुपातिक र १०४ जना राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको प्रदेश समितिका अध्यक्ष अमरसिंह पुनले जानकारी दिए । केन्द्रमा पठाइएका नाममा गुल्मीको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष र समानुपातिकको नाम नआएकाले राष्ट्रिय सभाका उम्मेदवारको नाम मात्र पठाइएको पुनले बताए । केन्द्रको परिपत्रअनुसार क्षेत्रीय समितिले संकलन गरेका नाम जिल्लामा पठाउने र जिल्लाले प्राप्त नाम उपर राय लेखेर प्रदेशमा पठाउन भनिएको छ । त्यसैगरी परिपत्रको १ नम्बर बुँदाको (१.५) मा त्यसरी जिल्लाबाट आएका नाममा प्रदेशले रायसहित केन्द्रमा पठाउन भनिएको छ । तर प्रदेशले दुई जिल्लाबाट आएका नाममा थप घट गरेर पठाएको हो । केन्द्रीय समितिको परिपत्रअनुसार प्रदेशका सबैजसो जिल्लाले मापदण्डविपरीत उम्मेदवारको नाम सिफारिस गरेर पठाएका छन् ।
रुपन्देही र नवलपरासीमा थपघट
नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरिएका संविधान सभा सदस्य विक्रम खनालको नाम प्रदेश समितिले काटेर पठाएको छ । अन्य सबैको नाम यथावत पठाइएको प्रदेश समितिले जनाएको छ । केन्द्रबाट कारबाहीमा परेका खनालको नाम सिफारिस भएकाले हटाएर पठाएको प्रदेश अध्यक्ष पुनले बताए । प्रदेश महामन्त्रीसमेत रहेका खनाललाई गत निर्वाचनमा उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै पार्टीको अनुशासन समितिले कारबाही गरेको छ। ‘पार्टीको तल्लो तहले विधि,विधान हेरेर पठाउनुपर्छ,अमर्यादित तरिकाले पठाउन मिल्छ ? कारबाही पछि पार्टीको साधारण सदस्यसमेत नरहेकाले खनालको नाम हटाएर पठाइएको हो,'पुनले भने ।
जिल्ला क्षेत्र नम्बर २ का सभापति मुकुल आचार्यको अध्यक्षतामा बसेको क्षेत्रीय समितिले विघटित प्रतिनिधि सभा सदस्य विनोद चौधरी र विक्रम खनालसहित चार जनाको नाम जिल्लामा सिफारिस गरेर पठाएको थियो । विनोद चौधरीको नाम पठाएपछि फेरि खनाल पक्षको बहुमत क्षेत्रीय समितिको बैठक बसेर चौधरीको नाम हटाएर खनालसहित तीनजनाको नाम पठाएको थियो । अहिले प्रदेश समितिले खनालको नाम हटाएर चौधरीसहित प्रत्यक्षतर्फ सिफारिस गरेका सबैको नाम केन्द्रमा सिफारिस गरेको पुनले बताए ।
त्यसैगरी रुपन्देही क्षेत्र नम्बर ४ को कार्यसमितिले नीतिगत निर्णय नगरेकाले प्रत्यक्ष र समानुपातिकतर्फ केहीको नाम सिफारिस गरेर पठाएको प्रदेश अध्यक्ष पुनले जानकारी दिए । लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।