: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले षड्यन्त्रको आँखा बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बोल्दै उनले यस्तो बताएका हुन्।
सभापति लामिछानेले संसद् पुनर्स्थापनाका लागि दौडधुप सुरु भएको सुनेको भन्दै यस्तो नगर्न चेतावनी दिए। उनले धेरै आँखा नचम्काउन पनि आग्रह गरे।
ʻम सुनिरहेको छु, संसद् पुनर्स्थापनाका लागि मानिसहरू दौडधुप गर्न थाले। कुन संसद् पुनर्स्थापनाको कुरा गर्नु भएको तपाईँलेʼ, उनले भने, ʻदुई तिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउन फेरि संसद् ब्युँझाउन खोज्नुभएको हो। जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोज्नुभएको हो। भ्रष्टाचारका काण्डमा छानबिन गर भन्दा छानबिन होइन सङ्ख्याको भरमा सामसुम पार्न यो संसद् ब्युँझाउन खोज्नुभएको हो।ʼ
यस्तै सभापति लामिछानेले सिंहदरबार बनाउनु मात्रै नभएर सिंहदरबार रहेको बताए। उनले भने, ʻभत्किएका संरचना बनाउने मात्रै होइन बदल्ने पनि छ। जेनजीले गरेको योगदानलाई पूरा गर्नका लागि लाग्नुपर्नेछ।ʼ
सभापति लामिछानेले सरकारले तोकिएको मितिमै प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताए।