— राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं ४ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि ८ जनालाई सिफारिस गरेको छ ।
यो निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि राप्रपाको काठमाडौं ४ को क्षेत्रीय कार्यसमिति 'क' र 'ख' को संयुक्त बैठक बसेर ८ जनालाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।
यो निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका लागि उम्मेदवारका लागि राप्रपाले भुवनकुमार पाठक, अनिता विमली, ठाकुरमोहन श्रेष्ठ, भीमसेन मैनाली, चम्पा अधिकारी, पुण्यलाल श्रेष्ठ, विशाल गुरुङ र दीपकप्रसाद चौलागाईंलाई सिफारिस गरेको हो ।
पाठक वाग्मती प्रदेश सभा सदस्य हुन् । उनी यसअघि बाग्मती प्रदेश सभाको सभामुख थिए । विमली राप्रपा युवक संगठनको केन्द्रीय कोषाध्यक्ष हुन् ।
काठमाडौं ४ मा राप्रपाभित्र यसअघि विवाद भएको थियो । काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप जबराले पार्टी समितिमा सरसल्लाह नगरी उम्मेदवार चयन गरिएको भन्दै विवाद भएको हो ।